पोखरा, फागुन २
पोखरा महानगरले यहाको उखु पकेट क्षेत्रका किसानलाई उखु उत्पादनमा टिकाइरहन लागत खर्चमा अनुदान दिने नीति अवलम्बन गर्ने जनाएको छ । पोखरा ३२ मालेपाटन र ढोडबेसी क्षेत्रमा परम्परादेखि नै हुँदै आएको उखु खेती तथा खुदो उत्पादन कामलाइ जोगाउन महनगरपालिकाले १ वार्ड १ पकेट कार्यक्रम अन्तर्गत उखु पकेट क्षेत्र घोषण गरेको थियो । सोही अनुसार यो बर्ष सन्चालन गर्ने कार्यक्रम र किसानको समस्याबारे अगुवा कृषक, सहकारी प्रतिनिधि, वार्ड अध्यक्ष, सदस्य, कृषि सेवा केन्द्र तथा महाशाखा प्रमुख सहितको उपस्थितिमा छलफल गर्दै उत्पादन लागत अनुदान दिने निधो गरेको जनाइएको छ ।
उखु खेतीमा बढेको लागत खर्च न्यूनीकरणको लागि प्रती रोपनी रु १५०० प्रोत्साहन सहयोग गर्ने, रोग किरा नियन्त्रणमा सहयोग गर्ने, खेती प्रबिधी बारे आइपिएम प्रबिधी सन्चालन गर्ने, ब्रान्डिङ प्याकेजिङमा महानगरले सहयोग गर्ने जनाइएको छ ।
अझै पनि बजारमा यहाको खुदो भन्दै सस्तो मुल्यमा अन्यत्रको खुदो सस्तो मूल्यमा बिक्रीवितरण गर्दा यहाको खुदो खपतमा समस्या परेकोले वार्डले विशेष पहल गर्नुपर्ने भन्दै सिचाइको समस्या व्यवस्थापनका लागि पनि किसानहरुले माग गरेका छन् ।