कुलराज चालिसे
मन्थराको मन्त्रणा र कैकेयीको दवावमा श्रीरामलाई वनवास भएको कथाले रामायणलाई केन्द्रिय उद्देश्य तर्फ मोडेको थियो । अरण्यकाण्ड पछि रामायणले सुन्दरकाण्डको उचाई छोएको थियो । त्यसवखत सीतामाताले श्रीरामलाई सहयोग गर्न स्वेच्छाले वनवासलाई रोज्नु भएको थियो । अझै भनौभने त्रिलोकीनाथले रावणलाई युद्धको निमित्त निमन्त्रणा दिन सीतामातालाई लोभ्याउने माध्यम बनाउनु भएको थियो । दशानन् रावणलाई धर्मयुद्धको निमित्त ललकारने काम यहीं भएको थियो । पञ्चवटीमा अग्निदेवको सहयोगमा छायाँसीता र मायासीताको साटफेर प्रकरणलाई धेरैले चर्चा गरेका छन् । त्यो दृष्यको भन्दा विश्वासको विषय हो । त्यसलाई सीतामाताको प्रथम वनवासकाल भनियो । यो लेखले प्रथम वनवास प्रकरणमा चर्चा गर्न चाहेको छैन । याहाँ दोस्रो वनवासको अन्तर्य खोज्ने प्रयास हुनेछ । लंका विजय पश्चात सीतामातालाई विना कुनै अपराध छ महिनाको गर्भावस्तामा एक्लै वाल्मिकीवनमा निर्वासन गराउनुको लिलाकथाले लंकायुद्धको भन्दा गहिरो सन्देश दिएको हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौ । त्यसको कारण के थियो भनेर केलाउने काम कम भएकोले यो लेखमा सीतामाताको दोस्रो वनवास प्रकरणलाई चर्चा गर्ने प्रयास गरिएको छ ।
प्रथम वनवास प्रकरणमा सीता गर्भवती थिइनन्, तैपनि राम र लक्ष्मणको सुरक्षामा थिइन् । दोस्रो वनवास अवधि ज्यादै सम्वेदनशिल थियो । एक त उनि छ महिनाको गर्भवती थिइन्, त्यसमाथी सुरक्षाको निमित्त कुनै मर्द साथमा थिएनन् । सीतालाई दोस्रोे वनवासको सजाय किन दिइएको थियो भनेर वनमा लगेर छाडने लक्ष्मण स्वयंलाई पनि थाहा थिएन । त्यस सन्दर्भमा सीतालाई त कुनै संकेत गरिएको पनि थिएन ।
रामायणका हरेक पात्रहरूले अवतार ग्रहण गर्न श्रापको वहाना लिएका छन् । सीतामाताको दोस्रो वनवासको कारणमा सुगाले दिएको श्राप भन्ने कथा पद्मपुराणमा लेखिएको छ । रामायण लेख्ने काम श्रीसीतारामको जन्म अगाडी देखिनै सुरु भएको तर्क वाल्मिकी, सवरी, मतङ्गको चरित्रकथाबाट स्पष्ट हुन्छ । आदिरामायण काकभुसुण्डीले श्रीमहादेव र पार्वतीको सम्वादको दौरान नै सुनेर पंछिजगतलाई सुनाएका थिए । त्यस्तो कथा सुन्ने पात्रमा सुगाका जोडी पनि थिए, जस्को मुखबाट सीतामाताले बाल्यकालमा नै रामायण कथा सुनेकी थिइन् । रामायण कथा बारम्बार सुन्ने लोभमा सीताले गर्भिणी अवस्थाकी सुगालाई समातेर थुने पछि भाले सुगाले सीतालाई गर्भिणी अवस्थामा पति वियोगको श्राप दिएको थियो । त्यै सुगाले अयोध्यामा धोवीको घरमा जन्म लिएर सीतामातालाई दोस्रो वनवासको वातावरण सृजना गरेको थियो । रामायणले राम र सीतालाई अलग अलग मान्दैन । यसमानेमा सीतामाताको दोस्रो वनवासकाल पनि जनताको गुनासो भन्दा सीताराम अवतारको लिला अन्तरगत भएको थियो, जहाँ धोवीले मन्थरा र कैकेयीले जस्तै निमित्त कारणको भूमिका निर्वाह गरेको थियो । त्यस्तो लिलाको अन्तर्य बुभ्mन कुनै एक रामायणको भक्तिपूर्वक स्वाध्याय गरेर प्रयाप्त हुँदैन । त्यस्को निमित्त आध्यात्म रामायण, आनन्द रामायण, अद्भुत रामायणको साथमा वेदान्तहरूको विश्लेषणात्मक एवं तुलनात्मक अध्ययनको आवस्यक पर्छ । यि सव शास्त्रका र विश्वासका कुरा हुन् । एउटा लेखले त्यस्तो गहिरो तर्कको निरुपण गर्न सक्दैन । त्यसैले याहाँ अत्यन्त सतही पाराले सीतामाताको दोस्रो वनवासको कारण र प्रभावको चर्चा मात्र गरिन्छ । अध्यात्मको गहिराईमा यो लेखले प्रवेश गर्दैन ।
काव्यं रामायणं कृत्स्नं सीतायाश्चरितं महत् ।
पौलस्त्यवधमित्येव चकार चरितव्रतः ।। वा.रा.१ः४ः७ ।।
वाल्मिकी ऋषिले सीतायणको रचना गर्नुभएको थियो तर वाल्मिकी रामायणलाई अवधीभाषामा अनुवाद भएको तुलसीदाशको राम चरित मानस अध्ययन गरेर हामीले रामायणको रूपमा मात्र बुभ्mयौ । वाल्मिकीकृत रामायणको बालकाण्डमा उल्लेखित माथीको श्लोकले सीतायणको आधारस्तम्भलाई संकेत गर्छ । राम, लक्ष्मण, भरत, सत्रुध्न तथा हनुमान जस्ता रामायणका प्रमुख पुरुष पात्र दशरथपुत्री शान्ताको पति ऋषिशृङ्गले सम्पन्न गर्नुभएको यज्ञमा प्रकट अग्नि देवताले दिएको खिरबाट उत्पन्न भएका थिए भने सीता स्वयं यज्ञको अग्नि स्वरूपा थिइन् । मैथिलीमहोपनिषद्मा उल्लेख भए अनुसार सीतामाताले नै हनुमानलाई अष्टसिद्धि वरदान दिएर दैत्यसंहारको वातावरण बनाउनु भएको थियो । यो क्षमता उनमा अयोनिजा भएको कारणले सुरक्षित थियो । सीतोपनिषद् र मैत्र्युपनिषद् अनुसार उनि अन्नपूर्णादेवी थिइन् । त्यसैले कर्षणयोगी राजर्षि जनकको हलेष्टियज्ञमा अयोनिज रूपमा प्रकट भएकी थिइन् ।
उपनिषद्को यो सन्देशले राजर्षि जनकको मिथिलाभूमिमा उत्पादन हुने अन्नमा शुद्धता थियो अथवा त्याहा ऋषि कृषि पद्धत्तिको पालना गरेर शुद्ध अन्न उत्पादन हुन्थ्यो भन्ने संकेत गर्छ । सीतामाता अन्नको शुद्धतामा अत्यन्त सचेत हुनुहुन्थ्यो । त्यसैले गर्भमा रहेका बच्चाको पोषण व्यवस्थापनमा शुद्धता कायम राख्न हर तरहको प्रयास गर्नुहुन्थ्यो । अयोध्याको अन्नमा त्यो स्तरको शुद्धता थिएन । त्यसमाथी कर्षणयोगी संस्कृति नभएको देशकी महारानीले अन्न उत्पादन तथा पाकशाला व्यवस्थापनमा सहभागी हुन मिल्दैन्थ्यो । अयोध्यामा सीताजी राजधर्मको जञ्जिरले बाँधिनुहुन्थ्यो । त्यसैले वाहाँले महाराज रामसंग (भगवान रामसंग होइन) गर्भावस्ताका केहि समय योगीजनको सामिप्यतामा बिताउने माग गर्नु भएको थियो ।
आनन्द रामायणको यात्राकाण्डमा यो रहष्यको उद्घाटन भएको छ । महाराज रामले तीर्थयात्राको व्यवस्थापन समेत राजसी ठाटबाँटका साथ गर्दा सीतामातालाई चित्त बुझेन र धोवीको प्रकरण सामुन्य आयो । त्यस आधारमा यो प्रकरण भगवान रामले सीतामाताको परित्याग गर्नुभएको नभएर कुश र लवको शुद्धता व्यवस्थापनमा भएको लिला थियो भन्न सकिन्छ । अन्नको शुद्धताले जातकको शक्तिलाई कति प्रभाव पार्न सक्छ भन्ने उदाहरण लंका विजयी लडाकुहरूलाई अयोध्याको अन्नले क्षीण बनाएको हुँदा वाल्मिकी आश्रममा कुश र लवबाट हार खान परेको थियो । त्याहाँ कुश र लवको शक्ति बढेको भन्दा लंका विजयी सेनाको शक्ति घटेको भनेर बुभ्mनु पर्छ ।
अयोध्याको अन्नमा दोष थियो भनेर भरतले पनि लाक्षणिक संकेत गरेका थिए । राजमुकुटमा अन्नदोषको प्रभाव छिटो पर्ने भय शास्त्रमा नै उल्लेख छ । त्यसैले श्रीरामको वनवासकालमा भरतले गाईलाई जौको आहारा दिएर पचाउन नसकेको दानामा जीवन निर्वाह गरेका थिए ।
उनले अयोध्या दरवारमा गएर राजकाज चलाएनन् । विकल्पमा राजमुकुट नलगाईकन नन्दीग्राममा खराउलाई साक्षी राखेर राजकाज चलाएका थिए । राजमुकुट लगाएर युद्धभूमिमा गएको भए श्रीरामले रावणको कुल नाश गर्न सक्नु हुन्थेन । यस्को उदाहरण गर्भमा नै भगवानले रक्षा गर्नु भएको उत्तरापुत्र परिक्षितले और्वऋषि उपर सर्प अहंकार देखाएको दृष्टान्तलाई पनि लिन सकिन्छ । राजमुकुट कै कारणले गर्दा ईन्द्रले गर्भवती कयादुलाई हरण गरेका थिए । अन्नमा शुद्धता भएमा बच्चाले गर्भमा पनि शिक्षा लिन सक्छ र गर्भमा प्राप्त गरेको शिक्षा जीवन प्रयन्त अटल रहन्छ भन्ने उदाहरण दानव कुलशिरोमणी भक्तप्रह्लादले प्रमाणित गरेका थिए । त्यसैकारण सीतामाताले पनि कुश र लवको गुणस्तरीय अन्न सुरक्षाको निमित्त दोस्रो वनवास रोज्नु भएको हुनुपर्छ । अयोध्या दरवारमा कुश र लवले भजन गरेको सीता चरित्रमा उनिहरूले आप्mनो आवस्यकताको अन्नजोगाड आँफै गर्दथे र पाकशालाको व्यवस्थापन सीतामाता आँफैले गर्नुहुन्थ्यो भन्ने उल्लेख गरेका थिए । त्याँहा अन्नदोषको गुञ्जाइस थिएन । संक्षेपमा भन्ने हो भने सीतामाताको दोस्रो वनवास, श्रीरामले त्याग गर्नुभएकोले वा कुनै दैत्यको संहार गर्ने उद्देश्यमा भएको थिएन । त्यो त कुश र लवको गर्भावस्ता देखि युवावस्तासम्म शुद्ध अन्नले पोषण गर्ने उद्देश्यले प्रेरित थियो । एउटा असल राजाले कर असुली भन्दा धेरै कर्षणयोगी बन्ने प्रयास गनुपर्छ भन्ने शिक्षा वाल्मिकी ऋषिबाट छोराहरूलाई दिलाउनु थियो ।
अद्भुत रामायणमा उल्लेखित अहिरावण अथवा शतानन रावणको वध प्रकरणलाई विस्तारमा प्रदर्शन गर्ने लिला दोस्रो वनवास थियो । बाह्यजगतको दशानन् रावणलाई वलले समाप्त गर्न सकिन्छ तर आँफै भित्र बसेको शतानन रावणको नाश गर्न अन्नको शुद्धताको साथमा घनिभूत साधनाको आवस्यकता पर्छ भन्ने सन्देश सम्प्रेषण गर्नुथियो । सोह्रश्राद्धको दोस्रो लेखमा सीतामाताको दोस्रो वनवास प्रकरणलाई अन्न शुद्धताको आवस्यकतामा चर्चा गरीयो । गुणवान सन्तानको चाहना राख्नेले सीता चरित्रको यो मर्म बुझेर अन्नको शुद्धतालाई ध्यान दिने हो भने निर्वाहमुखी कृषि पून सम्मानित हुन सक्थ्यो । निर्वाहमुखि कृषिले कृषि उपजको आयात घटाउन सकियो भने व्यावशायिक कृषिले भन्दा प्रभावकारी नतिजा दिन सक्थ्यो । सीतामाताको यो लिलाकथाले मातृशक्तिलाई पनि कर्षण व्यवस्थापनमा मद्दत दिन सक्दथ्यो ।