रामचन्द्र बराल
पोखरा,असोज ३१
विश्व खाद्यसंगठनको सहजीकरणमा प्रदेशिक खाद्यसुरक्षाका भूमिकाहरुमा सक्रियता निर्वाह गर्ने तथा खाद्य वासलातको तर्जुमा गर्दै स्थानीय खाद्य सुरक्षा योजना बनाउने रणनिति सहित निर्माण गरिएको प्रदेशिक खाद्य परिषद गठनको लामो समयसम्म पनि बजेट र काम विहिन भएर कुनै उपती गर्न नसकेको सबालमा खाद्य सम्बादमा सबाल उठेपछि गण्डकी प्रदेशको कृषि मन्त्रालयले खाद्यपरिषद सक्रिय बनाउने घोषणा गरेको छ ।
गण्डकी प्रदेशको कृषि मन्त्रालयले पोखरा महानगरपालिका र नेपाल फुड नेटवर्कको सहकार्यमा आयोजना गरेको पोखरा खाद्य सम्वादमा दिगो कृषि प्रणालीका लागि बहुपक्षिय सम्बाद प्रणाली विकास गर्ने र यसका लागि प्रादेशिक खाद्य परिषदलाई सक्रिय बनाउने घोषणा गरेको छ । हिजो आइतबार पोखरामा आयोजित सम्बाद समारोहमा उठेका सबालहरुलाई सम्बोधन गर्दै प्रादेशिक कृषि सचिव सहदेव प्रसाद हुमागाइले खाद्य परिषदलाई सक्रिय बनाउन निर्देशक समिति समेत सक्रिय बनाउने र कार्यान्वयन स्तरमा लैजान तर्कपुर्ण खाकामा तोकिएको उपलब्धीका लागि काम र बजेटको निधोगरि कार्यसञ्चालन गर्नाका लागि मन्त्रालयका कृषि विकास महाशाखा प्रमूख बालकृष्ण अधिकारीको नेतृत्वमा उपसमिति स्तरको कार्यदल निर्माण गरि काम र वजेट किटान गर्ने कार्य जिम्मेबारी तोकेको पनि जनाएका छन् । दिगो कृषि प्रणालीका लागि कृषि तथ्यांकको अध्यावधिक गर्नु जरुरी भएकाले प्रादेशिक कृषि तथ्यांक संकलन र जिल्लागत दूरुस्तीका लागि पनि सक्रियता गरिने सचिव हुमागाइले प्रतिवद्धता जनाएका छन् ।
खाद्य सम्बादका सबालमा विद्यमान अवस्था र चुनौति तथा अबको बाटोका सबालमा सरकारी र गैर सरकारी छलफल पत्र पेश गरिएको थियो । सरकारी पक्षको सम्बादका सबाल प्रस्तुत गर्दै वालकृष्ण अधिकारीले खाद्यप्रणालीको दिगो व्यवस्थापनका लागि एकल रुपमा कृषि उत्पादन पक्षले मात्र अगुवाइ गर्न नसक्ने र यसमा उत्पादन देखि उपभोग सम्मका चक्रमा बहुसरोकारवालाहरुको बहुआयामिक अन्तरसम्बन्ध हुने हुँदा दिगो कृषि प्रणालीका लागि बहुसरोकारवालाहरुकै सञ्जालिकरण र जवाफदेहिताको खाँचो औल्याएका थिए । यसैगरि गैरसरकारी पक्षबाट छलफल पत्र प्रस्तुत गर्दै नेपाल फुड नेटवर्कका तुलसी गीरीले किसानको गेट देखि उपभोक्ताको खानाको प्लेटसम्मका योगदान कर्मी इकाइहरु, उद्योगी र व्यापारी समेतलाई सरोकारवाला निकायका रुपमा जोडेर बहुपक्षिय सम्बाद थालनी गर्न सकेमात्र सामूहिक प्रभाव पार्न सकिने कुरामा जोड दिए । जति टाढाको दुरीबाट खाद्यबस्तुको ढुवानी गरिन्छ, उतिनै खाद्य गुणस्तरमा चुनौति आउने र मुल्य श्रृंखलाका सरोकारवालाहरु थपीदै जाने सम्भावना रहेको बताउँदै खाद्य व्यापारीको कमाण्डमा खाद्य सूरक्षा अन्तरनिर्भर रहेको बताउँदै गीरीले दिगो कृषि प्रणालीका लागि ‘प्लेटदेखि प्लानेट हेल्थ’सम्मलाई जोडेर हेर्नुपर्ने र खाद्यसंस्कृति तथा स्थानीय खाद्यप्रणालीमा सुधारका लागि सरकार र नागरिक सँगै मिलेर कामगर्नु पर्ने, जति बहुपक्षिय सम्बाद हुनसक्यो उति सामुहिक प्रभाव राख्नसक्ने सम्भावनाका बारेमा सचेत हुनु पर्नेमा जोड दिए ।
खाद्य सम्बादको विषय उठानका लागि कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले ‘उत्पादन, पोषण, वातावरण सुधार ः सूखी जीवनको आधार’ नारा सम्म आइपुग्दाका ४१ वर्षे यात्रामा सिकेका पाठहरुको समिक्षा गर्दै पोषण न्युनताले रक्त अल्पता, श्रम योग्य क्षमतामा न्युनताका समस्याहरु देखिएको औल्याए । विगतको परम्परामुखी कृषि प्रणालीमा भन्दा हालको पश्चिमामुखी खाद्यसंस्कृतिले खाद्य श्रोतको उचित व्यवस्थापन गर्न नसकेर मधुमेह, थाएराइड र मोटोपना बढाएको तथा श्रमयोग्य क्षमतामा ह्रास आएको तर्फ संकेत गर्दै नेउपानेले ‘जति धेरै रैथाने खाद्यबस्तुबाट टाढाको खाद्यसंस्कृतिमा पहुँच बढ्दैगयो उति नै श्रम क्षमताको न्युनता हुँदै गरएको देखिएकाले हाम्रा परम्परागत रैथाने खाद्य बस्तुहरु नै पोषणले भरपुर रहेछन भन्ने चेत बढाएको र अहिले सुपर—फुडका रुपमा सम्मान गर्न थालिएको’ बताए ।
खाद्यसम्बाद समारोहमा उठेका सबालहरुलाई सम्बोधन गर्दै प्रादेशिक कृषि मन्त्री चन्द्रबहादुर बुढाले मन्त्रालयले कृषि सरोकारवालाहरुलाई समन्वयात्मक रुपमा सक्रिय बनाएर साझा समस्याको व्यवस्थापनमा सहकार्य गर्ने र आउँदो वर्षमा देखिने गरि केहि परिवर्तन ल्याउने दावी गरे । हालसम्मका क्रियाकलापहरुले किसानहरु उत्साहित हुन नसकेको स्वीकार गर्दै मन्त्रि बुढाले किसान उत्साहित हुनेगरि क्रियाकलाप गर्न पनि मातहतका एजेन्सीहरुलाई आग्रह गरे ।
खाद्य सम्बादका लागि सहभागीहरुले उत्पादन, पोषण, वातावरण मैत्रि अभ्यास र खाद्य असमानताका स्थीतिहरुका बारेमा समुहगत कार्यशाला र प्रस्तुति पनि गरेका थिए । समूहगत प्रस्तुतिहरुलाई शालिकराम अधिकारी , केशव भट्टराई, भूमिराज पराजुली र गृष्म नेउपानेको समूहले प्रस्तुति गरेको थियो । समूहकार्यका प्रस्तुतिमा कृषि निर्देशक बासुदेव रेग्मीले कृषि डाटा वैंकको औचित्यका बारेमा र पशु सेवा निर्देशक मन बहादुर पूनले अनुवांशिक श्रोत संरक्षण र खाद्य सुरक्षामा अन्तरसम्बन्धका बारेमा पुरक मत राखेका थिए । यसैक्रममा पोखरा महानगर कृषि विकास महाशाखा प्रमुख मनहर कडरीयाले कृषि उपज बजार सूचनाका लागि संघिय सरकारको मुख ताक्नु भन्दा संस्थागत बजार केन्द्रहरुको कारोबार अभिलेखबाट पनि आधारभुत बजार सूचना संकलन गरेर खाद्य सूरक्षाको आधारभूत तथ्यांक प्रणाली निर्माण गर्न सकिने तर्फ लाग्नु पर्ने खाँचो औल्याएका थिए ।