लक्ष्मण विसि/आरसी टाइम्स
पर्वत, आषाढ २०
मौसम जन्य खाद्य परिकारका कारण रोगव्यधी बढने र गुणस्तरहिन खाद्य पदार्थको बजारिकरण नियन्त्रण गर्न सरकारी अनुगमन निकायहरुले सक्रियता देखाएका छन् । पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय पर्वतले पनि बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकाका मुख्य बजार क्षेत्रमा रहेका खाजा घर, होटल तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।
यसै सिलसिलामा गत शुक्रबार कुश्मा बजारका होटल तथा किराना पसलको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिका वडा नं.७, खरेहा, ९ ज्ञादी र वडा नं. ५ बडागाउँका पसलहरु अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा केहि पसलमा म्याद गुज्रिएका बस्तु भेटिएको र अखाद्य बस्तु बिक्री नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले जानकारी दिइन । अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पसल दर्ता, नविबरण, मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको कार्यालय प्रमुख अधिकारीले बताइन् ।
व्यवसायीहरुलाई सचेत गराउदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरिएको छ । जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमनलाई समेत जोड दिएको अधिकारीको भनाइ छ । सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको र अनुगमन पछि व्यवसायीहरु सजग भएको अधिकारीले बताइन् । उनले भनिन्“रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुन्छ ।” पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय पर्वतले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ ।