—कुलराज चालिसे,
उपयुक्त रणनीतिको पहिचान नगरी तर्जुमा भएका योजना राज्यकोषबाट व्यय गर्ने वहाना मात्र हुन्छन् । अपार प्राकृतिक वरदान प्राप्त हुँदा पनि हाम्रो दयनीय अवस्था यस्को उदाहरण हो । स्थानीय भूगोलमा अनुकुलित भएको शास्त्र अनुकुलको परम्परागत पद्धत्तिलाई विकासको बाधक मानेर पाश्चात्य प्रविधिमा विकासको अभ्यास गरेको सत्तरीवर्ष नाघ्दा पनि आसातित सफलता नहुनुको पछाडी कमजोर रणनीति भएको प्रमाणित हुन्छ । योजनावद्ध विकासको अभ्यास गरेको पनि पैसठ्ठीवर्ष नाघेको छ । प्रारम्भिक योजनाकालहरूमा त हामीले विदेशीको वहकावमा रैथाने नश्ल र जीवन पद्धत्तिलाई विस्थापन गर्ने रणनीति नै अँगाल्यौं । दशपन्ध्रवर्ष अभ्यास गर्दा पनि रैथाने जीवन विज्ञानलाई विस्थापन गर्न नसके पछि शिक्षानीतिमा नै परिवर्तन गरीयो । पहाडी भूगोलमा जीवन निर्वाह गर्ने जनतालाई यातायात र सिचाईको पिडा असैह्य थियो । त्यै पिडालाई सम्बोधन गर्न पाश्चात्य शिक्षामा दिक्षित योजनाकारहरूलाई योजना तर्जुमाको नेतृत्व दिने प्रचलन नै बस्यो । उनिहरूले तर्जुमा गरेका योजना सुन्दर थिए तर योजना कार्यान्वयन गर्ने रणनीति रैथाने जीवन विज्ञानमा अनुकुलित थिएनन् । त्यसैले राज्य ऋणमा डुब्दा पनि आसातित प्रतिफल दिएका थिएनन् । सडक, सिचाई, विद्युत, शिक्षा र स्वास्थमा आमुल परिवर्तन त भयो, तर त्यो परिवर्तनले व्यापारमा भयानक असन्तुलन निम्त्यायो । त्यस्तो असन्तुलनलाई व्यवस्थापन गर्न युवा जनशक्तिलाई बेच्न हामी बाध्य भयौ । आप्mनै भूगोलमा सदुपयोग गर्नुपर्ने जनशक्तिले विदेशमा पसिना वगाएर कमाएको धनले अन्न र तरकारीको साथमा औषधी बोकेका मालवाहक गाडी कुदाउनुलाई विकास मान्न थाल्यौ । हुँदाहुँदा बस्ती स्थानान्तरण गरेर विजुली बेच्ने रणनीतिमा अगाडी बढेका छौ । हामीले विकास भनेर मानेका कुनै पनि परियोजनाले लागत उठाउन सकेका छैनन् । त्यत्तिले नपुगेर सयवर्षमा पनि लागत उठन नसक्ने परियोजनाहरूको तानावाना बुनेर बसेका छौ ।
विकासको नाममा हामी ऋणको पासोमा भस्दै गएका छौ । दशवर्षमा दशहजार मेगावाट विद्युत बेच्ने त भनेका छौ, प्रति युनिट कति रुपैयामा बेच्ने भन्न सकेका छैनौ । विद्युत बेचेको पैसाले उत्पादन खर्च उठाउछ कि उठाउँदैन भन्ने आँकलन गरेका छैनौ । उर्जा प्रविधि अनुसन्धानमा निरन्तर प्रयास हुँदा अनेक विकल्प सामुन्यमा आउन सक्छ । प्रति युनिट कम लागतको उर्जा उपयोग गर्ने व्यापारिक धर्म नै हो । हामीले लक्ष गरेको भारतीय बजारमा बढी लागतको उर्जा विकेन भने ठूलो लागतमा स्थापना भएका जलविद्युत केन्द्रलाई पूर्ण क्षमतामा संचालन गर्न कठिन हुनसक्छ । तैपनि उधारो विकासको सपना बुनेर बसेका छौ । विकास भएको छैन भनौ भने संचार र यातायातमा राम्रै विकास गरेका छौ । मान्छे नवस्ने दशघर भएको ठाउँमा पनि कच्चिबाटो पुगेको छ । बाटो पुगेर मात्र के गर्ने ? गाउँमा काम गर्ने खेताला छैनन्, खेतवारी बाँझो छ । नतिजा स्वरूप त्यही बाटोबाट हरियो खुर्सानी पनि गाउँमा पुगेको छ । गाउँ पुगेका गाडी फर्किदा मान्छे बाहेक बोक्ने उत्पादन छैन । खेतवारी बाँझो हुँदा चरा र बाँदरले पनि बसाईं सर्न बाध्य भएका छन् । अलिअलि भएको खेती पनि बसाई सरेका चरा र बाँदरले खाई दिएका छन् । बादर नियन्त्रण गर्ने योजना सार्वजनिक नगरे स्थानीय पालिकाको निर्वाचन पनि हार्ने अवस्था आए पछि वन्यजन्य फल लगाउने योजनाले स्थान पाएको छ । नागरिकको कुरा छाडौ, पंछी र बाँदर पनि बसाई सर्दा अन्य वन्यजनावरको आहारा प्रणालीमा पनि असर पर्दाेरहेछ भनेर बुझेपछि पोखरी र वन्यजन्य काष्ठफलले योजनामा स्थान पाएको त छ तर योजना कार्यान्वयन गर्ने रणनीति अझैपनि पूर्ण देखिदैन ।
गाउँ र वन मात्र होइन शहर पनि लगभग असन्तुलित भएको छ । गाउँको वन र खेतवारीमा सुनिने लोकभाका अहिले शहरका दोहोरी साँझमा घन्कीयका छन् । शहर घन्काउने कलाकार वनले उत्पादन गरेको थियो । शहरले लोकभाकाको शब्द सृजना गर्न सक्दैन । रोजगारी र बसाई सराई क्रम यस्तै रहने हो भने नयाँ पुस्ताका लोककलाकार जन्मिन मुस्किल हुन्छ । संचारको क्षेत्रमा भएको प्रगतिले विदेशी साजसज्जा सस्कृति पनि भित्रीएको छ । सामान्य ब्रतवन्ध र विवाह कार्यक्रमको मण्डप सजाउन लाखौ खर्च गर्ने चलन आयो । मण्डपलाई तोरणले झकमक्क पार्नुको सट्टा प्लाष्टिक र कपडाले सजाउने भैयो । शहरमा टेण्ट हाउस व्यावशाय राम्ररी चल्न थालेका छन् । त्यस्ता समारोहमा बज्ने लोकधुन पनि विदेशीधुनले विस्थापन गर्न खोज्दै छ । दौरा सुरुवालबाट टाईसुटमा परिणत भएको वेहुलाको पोषाक ढाकाको दौरा सुरुवालमा फर्केको थियो । संचारकै प्रभाव स्वरूप फेरी भारतीय लयमा वग्दै गएको छ । तीर्थयात्रामा मात्र होइन विवाह ब्रतवन्धमा पनि अरवौ रुपैया विदेश जान थालेको छ । वन्यजन्य काष्ठफल कार्यक्रमले बाँदरलाई केन्द्रमा राख्नुको सट्टा शहरको मण्डप सजावटमा तिनको उपयोग बढाउने रणनीति लिएको भए जनता आँफैले वन्यफलको प्रवद्र्धन गरिदिन्थे । निहुरो र टुसाले ग्रामिण रोजगारी प्रवद्र्धन गर्न सक्दा तिनले नसक्ने कुरा थिएन । वर्षेनी अरवौ रुपैयाको रुद्राक्ष र नरिवल आयात भएर गोसाईकुण्ड पुग्दा याहाँका उत्पादनले बजार नपाउने कुरा हुँदैनथ्यो । हरेक वैष्णवहरूको घाँटीमा वेरीयका तुलसीका माला पनि आयातित छन् । बौद्धगुम्वा परिक्रमा गर्ने भिक्षुले जप्ने मालाहरू आयातित छन् । त्यस्तामाला यही बनाउन सकिन्थ्यो । तिनै मालालाई परिमार्जन गर्दा मण्डप सजाउने पर्दा बनाउन सकिन्थ्यो । वन्यजन्य काष्टफल परियोजनाले वृक्षारोपणमा गर्ने खर्च मण्डप सजावटको बजार प्रवद्र्धनमा खर्च गरेको भए नतिजा उत्साहप्रद हुन सक्थ्यो । त्यतातिर कसैको ध्यान गएको जस्तो देखिदैन ।
हामीसंग वन अनुसन्धानको इकाई नभएको होइन । तर तिनले गर्ने अनुसन्धान वन भन्दा बाहिर निस्कन सकेन । वन अनुसन्धानले शहरमा केन्द्रित भएर बजार अनुसन्धान गरेको भए गैह्र काष्ट वन पैदावरको बजार प्रवद्र्धन हुन मद्दत पुग्थ्यो । शहरमा बन्ने एकादुई ब्रतवन्ध र विवाह मण्डपलाई आँफैले सजाएर फोटोग्राफी सामाजिक सञ्जालमा बुष्ट गर्दा अरूले पनि अनुकरण गर्थे । वन प्राविधिक उपर हुने खर्चको केही अंश मण्डप सजावट गर्ने कलाकार उत्पादनमा लगानी गर्दा ठूलो रकम विदेशिनबाट बच्थ्यो । त्यस्को प्रभाव पर्यटन प्रवद्र्धनमा पनि पथ्र्याे । नेपालीको विवाह मण्डप हेर्न भारतीय पर्यटक पनि आउथे । भारतमा कृयाशील नेपालीले यहीको मौलिक सजावटलाई त्याहा अनुकरण गर्दा नेपालको गैह्र काष्टजन्य उत्पादनको भारतमा बजार प्रवद्र्धन हुन सक्थ्यो । वन अनुसन्धानले थोरै प्रयास गर्दा व्यापार घाटाको विषय व्यापार नाफामा परिणत हुने मात्र नभई रोजगारी प्रवद्र्धन हुन्थ्यो ।
सरकारले प्रवद्र्धन नगरेपनि जिम्बु र टिमुर सहित थकाली स्वाद अमेरीका, वेलायत, जापान लगाएतका देशमा पुग्न सक्यो । लेकाली परम्परागत पहिरन सहित पञ्चेवाजा पुगेको छ । दोहोरी साँझ पुगेको छ । प्रवासी नेपालीले ठाउँ ठाउँमा मन्दिर बनाएकाछन् । विदेशमा भएपनि आप्mनै धर्मसंस्कृति अनुसार ब्रतवन्ध तथा विवाह समारोह आयोजना गर्न सुरु गरेका छन्। नेपाली कथावाचकहरू विदेशका शहरहरूमा यज्ञ संचालन गर्न पुगेका छन् । नेपालमा सम्पन्न हुने यज्ञमण्डपलाई वन्यजन्य गैह्र काष्ट पैदावारले मौलिक तरीकाले सजाउने हो र त्यस्तो सजावट सामाजिक सञ्जालको माध्यमले सम्प्रेषण गर्ने हो भने विदेशमा पनि विस्तार हुन मद्दत पुग्छ । बजारको सुनिश्चितता भयो भने जस्तोसुकै कार्यक्रम पनि सफल हुन्छ । बजारको प्रवन्ध नगर्दै उत्पादनलाई मात्र जोड दिने हो भने यो कार्यक्रम पनि विगतकै जस्तो उत्पादक प्रमाणित हुन सक्दैन । इपिलइपिल तथा एलोभेरामा (ध्यूकुमारी) हामीले त्यस्तै नतिजा भोगीसकेका छौ । एभोकाडो तथा कफीले अझै संघर्ष गरेका छन् । धर्म संस्कृतिको आड नलियर बनाइने रणनीतिले प्रतिफल दिन कठिन हुन्छ भन्ने भोगेका छौ । त्यस्तो अनुत्पादक रणनीति अपनाउदा खर्च मात्रै हुन्छ । त्यसैले वैकल्पिक रणनीति पनि परिक्षण गरौन । परिक्षणको रूपमानै सहि श्रीकृष्णागण्डकी प्रस्रवणमा रुद्राक्ष र रामतुलसीलाई मण्डप सजावटमा प्रयोग गरेर हेरौं । परिक्षण सफल भयो भने अन्यत्र पनि विस्तार गरौंला ।