रामचन्द्र बराल/आरसी टाइम्स
पोखरा, आषाढ १६
यो शहर र यहाँको दैनिकि विडम्बनाको छ । यो शहरले चोखो पानी पीउन पनि छिमेकी गाउँको मुहान ताक्नु पर्छ, शुद्ध स्वास फेर्न पनि तीनै गाउँको चौतारी—भञ्ज्याङ्ग पुग्नु पर्छ । तर निर्लज्ज यो शहरले गाउँका लागि योगदान गर्ने मौकामा मौन बस्छ र खेति परम्पराको जतन गर्ने नाममा सार्वजनिक खर्चमा हिले तमाशा गर्दै आएको छ । खेतमा रोपीनुपर्ने गावो तामाशा गर्नेहरुले गमलामा रोपेको र कतिपय तमाशेहरुले घाटीमा माला लगाएको मुर्खता पूर्ण तस्वीर हरेक वर्ष सामाजिक सञ्जालमा व्यँङ्गको व्यञ्जन बन्दै आएको छ ।
सतही रूपमा हेर्दा रोपाइ मेला वा हिले उत्सवमा झरीको पर्वाह नगरी बृद्धदेखि बालबालिकासम्म रमाएका दृश्यहरूले परम्परागत कृषिप्रति प्रेम दर्शाएको भान पार्दछन् ।
तर यही चहलपहलको हिलोभित्र गहिरा प्रश्नहरू गाडिएका छन्—
के यो साँच्चिकै मौलिकताको उत्सव हो, कि बाह्य आकर्षणको प्रदर्शन?
हर्षको यो हिलोभित्र एक गम्भीर पीडा पनि लुकेको छ—अब केही वर्षपछि हिले महोत्सव यत्रतत्र ‘जग्गा खोज्दै’ मनाउनुपर्ने त होइन?
पाखाको टारि खेत, बचेखुचेका गैरिखेत, र ससाना फोटिहरू सोंचिरहेका छन् यसरी कहिलेसम्म कृषि पर्यटन ‘इभेन्ट’मा रमाउने ? किनभने ती आफैं संकटमा छन् ।
उत्सव कि उत्सववाद ?
हिलो दौड, रस्साकस्सी, धान रोपाइँ, हलगोरु र माछा समाउनेजस्ता कार्यक्रमहरूले रमिते पर्यटकहरुका लागि नयाँ परिकार संस्कृतिको झलक दिन्छन् । तर केही स्थानीय बुद्धिजीवीहरूको गुनासो छ—यी सबै कुरा अब प्रदर्शनात्मक क्रियाकलापमा सीमित हुँदैछन् । फोटो खिच्ने ठाउँ, सामाजिक सञ्जालका लागि बनावटी चहलपहल, र वास्तविक कृषकको पीडा ओझेल ।
खेति गर्ने गाउँका टारी र वाँदरले पीडीत खेती र बारी जोगाउन नसकिएर सिान तनाबमा भईरहेका बेला ग्रामीण खेती कर्म संकटमा रहेको बेला, तिनको समाधानबिना शहरका सार्वजनिक खर्चमा ‘कृषि झाँकी’ कति सार्थक?
सामाजिक सन्देशको सतह
कतिपय मेलामा सहभागी हुन पुगेका म्यादी प्रतिनिधि र म्यादी सेवकहरुले हिले महोत्सवको खुलेर प्रशंसा गरे । तर उनीहरूको भाषणले किसानका वस्तुगत समस्या—उत्पादन लागत, मल अभाव, बजार अनिश्चितता—बारे एक शब्द बोलेन । यस्ता महोत्सवहरू नीति निर्माण र कृषक सशक्तीकरणको मञ्च बन्नु पर्ने हो, न कि केवल हिले मनोरञ्जनको ।
पुस्तान्तरणको प्रयत्न कि प्रतीकात्मकता ?
‘संस्कार र संस्कृतिको पुस्तान्तरण’ भन्ने नाराको प्रयोग गरिए पनि, के भजन प्रतियोगिता वा ‘एसईई’ टप गर्ने विद्यार्थीलाई सम्मानले त्यो गहिरो सामाजिक उद्देश्य पूरा गरिरहेको छ ? अहिलेको पुस्ताले परम्परा बुझोस् भन्ने चाहना स्वागतयोग्य हो, तर त्यो प्रक्रिया जति भावनात्मक छ, उति नै समावेशी र समालोचनात्मक हुनुपर्छ ।
अब समय आएको छ—यस्ता महोत्सवहरूलाई केवल ‘मनोरञ्जनात्मक शो’ हैन, नीति बहस र किसान आवाजको मंच बनाउने । स्थानीय उत्पादनको मूल्य, कृषकको गरिमा, र ग्रामीण अर्थतन्त्रको विमर्शबिनाको सांस्कृतिक महोत्सव, साँस्कृतिक पर्यटनको एक सीमित खाका मात्र हुन सक्छ ।