आरसी टाइम्स व्युरो
पोखरा, असोज २०
कृषकहरुलाई शत्रु जीव र मित्रू जीव चिनाउँदै , एकिकृत अर्गानीक तरकारी उत्पादनका उपायहरु सिकाउँदै आएका कृृषक पाठशालाका गूरु चित्रनाथ पौडेलले स्थानीय स्रोत प्रयोग गरी प्लास्टिक घरभित्र गोलभेडा खेतीमा दिगो उत्पादनको सफल मोडेल प्रस्तुत गरेका छन् । स्वस्थकर तरकारी उत्पादनमा किसानहरुलाई मुखरित गर्न ‘पैसा तीरी रोग नबेसाउ’ सडक नाटक अभियान सुरुगरेका पौडेलले रसायानिक विषादी न्युनीकरण र स्वस्थ तरकारी उत्पादनमार्फत शहरलाई स्वस्थकर तरकारी आपुर्ती दिन सकिने सोचका साथ एक दशकबढी देखि व्यवसायिक तरकारी खेतिमा संलग्न हूँदै आएका छन् । हेमजाको कृषि भूमि र पोखराको उपभोक्ता बजारका बीच नगद सटही गर्न सकिने उपाय सुझाउँदै कृषक समूहको अगुवाइ गर्दै आएका पौडेल बर्षेनी हरेक मौसममा गोलभोडा र ताजा तरकारी उत्पादन तथा बजारिकरणमा रोलमोडल पहिचान बनाएका छन् । उनल पोखरा, २५ हेम्जामा स्थानीय स्रोत र सीपको उपयोगद्वारा दिगो तरकारी उत्पादन सम्भव हुने प्रमाण प्रस्तुतगर्दै कम लागतमा उत्पादन, पर्यावरणमैत्री अभ्यास र आत्मनिर्भर प्रणाली विकास गर्दै खेतीलाई निरन्तर लाभदायक बनाउन सफल भएका छन् ।
पौडेलले स्थानीय स्रोतका रुपमा पाइने बासको संरचनाबाट प्लास्टिक घर निर्माण गरेका छन् , जुन कम्तिमा पाँच वर्षसम्म टिकाउ देखिएको छ । उनले प्रयोग गर्दै आएको प्लास्टिक आवरण पाँचदेखि सात वर्षसम्म प्रयोगयोग्य हुने गरेको छ । हावाहुरीको मौसम (फागुन—बैशाख ) प्लास्टिकलाई झिकेर सुरक्षित राख्ने र नियमित सरसफाइ गर्ने गर्दा रोग तथा किराको संक्रमण न्यून भएको उनले जनाएका छन् ।
हाल हेम्जा क्षेत्रमा सयभन्दा बढी टनेलघरमा गोलभेडा उत्पादन भइरहेको छ, जसमा पौडेल अग्रपंक्तिका कृषक हुन् । जेष्ठ–असारमा रोपिएको गोलभेडा पुस–माघसम्म निरन्तर फल लिइरहन सकिने उनको अनुभव छ । प्लास्टिक घरभित्र बनाइएको सानो पोखरीमा आकासे पानी संकलन गरी आवश्यक समयमा सिँचाइका लागि प्रयोग गर्ने र पर्याप्त घाम, सन्तुलित तापमान र स्वच्छ वातावरणका कारण रोग—किराको प्रकोप न्यून र फलको गुणस्तर उच्च हुने गरेको उनको सिकाइ छ ।
पौडेलले आफ्नो उत्पादन आफैं बजारमा बिक्री गर्छन् । उनका अनुसार स्थानीय पोखरा बजारमा घरेलु उत्पादनप्रति ग्राहकको विश्वास बढ्दो छ र किसानहरूले पनि राम्रो मूल्य पाउन थालेका छन् । पोखरा शहरमा विभिन्न कारणले बाहिरी जिल्लाबाट यातायात रोकिएर तरकारीमा हाहाकार तथा उच्च महङ्गी हुने गरेको विगतको प्रकरण पौडेलजस्तै किसानहरुले गरेको पहलले साना किसान समेत तरकारी उत्पादनबाट बजारिकरण गर्न अभिमुख भएकाले बजारमा रैथाने तरकारीको पहुँच धानीरहेकोछ ।
उनको संगत र सिकोबाट पोखरा उपत्यकाका कृषकहरूलाई आत्मनिर्भरता, दिगोपन र आधुनिक प्रविधिसँग सन्तुलित कृषि प्रणालीतर्फ प्रेरित गरेको देखिन्छ ।