आरसी टाइम्स व्युरो,
पोखरा, फाल्गुण २४,
गण्डकी हिमालयका विभिन्न जिल्लामा चौरी पालन गर्दै आएका किसानहरु संगठित हुँदै प्रदेशिक याक नेटवर्क बनाएका छन् । हालै पोखरामा आयोजित एक समारोहमा मनाङ्गको चामेका किसान सुरेश थकालीको नेतृत्वमा नौ सदस्यीय याक चौरी कृषक महासंघ नेपालको गण्डकी प्रादेशिक कमिटि गठन गरिएको छ । समितिको सचिवमा लमजुङ्ग मस्र्याङ्गदीका मेग बहादुर गूरुङ्ग, कोषध्यक्षमा मुस्ताङ्ग लोघेकर दामोदरकुण्डकी पेमा याङ्गदी रहेका छन् । यसै गरि सदस्यहरुमा म्याग्दी अन्नपुर्णका भविन पाइजा पुन, माछापुच्छ्रे कास्कीका शिवलाल गौतम, गोरखा, चुमनुब्री(सामागाउँ)का कर्म छेवाङ्ग लामा, मनाङ्ग ङिस्याङकी उर्केन साङ्गमा लामा , मुस्ताङ्गका भिम प्रसाद थकाली र गोरखा छेकम्पारकी छिरीङ्ग भूटि लामा चयन भएका छन् ।
प्रादेशिक प्रथम अधिबेशनमा याक चौरी कृषक महासंघका सचिव पाविहाङ्ग राइले सम्बोधन गर्दै हिमाली अस्तित्व रक्षाका लागि याक चौरी र कृषकहरुको व्यवसायीक सुरक्षामा सरकारले चासो दिनु पर्ने र नवगठित समितिलाई हातेमालो गर्नु पर्ने खाँचो औल्याएका छन् ।
गण्डकी प्रदेशका कृषि सचिव टंकप्रसाद प्रसाइले अधिवेशनलाई सम्बोधन गर्दै आगामी वर्षको योजनामा सम्पादन गर्ने गरि कार्ययोजना तयारपार्न आग्रह गर्दै प्रादेशिक कृषि मन्त्रालयले याक चौरी संरक्षण र संवर्धनमा सकारात्मक योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैवर्ष गण्डकी प्रदेश सरकारले मुस्ताङ्ग र मनाङ्गमा १९ वटा याकका बहरहरु सोलुखुम्बुको स्याङ्गबोचे अनुसन्धान केन्द्रबाट ल्याएर वितरण गरेको सन्दर्भमा गण्डकी हिमालयमा याकको नश्ल सुधार र सघन याक चौरी पालनमा सकारात्मक भूमिका खेल्न आफुहरुको निकाय तयार रहेको भन्दै पशुु सेवा तालिम केन्द्रका प्रमुख गृष्म नेउपाने र पशुरोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख किरण पण्डेले प्रतिवद्धता जनाएका छन् ।