आरसी टाइम्स व्युरो
गोरखा, माघ ५
पहाडी भेगमा अकबरे खुर्सानी खेती गरेर १ रोपनी जमिनबाट वार्षिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म खुद आम्दानी गर्न सकिने गण्डकी गाउँपालिकाका कृषक धानबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अकबरे खुर्सानीको बजार माग स्थिर र सुनिश्चित रहेको छ भने अन्य बालीजस्तै बाँदरबाट हुने क्षति नगण्य हुने भएकाले यो बाली कृषकका लागि थप आकर्षक बन्दै गएको छ ।
याङ्गदीका किसान धनबहादुर थापाले सात रोपनीमा गरेको अकबरे खुर्सानी खेतिबाट बार्षिक ८ टन उत्पादन भएको जनाएका छन् । मौसमी बजारमा प्रति किलो ३५० रुपैया देखि कमजोर बजारका बेला पनि १०० रुपैया प्रतिकेजी सम्ममा व्यापार हुने गरेको थापाले जनाए ।
उत्पादन, संकलन र बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने हो भने पहाडी कृषकको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने थापाले जनाए । उनका अनुसार हाल उत्पादन व्यक्तिगत प्रयासमा सीमित रहेकाले अकबरे खुर्सानीको मूल्य श्रृंखला अध्ययन गरी उत्पादनदेखि बजारसम्मको संरचना स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएको छ ।
गोरखाका विभिन्न क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ । विशेष गरी बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका तथा गोरखा नगरपालिका अन्तर्गत लक्ष्मीबजार क्षेत्रमा अकबरे खुर्सानीलाई नगदे बालीका रूपमा खेती गरिँदै आएको छ । यी क्षेत्रहरूमा स्थानीय कृषकहरूले समूह र व्यक्तिगत दुवै स्तरमा उत्पादन गर्दै स्थानीय तथा क्षेत्रीय बजारमा आपूर्ति गरिरहेका छन् ।
कृषि विज्ञहरूका अनुसार अकबरे खुर्सानीको विशेष स्वाद, तीखोपन र औषधीय गुणका कारण होटल, रेष्टुरेन्ट तथा प्रशोधन उद्योगमा समेत यसको माग बढ्दो छ । यद्यपि उत्पादन लागत, बीउको गुणस्तर, रोग व्यवस्थापन, संकलन, प्रशोधन र बजार पहुँचजस्ता पक्षलाई समेटेर समग्र मूल्य श्रृंखला अध्ययन गर्न सके यस बालीलाई अझ व्यवस्थित र लाभदायक बनाउन सकिने कृषि विकास कार्यलय प्रमुख कुलप्रसाद तिवारीले जनाएका छन् ।
यस सन्दर्भमा अकबरे खुर्सानी खेतीमा संलग्न कृषक, प्राविधिक तथा सरोकारवालाहरूले आफ्ना अनुभव, चुनौती र सुझाव साझा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साझा सिकाइ र नीतिगत सहयोगका माध्यमबाट अकबरे खुर्सानीलाई पहाडी क्षेत्रको दिगो नगदे बालीका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।
