रामचन्द्र बराल
पोखरा, कार्तिक २८
पोखरा र आसपासका ताजा तरकारी उपभोक्तालाई लक्षित गरेर मौसमी तरकारी उत्पादन तथा व्यापार गरेर माछापुच्छ्रेको लुम्रेका एक जोडि किसानले महिनामा लाख रुपैया कमाउँदै आएको बताएका छन् । परदेशको ठक्करबाट मेहनत गर्न सिकेका स्थानीय कृष्ण दाहाल र सुमित्रा दाहालले चार रोपनी जमिनमा १४ वटा टनेलघरमा एकिकृत कृषि प्रणाली अपनाएर नियमित ताजा तरकारी उत्पादन र व्यापार गर्दै नमुना किसानको रुपमा पहिचान आर्जन गरेका छन् ।
माछापुच्छ्रे गाउँ पालिका—८ को लुम्रे बजार नजिकै रहेको नतजे टारीमा बसोबास तथा कृषि उद्यम संचालन गर्दै आएका दाहाल जोडिले ५ वर्ष देखि तरकारी खेति गर्दै आएकोमा कोरोना कालबाट अझबढी लाभ लिन पाएको बताए । कोरोना कालमा गरिउको लकडाउनले आफुहरुलाई गुडलक भएको कृष्ण दाहालले जनाए ।
कोरोनाकालमा सरकारी निगरानीमा गरिएको बन्दाबन्दीमा भारतीय तरकारी र शहर बाहिरका तरकारी पोखरामा आउन नपाउको बेला आफ्नो तरकारी उत्पादनलाई मोटर साइकलमा ढुवानी गर्दै छिमेकी पोखरा शहरमा व्यापार गर्न थालेका दाहालले कृषिमा लागेको ऋण पनि चुक्ता गर्न भ्याए भने घर बनाउँदाको २५ लाख र खेत किन्दाको २० लाख ऋणपनि सुलाएको बताए । १४ वटा टनेल घरमा एकिकृत कृषि गरेका दाहाल परिवारले गोलभेडा, सिमी, रायो साग र धनीया उत्पादन गर्दै आएका छन् । पोखराको प्राङ्गारिक उन्मुख कृषि उपज कारोबार गर्ने ठाउँमा साप्ताहिक हाटबजारमा पनि उत्पादनलाई बजारिकरण गर्दै आएका दाहलले स्थानीय घरबास पर्यटनसञ्जलको टेलीफोन मार्फत पनि बजारिकरण तथा होम डेलीभरी गर्दै आएको बताए । दैनिक जसो ३० किलो गोलभेडा र १० किलो घ्यु सीमी प्रतिकिलो रु.१००मा नियमित बजारिकरण गर्दै आएका दाहालले रायो र धनीयाको कमाइ त बोनसका रुपमा आइरहेको बताए । दैनिक ३ जार पाँचसयको दरमा कमाउन सकियो भने महिनामा लाख पुर्याउन त के गाह्रो भो र भन्दै दाहालले बजारमा अति महंगो भएको बेला पनि आफुले १०० रुपैया भन्दा बढी मोल नलिएको र बजारमा ७० रुपैयामा पाइएको सुन्दा पनि आफ्नो कृषि उपजको मुल्य १०० रुपैया मोल गरेको दाहाल जोडिले बताए ।
मदीखोलाको सिरानमा चिसो हावापानीमा उत्पादित तरकारीमा पाइने स्वादको मिठासले नै ग्राहकले मुल्य दिने गरेको र त्यहि मुल्यको स्टाण्डर्ड जोगाउन रासायिनक पदार्थको प्रयोग नगरिकन प्राङ्गारिक झोलमल उपयोग गर्दे आएको सुमित्राले बताइन् ।
दाहाल जोडिको यो उत्साहलाई टेवा पुर्याउन कृषि ज्ञानकेन्द्र कास्की र ढिकुर पोखरी विकास संस्थाले आर्थिक तथा प्राविधिक सहजिकरण गरेको पनि उनीहरुले बताए । कृषि ज्ञान केन्द्रले भकारो सुधारका परियोजनामा सहयोग गरेको र त्यसबाट गहुँत संकलन तथा झोल मल निर्माणमा टेवा पुगेको छ । यो जोडिले छिमेकीका घरको गहुँत पनि संकलन गर्ने जुक्ति लगाएका छन् । सरकारले युरीया मल नदिएर आफुहरुलाई कुनै चिन्ता नभएको, जैविक झोलले रोग किरा नियन्त्रण गर्ने र गहुँत तथा गड्यौलीमल घोलेर बनाएको घोललाई थोपासिंचाइ प्रविधिबाट सिंचाइ तथा खाद्यतत्व व्यवस्थापन गर्दै आउँदा उत्पादन राम्रो भएको उनिहरुले बताए । प्लास्टीकबाट मल्चीङ्ग गरेको ( छापो हालेको ) एउटा गरामा गोलभेडामा जरामा गीर्खा पर्ने रोग देखिएकोले त्यहाका सबै बाली हटाएर गहुँतले माटो उपचार गरेर अर्को बाली सिमि र धनीया खेति सूरु गरेको पनि दाहालले जनाए ।
गोबर मललाइ गड्रयौली मलमा रुपान्तरण गर्दै बनाइएको प्राङ्गारिक घोल मात्रै मलका रुपमा प्रयोग गर्दा अन्यत्रबाट आउने रोग किरा नियन्त्रण भएको र अतिझरी तथा तुवालो लाग्दा केही ढुसीजन्य समस्या देखिने गरेकोमा जैविक विषादीका रुपमा बनाइएको झोल मलको उपयोगबाट उपचार गर्ने गरेको दाहाल जोडिले बताए । दाहाल जोडिलाई कृषि उद्यममा परिपक्व बनाउनमा सरकारी तथा गैरसरकारी संस्थाहरुको प्राविधिक परामर्श र आर्थिक सहयोग तथा तालिमे अवशरहरुले टेवा पुर्याएको बताए । ढिकूर पोखरी सामुदायिक विकास संस्थाले महिला उद्यमशलिता तालिम मार्फत केही गर्ने हौसला दिएको, १ लाख अनुदान पनि दिएको समित्रा दाहालले बताइन् । यसैगरि कृषि तालिम केन्द्र पोखराले पनि एक साताको आवाशीय तालिम दिएको र कृषि ज्ञान केन्द्रले अनुदानमा आधारीत कार्यक्रम मार्फत ७० हजार अनुदान दिएको कृष्ण दाहालले बताए ।
https://youtu.be/hQQMjMhZq-I