आरसी टाइम्स व्युरो
पोखरा, माघ २९
विभिन्न फर्ममा पालिएका बंगुरमा उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । घरपालुवा सुगुर, बंगुर र बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने गरेको पशु चिकित्सकले बताएका छन् । विभिन्न जिल्लामा रहेका व्यवसायिक वंगुर फार्ममा मरेको बंगुरको परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि भएकोले होसीयारी अपनाउन किसानहरुलाई प्रादेशिक पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले सार्वजनिक अपिल गरेको छ ।
गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ्ग र गोरखा जिल्लामा बंगुर प्रजातीका घरपालुवामा यो रोगको संक्रमण देखिएको पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख किरण पाण्डेले जनाएका छन् ।
अफ्रिकन स्वाइन फिभर देखिएका बंगुर तथा पाठापाठीमा ज्वरो आउने, शरिरमा निलो धव्बा देखिने, वंगुरहरु एकै ठाउँमा झुम्मिएर वस्ने, छेर्ने, वाक्ने लक्षण देखिने चिकित्शकहरुले जनाएका छन् । यो रोगको निश्चित उपचार र भ्याक्सिन नभएकाले रोकथामका उपाय गर्न निर्देशनालयले आव्हान गरेको छ ।
यसका लागि जैविक सुरक्षा विधि अपनाउदै अन्य व्यक्तिलाई खोरमा पस्न नदिने, खोरमा पस्दा अलगै कपडा फेरेर वा डिस्इनफेक्टेन्ट छरेर मात्रै प्रवेश गर्ने, खोरमा फोहोर व्यवस्थापन गर्न सुझाइएको छ ।