आरसी टाइम्स व्युरो
पोखरा, कार्तिक २४
तपाई—हामी बसिरहेको माटो र हामीले खाइरहेको अन्नपात तथा संगतमा लिइएका पशुधनको स्वास्थ्य कति सुरक्षित छ र आपसमा कति अन्तर सम्बन्धीत छ भनेर ख्याल राखेका छौं ? हामी मान्छेका कारण ती सबैको दिगो जिवन र पूर्ण स्वस्थ्यलाई विगार्ने अभ्यासले गर्दा हामी मान्छेले अन्तत हाम्रौ भविष्यलाई वर्वाद गर्दै गइरहेको अनुसन्धानहरुले देखाएका छन् । हामी मान्छेहरु जोगिनका लागि पनि हामीले माटो जोगाउनु पर्ने, बाली जोगाउनु पर्ने, र पशुधनको स्वास्थ्य जोगाउनु खाँचो छ । भनिन्छनी वशुधैव कुटुम्बकम, अर्थात विश्व परिवारका सबै आफन्त सुरक्षित रहेमात्र हामी मान्छे पनि सुरक्षित रहन सक्छौ । यसैले आजकल विकास र समृद्धिको कुरा गर्दा प्रकृतिका अरुलाईपनि जोगाएर मात्र आफ्नो सुरक्षाको चासो बैधानिक मानिन्छ । यस्तो पूर्ण स्वास्थ्य र एउटै विश्व परिवारका सबैको समग्र स्वास्थ्य धारणालाई ‘एक विश्व एउटै स्वस्थ्य’को मान्यतामा विश्वका स्वास्थ्य प्राविधिकहरु सहमत हुँदै साझा पहलका लागि अभियान नै चालाएका छन् ।
यस्तो साझा अभियान पौराणिक सनातन समाजमा यज्ञ उपासनामा पृथ्वी शान्ती, वायु शान्ती, वनस्पतेय शान्ती, मरुतो शान्ती, अणुमय व्यष्टि शान्ती , तेजोमय समष्टि शान्ती , पाताल शान्ती, ब्रम्हाण्ड शान्तीको मान्यतामा प्रकृतिको सन्तुलन र सुरक्षाका लागि साधना र उपासना गर्ने परम्परा थियो । पछिल्ला भौतिकबादी विशिष्टकृत ज्ञानको अभ्यासमा एकल स्वार्थ उच्च राख्ने अभ्यासले चराचर जगतमा असन्तुलन र व्याधिहरु बढन थालेपछि एकिकृत स्वास्थ्य समाधानबाट मात्रै मान्छेका स्वास्थ्य समस्याहरुको दिगो समाधान सहज हुने तर्फ वैज्ञानिकहरु सहमत हुन थालेपछि पश्चिमा स्वास्थ्य प्राविधकहरुले एक विश्व एक स्वास्थ्य नामक अभियान चलाएर विश्वव्यापी स्वास्थ्य रणनीतिका रुपमा अगाडी ल्याएका छन् ।
त्यहि रणनीति पालनाको एैक्यावद्धता दिवसका रुपमा अंगे्रजी महीना नोभेम्बरको पहिलो सातालाई विश्वव्यापी सहमति र सक्रियता दिवशका रुपमा मनाउने चलन छ । यो रणनीति अनुसार सरकारका दिगो स्वास्थ्यका सहयोगी अंगहरुको एकिकृत पहलका लागि चर्चा र सहकार्यका उपायहरुको समिक्षा हुँदै आएका छन् । यसैक्रममा नेपाल सरकारको संघिय पशुसेवा विभागको आयोजना लाई संघिय पशुरोग अन्वेषण प्रयोगशाला पोखराको समन्वयमा पोखरामा सरोकारवाला पशु स्वास्थ्यकर्मी, मानवस्वास्थ्य कर्मी, माटो स्वास्थ्य कर्मी, वाली स्वास्थ्यकर्मी, वन र वन्य जीव स्वास्थ्य अनुसन्धान कर्मीहरुको सहभागीतामा समिक्षा तथा सहकार्य प्रतिवद्धता समारोह गरिएको छ । गत बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरूले एक स्वास्थ्यका लागि एकीकृत पहल गर्न सहमति जनाएका छन् ।

कार्यक्रममा जनस्वास्थ्य, वन तथा वन्यजन्तु अनुसन्धान, प्रादेशिक रोग नियन्त्रण प्रयोगशाला र पशु रोग अन्वेषण प्रयोगशालाका विज्ञहरूले छलफलपत्रहरू प्रस्तुत गरेका थिए । छलफलमा एक स्वास्थ्य रणनीतिलाई संस्थागत बनाउँदै मानव, पशु र वातावरणबीचको स्वास्थ्य सम्बन्धलाई एकै ढाँचामा ल्याउन जोड दिइएको थियो ।
समारोहमा समिक्षाको दैलो उघार्दै चिकित्सक गणेश केसीले नेपालले सन् २०१९ मा एक स्वास्थ्य रणनीति तयार पारे पनि यसको कार्यान्वयन सुस्त गतिमा अझ कागजी अभिलेखमा मात्र भइरहेको बताए । उनका अनुसार, भेटेरीनरी क्षेत्रको अगुवाइमा अघि बढेको यो अभियानलाई अब प्रतिजैविक प्रतिरोध, जलवायु परिवर्तन र रोग नियन्त्रणसँग जोडेर ‘सुरक्षीत विश्वका लागि एकिकृत मुकाविला’ अघि बढाउन जरुरी देखिएको छ ।
त्यस्तै, पशुरोग प्रयोगशाला प्रमुख किरण पाण्डेले पश्चिमाञ्चल क्षेत्रका १७ जिल्लाबाट नमूना संकलन र परीक्षण गर्दै आएको र सात प्रकारका पशुवाट मान्छेमा सर्ने जुनोटिक रोगहरू पहिचान गरिएको बताए । ६० प्रतिशत रोगहरु पशुवाट मान्छेमा र मान्छेवाट पशुमा सर्ने गरेको पाइएकाले आपसी स्वास्थ्य संकट र संक्रमणले पारस्परिक संक्रामक जोखिम बढाउने समस्या देखिएको पाण्डेले बताए । उनले पशुहरुमा पनि बहु औषधि प्रतिरोध समस्या पनि देखा पर्न थालेको बताए ।
देशले अंगीकार गरेको रणनीति पालनामा वास्तविक सरोकारवालाहरुका बीचमा गहन छलफल पनि नभएको बताउदै पाण्डेले यसपालिको विस्तारित सहभागीताले नयाँ पाइला चाल्ने अपेक्षा राखेको बताए । उनका अनुसार दिगो स्वास्थ्यका लागि एकलै हिडेर होइन , रोग नियन्त्रण र रोकथामदेखि पहिचान, तयारी, प्रतिक्रिया र व्यवस्थापनसम्म सबै पक्षबीच सहकार्यको खाँचो छ ।
छलफलकै क्रममा एकजना मत्स्य विकास अधिकृतले माछामा हेभी मेटल फीड (धातुमिश्रित आहार) को समस्या देखिन थालेको उल्लेख गर्दै यसले मान्छेकै स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिए ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रकी दिपा बास्तोलाले कोरोना कालको प्रयोगशाला व्यवस्थापन र जटिलताकाबेला प्रविधि र ठाउँकै अभावमा कठिनाइ भोग्नु परेको स्मरण गर्दे अवको प्रादेशिक रोग नियन्त्रण प्रयोगशाला फराकिलो र एकिकृत पहल उन्मुख भएकाले केही गर्न सकिने सम्भावना र पाठ सिकाएको बताइन् ।
पौराणीककालमा आयुर्वेदमा चरक संहिता र सुश्रुत संहिताले स्वास्थ्य अनुशासनका बारेमा चनाखो गराएको भएपनि पछिल्ला दिनमा दैनिक मानवीय भोजन र कृषि तथा वातावरणीय अन्तरक्रियामा सुक्ष्म जैविक विविधता (वायोटा) संरक्षणमा वेवास्था हुन थालेकाले एकिकृत स्वास्थ्यका चुनौतिहरु देखिन थालेको बास्तोलाको तर्क छ । यद्यपी जलवायु क्षेत्रगतरुपमा जुनोटिक संक्रमणको अनुपातका बारेमा जलवायु र जनस्वास्थ्य जोडेर अनुसन्धान गर्न र पर्यटनका नाममा मानवले वनमा विस्तार गरेका संक्रमणका बारेमा ध्यान पुग्न सकेको छैन । यसका बारेमा प्रादेशिक आपत्कालिन सुचना तथा तथ्यांक साझेदारी गर्ने प्रणाली बसाल्न सकेमा रोग पहिचान, रोगको प्रवृत्ति पहिचान र एकिकृत नियन्त्रणका रणनीति बनाउन सजिलो पर्ने उनको राय छ । शहरका प्रयोगशालाहरुको वायोकेमिकल फोहर कसरिी व्यवस्थापन गरिएको छ भन्ने सबालमा कसैको चासो नपुगेको र शहरमा आउने स्वास्थ्य आपतकालको बेलैमा व्यवस्थापन गर्न नसकेमा यसले पार्ने एकिकृत असर अझ जटिल हुन सक्ने तर्फ पनि उनले ध्यानाकर्षण गराएकी छन् । यसका लागि अन्तर निकायगत सूचना आदानप्रदान र सार्वजनिक संचार प्रणाली जस्ता उपाय अपनाउन सकेमा रणनीतिको गुणात्मक लाभ विस्तारमा योगदान पुग्ने उनले संकेत गरेकी छन् ।
एकिकृत स्वास्थका लागि मानव र वन्य जन्तुका बीचमा श्रोतका लागि भएको हानथाप र द्धन्द्ध मात्र नभएर एकको आहाराको अन्तरनिर्भता अर्को पक्ष हुनाले उउटाको उपचारमा भएको असावधानीले अर्काको आहाराजन्य समस्याकाट स्वास्थ्य संकट देखापरेकोबारे वन अनुसन्धानकर्मी सुमन भट्टराईले चर्चा गरे । पशुरोग उपचारमा प्रयोग र्ने पेन किलर ‘डाइक्लोफेन’ले गीद्ध प्रजातीको स्वास्थ्यमा संकट ल्याएको र नेपालका सबै हात्तीहरुमा क्षयरोग देखिएको उनको दावी छ । भेटेरीनरीयनले नश्ल सुधारका नाममा कृतिम गर्भाधान र वर्णसंकर प्रणालीलाई जोड दिनाले पनि हरेक प्रजातीको जीन पुल(बंश रेखा) संक्रमण हुादै जानथालेको र प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको पनि भट्टराइले जोड दिए । ताल तथा खोलामा विष हालेर माछा मार्ने कारणले माछाको अस्तित्व त नाश हुने नै भयो, विषादी अवशेषको कारण उपभोक्ताको स्वास्थ्यमा पार्नसक्ने संकटका बारेमा खोइ चनाखो भएको ? उनले सन्तुलित मानव स्वास्थ्यका लागि ३ रुख, ३० प्रतिशत भेजीटेशन र ३०० मिटरमा एक वगैचाको पहुँच राख्नेगरि विकासे रणनीति बनाइनु पर्नेमा जोड दिए ।

विषयगत समिक्षाका क्रममा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख विश्वराज बरालले साझा रोग, साझा जोखिम र साझा जिम्मेवारी भएकाले साझा पहलका लागि सूचनाको साझोदारी आजैबाट सुरुगर्न एकीकृत संचार पहल सुरु गर्ने घोषणा गरे र सहभागीहरुको डिजीटल सूचना समूह नै बनाए ।
साझा रोग, साझा जोखिम र साझा जिम्मेवारीबहनका लागि सुचना र डाटाशक्तिको समुचित व्यवस्थापनमा सहकार्यले छिटो गति दिने भएकाले गण्डकी प्रादेशिक पहलका लागि एक स्वास्थ्य रणनीतिको आवधिक समिक्षा गरिने पनि उनले प्रतिवद्धता जनाएका छन् ।
समारोहमा खाद्य गुण नियन्त्रण केन्द्रकी अनिता पौडेल, कृषि प्रयोगशालाका मिलन आचार्य, पशु प्राविधिक प्रशिक्षण केन्द्रका गृश्म नेउपाने, वरिष्ठ पशुरोग चिकित्शक केदार पाण्डे, जनस्वास्थ्यकर्मी बुद्धिसागर अधिकारीले विषयगत टिप्पणी र सुझाव दिएका थिए ।
एक स्वास्थ्य रणनीतिका पालनाका लागि संयुक्त अनुसन्धान, रोग निगरानी र जोखिम व्यवस्थापनमा बहु–क्षेत्रीय समन्वय, निरन्तर सूचना आदान–प्रदान र सहकार्यका लागि ‘साझा रोग, साझा जिम्मेवारी’मा जुटने सरोकारवालाहरु राजी भएका छन् ।

