महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, मंसीर २५
जैविक विविधताको वर्षमा कोदोलगाएर फसल भित्र्र्याउने वेला कोदो बाली सुकेर सखाप भएपछि पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी २ थापाथानका कृषक चिन्तामा परेका छन्  । कोदो पाकेर काट्ने भएको बेलामा गाउँघरमा ‘राते’ भन्ने गरिएको रोगले कोदो बाली नै सुकेर सखाप भएपछि किसान चिन्तीत बनेका हुन  । शंकरपोखरीका कृषक राम रिजालले विगतमा उत्पादन हुने गरेको कोदोको तुलनामा यो वर्ष करिब ७० प्रतिशत घटेको बताए  । आफूले अघिल्लो वर्ष सात मुरी कोदो उत्पादन गरेकोमा यो वर्ष एक मुरी जति मात्रै उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ ।
धानको तुलनामा कोदो खेती गर्न कठिन हुने भएकाले यसको लगानी पनि धेरै पर्ने किसानहरु बताउँछन्  । धान जस्तै एकै दिनमा धेरै परिमाणमा रोप्न नसकिने भएकाले बारीको एउटै पाटामा रोप्नका लागि पनि धेरै जना खेताला लाग्ने, बीउ उत्पादन गर्ने, तयारी गर्ने, रोपाइँ गर्ने, गोड्ने, थन्क्याउने गर्दा एक पाथी कोदोको मूल्य करिब पाँच सय रुपैयाँ जति पर्न आउने कृषकहरुको भनाइ छ  ।
साउनको अन्तिम र भदौको सुरुवाती दिनमा कोदो गोड्ने बेलामा राम्रै रहेको भए पनि त्यसपछि भने बिस्तारै रोगले च्याप्दै लगेको अर्का कृषक श्यामबहादुर थापाले बताए  । सधैँ राम्रो हुने गरेको बारीमा यस पटक कोदो काट्न जानै नपर्ने गरी सुकेर गएकाले मानिसको भन्दा पनि चौपायाको चिन्तन धेरै भएको उनको भनाइ छ  । कोदोलाई मुख्य खाद्यान्नको रूपमा नखाने भएकाले मानिसलाई समस्या नहुने भए पनि कोदो चौपायाको मुख्य खाद्यान्न भएकोले यस वर्ष बस्तुभाउ पाल्न समस्या हुने थापाले बताए  ।
‘यो माथिल्लो क्षेत्र लेक नै हो  । यता धान हुँदैन  । कोदो राम्रो हुने भएकाले बरु कोदो बिक्री गरेर चामल ल्याउने गरिन्छ  । फेरि गाईबस्तुलाई खुवाउने आहार नै कोदो हो  । उत्पादन राम्रो हुने भएकाले चोकर भन्दा पनि कोदो नै बढी खुवाउने गरिन्छ’, उनले भने, ‘कहिले असिनाले खाने, कहिले रोगले खाने, कहिले बाँदरले खाने  । ऋण धन गरेर वर्ष दिनका लागि अन्न उत्पादन गर्न मिहिनेत गर्दा पनि हातमा लाग्यो शून्य भएको स्थानीय खडक थापाले गुनासो गरे ।
’शंकरपोखरीमा मात्रै नभई थापाथान मेहल पोखरी आसपासमा समेत कोदोमा राते लागेर किसानले वारीमा नकाटीकन छाडीदिएका छन  । पहिलाका वर्षमा अलि अलि राते देखा पर्ने गरेको भएपनि यसपालि बारीको पाटा भरी नै कोदो मरेको वडा अध्यक्ष गंगा नागरायण श्रेष्ठले बताए  । उनले किसालाई जे गरेपनि सुख नभएको बताउँदै धान असीनाले खायो अहीले कोदोमा राते लायो , नगरमा कुरा गरिएको छ वीउ र वालीमा सहयोग गर्न सकिन्छ की तयारी हुँदैछ श्रेष्ठले भने ।
कोदोमा देखिएको यो समस्याको बारेमा कुरा गर्दा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले अहिल्यै कुन रोग हो भन्ने यकिनका साथ भन्न नसकिने बताए  । कोदोमा देखिएको समस्याको बारेमा आफ्नो कार्यालयमा जानकारी नआएको भन्दै उनले समस्या देखिएको भएमा प्राविधिक पठाएर समाधानको पहल गर्ने बताए  । २८ हजार हेक्टर खेती योग्य जमीन रहेको पर्वतमा ८ हजरा ५ सय ५० हेक्टर क्षेत्रफलमा कोदी खेती हुँदै आएएको छ ।
 
			 
                                 
					
