आरसी टाइम्स व्युरो
पोखरा,पौष ७
पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहयोगमा गोरु पाल्दै आएका ५०० जना कृषकलाई निःशुल्क तरकारी बीउ वितरण गरिएको छ । स्थानीय कृषकको उत्पादन लागत घटाउँदै आत्मनिर्भर कृषि प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउ वितरण कार्यक्रम सञ्चालन गरिएको महानगर कृषि शाखाले जनाएको छ ।
परम्परागत खेती प्रणाली जोगाउन र गोरु प्रयोगमार्फत वातावरणमैत्री कृषि अभ्यासलाई निरन्तरता दिन गोरु पाल्ने कृषकलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाइएको शाखाले जनाएको छ । वितरण गरिएका तरकारी बीउले घरायसी पोषणमा सुधार गर्नुका साथै साना किसानको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
गत वर्ष पोखरा महानगरपालिकाले ५६० हल गोरु प्रयोग गर्ने कृषकलाई प्रति हल १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको थियो । यस कार्यक्रमले कृषकलाई गोरु पाल्न र परम्परागत जोत प्रणालीलाई निरन्तरता दिन उत्साहित गरेको महानगरको दाबी छ ।
कृषि विकास शाखाका अनुसार रासायनिक मल र यान्त्रिक निर्भरता बढ्दै गएको वर्तमान अवस्थामा गोरु आधारित खेतीले माटोको स्वास्थ्य जोगाउनुका साथै लागत घटाउने महत्वपूर्ण भूमिका खेल्छ । यही सोचअनुसार प्रोत्साहन र बीउ वितरणलाई जोडिएको शाखाले जनाएको छ । बीउ प्राप्त गरेका कृषकहरूले महानगरपालिकाले गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेर सहयोग गरेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उनीहरूका अनुसार यस्ता कार्यक्रमले खेतीप्रति आकर्षण बढाउनुका साथै परम्परागत कृषि प्रणालीलाई जोगाउन सहयोग पुग्नेछ ।

