आरसी टाइम्स व्युरो
पोखरा, भाद्र १६
पहाडी क्षेत्रमा फलफुल खेतिका माध्यमबाट समृद्धिका विकल्पहरु खेजी गर्ने प्रयासमा लागेको नाफा परियोजनाले ग्रामीण किसानहरुका लागि पोषण पाठशालाको समन्वय थालनी गरेको छ । विद्यालयका खाजादेखि सुत्केरीको खानासम्ममा रैथाने वालीको पोषिलो आहाराको पहुँच विस्तार गर्नका लागि कृषक पोषण पाठशालाले जोडदिएको पाइएको अर्मलाकोट पोषण पाठशालाका सहभागी जीतबहादुर बस्नेतले जनाएका छन् ।
हालै पोखरा–१६ अर्मलाकोटमा संचालन गरिएको कृषक पोषण पाठशालाको प्रारम्भिक छलफलमा स्थानीय कृषक, विद्यालय प्रतिनिधि तथा सरोकारवालाहरुले रैथाने कृषि उत्पादनको पोषण शिक्षा र बजार व्यवस्थासम्मको ज्ञान दिलाउने उद्देश्य राखिएको पाठशालाकी सहजकर्ता रञ्जु श्रेष्ठले जनाएकी छन् । विश्व खाद्य कार्यक्रमको लगानीमा संचालनमा आएको यो कार्यक्रमले नाफा परियोजनाको कार्यक्षेत्रका पालिकाहरुमा संचालन गर्ने तयारी अनूरुप एक पालिका चार कार्यक्रमका दरमा पोषण पाठशाला संचालन हुने नाफा परियोजना संयोजक बालकृष्ण अधिकारलिे जनाएका छन् । अधिकारीका अनुसार कास्कीमा पोखरा, अन्नपुर्ण र मादी गाउँपालिकामा संचालन हुने छ ।
पोषण पाठशालाको कार्यपात्रो अनुसार प्रत्येक १५ दिनको अन्तरालमा सिजनल बाली उत्पादनसम्बन्धी सिकाइ, बीउ तथा बिरुवा वितरण गरिनेछ । कृषकले नयाँ प्रविधि, जलवायु अनुसारको बाली छनोट र खेत व्यवस्थापनबारे पनि तालिम पाउनेछन् ।
पाठशालाले केवल कृषि उत्पादन मात्र नभई स्वास्थ्य र पोषणबारे जानकारी दिने तथा विद्यालय खाजा कार्यक्रमसँग पनि यसलाई जोड्ने योजना राखेको जनाइएको छ । स्थानीय विद्यालयहरूसँग सहकार्य गरी कृषकले उत्पादन गरेको तरकारी, अन्न र फलफूल विद्यालय खाजामा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ ।
पाठशालाको सञ्जालमा जोडिएका किसानहरुले रैथाने उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणमा सहजिकरण गर्न उत्पादनको बजार प्रवाह, सहकारीमार्फत बिक्री र साझेदारी मोडलमा जाने तयारी गरिएको जनाइएको छ ।
कतिपय कृषकले आफ्नो उत्पादन गरेको तरकारी प्रायः घरमै खपत हुने बजारसम्म पु¥याउन समस्या रहने अवस्थाको बारेमा सहजिकरणको अपेक्षा गरेका छन् । पोखरा महानगरमा सञ्चालनमा रहेको कृषि एम्वुलेन्स सेवा जस्तै कृषि उपज बजारिकरणमा टेवा पुर्याउन पालिकास्तरमा बजार पहुँचको किसानले अपेक्षा गरेका छन् ।
कृषकलाई पोषण र बजारसँग जोड्न सकियो भने यसले रैथाने स्तरमा नै आयवृद्धि र पोषण सुरक्षामा दीर्घकालीन योगदान पुर्याउँने अपेक्षा राखिएको नाफा परियोजनाका सहजकर्ताले जनाएका छन् ।पाठशालाको पहिलो वर्ष सिकाइ र अभ्यासमा केन्द्रित हुनेछ भने एक वर्षपछि यसलाई व्यावसायिक उत्पादन र साझेदारीमा आधारित मोडलतर्फ लैजाने लक्ष्य राखिएको जनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले पोषण पाठशाला सञ्चालन कार्यविधि, २०७७ नै जारी गरेर पोषण सुधार र संवेदनशील समूहहरूको खानपान सुधारमा लक्षित गर्ने रणनीति अगाडीसारेको जनाएको छ । कार्यविधिले पोषण पाठशाला सञ्चालनका लागि आवश्यक नियम, प्रक्रिया र उद्देश्यहरू स्पष्ट पार्दै संवेदनशील समूहका गर्भवती, सुत्केरी, किशोरी, प्रजनन उमेरका महिला र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेको जनाएको छ । यसमा खाद्य असुरक्षित, दलित, महिला, आदिवासी, पिछडिएका र विस्थापित समुदायलाई प्राथमिकतामा राखिएको पनि जनाइएको छ ।
पोषण पाशालाको कार्यविधि अनुसार आमा समूह र पोषण समुह मार्फत समुदायस्तरमा पोषण सिकाइ र सीप व्यापक रूपमा फैलाउने व्यवस्था गरिएको छ । पाठशालाको प्रभावकारी कार्यान्वयनका लागि मासिक, चौमासिक र वार्षिक अनुगमन प्रणाली रहन भने सहजकर्ताले नियमित प्रगति प्रतिवेदन गर्ने कार्यपात्रो बनाइएको छ । दिगो र प्रभावकारी संचालनका लागि कार्यप्रगतिका आधारमा पोषण सहजकर्ताको भुक्तानी बैंक खातामार्फत गरिनेछ ।
पोषण पाठशालाले ४ रोपनीभन्दा कम जग्गा भएका, आर्थिक रूपमा विपन्न तथा फलफूल बगैँचा स्थापना कार्यक्रममा नपरेका किसानलाई लक्षित गरेको छ । यसमार्फत करिब १०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । गर्भवती, सुत्केरी, दुई वर्षमुनिका बच्चा भएको परिवार, दलित, जनजाति, वञ्चित तथा अपाङ्गता भएका परिवारलाई विशेष प्राथमिकता दिइने यो पाठशाला प्रत्येक स्थानीय तहमा ४ वटा पोषण पाठशालाका दरमा सञ्चालन हुँदा हरेक समूहमा २० देखि ३० सदस्यीय समूह गठन हुने जनाइएको छ । यस्ता समुहमा ६० प्रतिशत महिला र ३० प्रतिशत वञ्चित समुदायको अनिवार्य सहभागिता हुनु पर्ने प्रावधान राखिएको छ ।
विगतमा संचालन हुँदै आएको कृषक पाठशालाको मोडलमा आधारित भएर पोषण पाठशालामा सहभागिले देखेर विश्वास गर्ने, गरेर सिक्ने मोडल मा सहभागी हुनेछन् । किसानले सिकाइस्थल बारीमै तरकारी तथा पोषणयुक्त बालीः कोदो, फापर, जौ, उवा आदि, उत्पादन गर्ने सीप सिक्ने अवसरका लागि हरेक १५–२१ दिनमा समूह भेला भएर अनुभव आदान–प्रदान गर्नेछन् ।
पाठशाला सँगै सहभागीलाई निःशल््क बीउ–विजन वितरण गर्ने, च्याउ खेती तालिम र प्रदर्शनी गर्ने, पोषिलो परिकार प्रदर्शनी गर्ने, आमा–बच्चाको स्वास्थ्य परीक्षण तथा घरभेट कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । पाठशालाले ग्रामीण किसानलाई पोषणमैत्री खेतीतर्फ आकर्षित गर्दै खाद्य तथा पोषण सुरक्षा सुधारमा दीर्घकालीन योगदान गर्ने विश्वास लिइएको छ ।