आरसी टाइम्स
पोखरा, श्रावाण १९
रैथाने परिकार, पोषण मूल्य, जलवायु अनुकूलता र स्थानीय खाद्य सुरक्षा प्रवद्र्धनको सन्देशसहित राष्ट्रिय कोदो दिवस देशभर विविध कार्यक्रममार्फत मनाइएको छ। कास्की जिल्लामा यो दिवस विशेष रूपमा गाउँमा रोपाइँ उत्सव र शहरमा बहस तथा सम्मानको कार्यक्रममार्फत मनाइएको छ।
कास्की जिल्लामा कोदो खेतीको प्रवद्र्धन पछिल्ला वर्षहरूदेखि नै प्राथमिकतामा रहँदै आएको छ ।
अन्नपुर्ण गाउँपालिकाले विगतदेखि नै कोदो खेतीलाई प्रोत्साहन गर्दै किसानसँग उत्पादन खरिदको सुनिश्चितता गर्दै आएको छ । यसले स्थानीय किसानहरूलाई मनोबल र बजार दुवै प्रदान गरेको छ ।
यसै सिलसिलामा, यस वर्ष केन्द्र सरकारद्वारा राष्ट्रियस्तरमा कोदो दिवस महोत्सवको रूपमा मनाउने निर्णय पछि अन्य पालिकाहरूमा पनि कोदो प्रवद्र्धनात्मक कार्यक्रमहरू थप सक्रिय रूपमा सञ्चालन हुन थालेका छन् ।
माछापुच्छ्रेमा कोदो रोपाइँ महोत्सव:
यसै सन्दर्भमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा पहिलो पटक कोदो रोपाइँ महोत्सव आयोजना भयो । गाउँपालिकाको आयोजनामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सम्पन्न भएको यस प्रतियोगितामा १६ वटा आमा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
सहभागी सबै समूहलाई आयोजकको तर्फबाट प्रति समूह रू. ३,५०० नगद प्रोत्साहन प्रदान गरिएको थियो ।
कार्यक्रमले परम्परागत बालीको संरक्षण, महिला नेतृत्वको कृषि सहभागिता, र समुदायमा रैथाने बालीप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्य लिएको बताइएको छ ।
पोखरामा कोदो बहस:
पोखरा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई नगद पुरस्कार सहित सम्मान गरियो । कार्यक्रममा कोदो बालीका जातहरु, कोदोका विभिन्न परिकारहरु समेत प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा कोदो बहस अन्तकृया समेत राखिएको थियो । कोदो बहसमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया, पोखरा महानगरपालिका कार्यपालिका सदस्य श्रीकृष्ण लामिछाने, जैविक स्रोत संरक्षण अभियान लेखनाथा का सचिब पुष्प राज सुवेदी, ली–बर्डका बरिष्ठ कार्यक्रम अधिकृत इन्द्र प्रसाद पौडेल रहेका थिए ।

कोदो बहस: किसानका सबाल र सरकारको जवाफ
यसै अवसरमा पोखरा महानगरपालिकामा आयोजित कोदो बहस कार्यक्रमले स्थानीय सरकार र कृषकबीच नीति र व्यवहारको अन्तक्र्रिया मंच प्रदान गर्यो ।
कार्यक्रममा नगरको कृषि प्रशासन र कार्यपालिका सदस्यहरूमाथि किसान तथा सरोकारवालाबाट तीव्र प्रश्नहरू उठाइएका थिए ।
विशेषगरी कार्यपालिका सदस्य श्रीकृष्ण लामिछानेले ती प्रश्नहरूको उत्तर दिन र नीति स्पष्ट पार्ने प्रयास गरेका थिए ।
कोदो बहशले नीति बहसलाई स्थानीय कृषि यथार्थसँग जोड्ने सार्थक प्रयत्न गरेको सहभागीहरूको टिप्पणी रहेको छ ।
कोदो बहसमा उठेका मुख्य सबालहरूः
—अरुको नक्कल हो कि आफ्नै पहिचान?
—राष्ट्रिय दिवसका नाममा अरूको देखासिकी मात्र गर्ने कि, रैथाने किसान र उनीहरूका रैथाने खाद्य परिकारलाई वास्तविक प्राथमिकता दिने हो?
—कोदो खेती, परिकार र बजार व्यवस्थापनप्रति स्थानीय सरकारले व्यवहारिक चासो देखाएको कति हो?
—बजेट र प्राथमिकताको विरोधाभास ?
—महानगरले कृषिमा जम्मा १ प्रतिशत बजेट विनियोजन मात्र गर्दा, कार्यक्रमभन्दा उत्पादनमा लगानीको प्राथमिकता कति छ ?
—कृषिमा न्युन बजेट गैसस र कृषकले आयोजना गरेका कृषि मेलामा अतिथि बन्न होडबाजी गर्ने प्रवृत्ति हटाउने बेला भएन र ?
—गैससको अग्रसरता र सरकारको मौनता?
—ली–बर्ड जस्ता संस्थाले रैथाने बालीको स्रोतकेन्द्र, सामुदायिक बीउबैंक स्थापना गर्न लागिपरिरहँदा —महानगरको तर्फबाट के नयाँ योजना, अभियान वा संरचनागत हस्तक्षेप आएको छ ?
—दायित्वको दिशाविहीनता?
—किसानले सरकार खोज्दै धाउनु पर्ने कि सरकारले किसानको घरमै पुग्नुपर्ने?
—कृषिमा नागरिक–राज्य सम्बन्धको परिभाषा नै पुनः लेख्ने बेला आएको होइन र?
कोदो बहसमा महानगरका विभिन्न वडाका कृषकहरु, कृषि सञ्जालका अध्यक्षहरुले बहसमा उत्साहजनक तरिकाले भाग लिएका थिए ।
सरकारले प्रत्येक वर्षको साउन १६ गते देशव्यापी रूपमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु भएको हो।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोषिलो अन्नको प्रवद्र्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको कडरियाले बताए ।
त्यस्तै उनले ढिंडो, रोटी, पेयापदार्थ सहित विभिन्न औद्योगिक परिकार बनाउन सकिने कोदो बहुउपयोगी पौष्टिक आहार भएकाले यो महत्वपूर्ण कार्यक्रमको आयोजना गरिएको बताए ।
उनका अनुसार पोखरा महानगरपालिकाभित्र ३ हजार क्षेत्रफलमा कोदो खेती लगाईदै आएको र त्यहाँबाट वर्षेनी ३ हजार ५ सय टन कोदो उत्पादन हुँदै आएको बताए ।
पछिल्लो समय पोखरामा कोदोको माग उच्च रहेतापनि उत्पादन कम हुँदा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए ।

यस्तै उक्त कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई प्रोत्सानस्वरुप पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा पोखरा २१ का कर्ण बहादुर थापा, २८ का अम्बिका भण्डारी, २३ का सतेन गुरुङ र १६ का बबिता गुरुङ रहेका थिए । सम्मानित हुनेहरुमा ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा—१६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा—२८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा—२३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा—२१ का कर्ण बहादुर थापा रहेका छन् ।
यस्तै सो कार्यक्रममा कोदो बालीका जातहरु, कोदोका विभिन्न परिकारहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा कोदो बाली तथा जातहरुको प्रदर्शन गर्ने चारवटा कृषक समूह तथा सहकारीलाई समेत सम्मान गरिएको थियो ।