आरसी टाइम्स व्युरो
पोखरा,
पोखराको हेम्जा क्षेत्रमा हिउँदे तरकारीका रुपमा खेति गरिने काउली जातका तरकारी बालीको जरामा गाँठो परेको देखिने गाँठे रोग साग बालमिा पनि देखिन थालेको छ ।
माटो रहेको अम्लीय पना र रसायनिक तत्वको प्रतिकृया तथा अन्य रोग संक्रमणका कारण देखिएको गाँठे रोग निकै लामो समयदेखि विद्यमान रहेको र नियन्त्रण गर्न कठिन भइरहेको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडीयाले जनाएका छन् ।
विगतमा काउली वालीमा मात्र देखिएको गाँठे रोग हालै सागमा पनि देखिएको कडरीयाले जनाएका छन् । हालै स्थलगत अवलोकनाका क्रममा साग जातका ५ प्रकारका विभिन्न सागहरु मध्ये मार्फा चौडापातमा भने गाँठे रोग देखिएको छैन भने अन्य चार जातमा रोग लागेको पाइएको कडरीयाले जनाएका छन् । तरकारीको जरामा गाँठा पर्ने यो रोग काउली जातको तरकारीको लागि निक्कै हानिकारक मानिन्छ । यो रोग काउली, बन्दा, ब्रोकाउली, मला, ग्याँठकोबी, तोरी, चम्सुर र रायो बालिमा लाग्ने गरेको छ । एक पटक यो रोग लागेपछि नियन्त्रण गर्न प्राय असम्भवजस्तै हुन्छ । यो रोगको जीवाणु माटोमा २० औं बर्षसम्ममा जीवित रहने हुनाले नियन्त्रण गर्न कठिन हुने प्राविधिकहरु बताउँछन् ।
माटोमा अम्लीयपन बढ्यो भने गाँठे रोग फैलिन्छ त्यसैले बाली लगाउनु अघि नै एक पटक माटोको जाँच गराई रोग देखिए कृषि चुना छर्नू पर्ने पविधिकहरुले सुझाएका छन् । बिरुवा बढ्दै गएपछि माटोमुनिको काण्ड र जरामा मुलाजस्तो गाँठो पलाउने र पछि कालो भएर मर्ने समस्यालाई विज्ञहरूले क्लबरुट भन्ने गरेका छन् । यो रोग लागेपछि बोटबिरुवा होचो हुने, कमजोर हुने, पातहरु केही सुकेको, बीच बीचमा नुहेको, बोट र पातहरु पहेंलो जस्तो देखिने र उत्पादकत्वमा कमी आउने गर्दछ ।