आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३
कृषिपर्यटन र आध्यात्मको केन्द्र विन्दु बनेको पोखराको उत्तरी कालीलेक निकटको नौधारेमा स्थानीय युवाहरुले सामुहिक कफीखेतिको प्रयास थालेका छन् । २० बर्ष अघिसम्म धान खेती गरिने टारीखेत पछिल्लो समय जङ्गल बढ्दै गएर बाझो बन्दै गएकामा युवाहरुले उत्पादन मुलक क्रियाकलाप गर्ने तयारी स्वरुप कफी र अलैची खेतिका लागि जुटिरहेका छन् । नौधारे रिन्जे कफी कृषक समूहका रुपमा संगठित भएका युवाहरुले सामुहिक कफी खेतीका लागि ११०० मिटर उचाइमा रहेको लगभग ५० रोपनी जग्गामा गत बर्ष १७५० बिरुवा कफी लगाएर आफ्नो नमुना उद्यम सुरु गरेका थिए ।
कफी बिरुवाको वृद्धि बिकास राम्रो भएपनि सुख्खा ठाउँमा सिचाइ गर्नका लागि पोखरा महानगरपालिका कृषि महाशाखाबाट साना सिचाइ योजना समेत छनौट भएको छ । कालीलेकको घना लेकाली वनको चिसोपानी बगीरहेको र चिसो जमिनमा अलैंची अमृसो, अकबरे खुर्सानी लगाएर थप आम्दानी सकिने सम्भावना पनि देखिन्छ ।