कुलराज चालिसे, पोखरा
पौराणिक चक्रवर्ती राजा भरतले मात्र होइन महाभारतका प्रमुख पात्रहरु सवैले जीवनको उत्तराद्र्धमा मुक्तिक्षेत्रको वास रोजे । उनिहरु सशरीर मुक्तिक्षेत्रमा आएका थिए भनिन्छ । उनिहरु महापुरुष मध्यका थिए, योग अभ्यासको सहारामा गर्मीमा अग्निताप र चिसोमा शिततापको अभ्यास गरेर शरीरलाई वातानुकुलित बनाएका थिए । त्यसैले आउन सकेका होलान् । त्यो मार्ग सवैको निमित्त सुगम हुदैन । त्यसैले विकल्प पनि खोज्नुपर्छ । शास्त्रको शुक्ष्म अध्ययन गर्ने हो भने अन्य साधारण आत्माको निमित्त अग्नियान र जलयान नै देशाटन गर्ने सवारी साधन भएको अनुमान गर्न सकिन्छ । त्यस्मा पनि जलयान प्रमुख साधन हुनुपर्छ । अग्नियानको प्रणेता ऋषि विश्वामित्र र जलयानको प्रणेता ऋषि वसिष्ठ भनेर यस अगाडी नै चर्चा गरेका थियौ । अग्निको स्रोत सूर्यनारायण हुन्, जस्ले सृष्टि गर्ने र मिति पुगे पछि भष्म गर्ने दुवै काम गर्छन् । सूर्यको सृष्टि गर्ने क्षमतालाई जीवजगतमा प्रकट गर्ने कार्य पानीको हो । त्यो पानी सूर्यको प्रेरणामा स्वर्ग, मत्र्य र पाताललोकमा नित्य परिक्रमा गरिरहन्छ ।
त्यस भ्रमणमा पानीको जीवनपयोगी गुणस्तर परिवर्तन भैरहन्छ । त्यस्तो गुणस्तर उचाई अनुसार फरक हुन्छ । ध्रुवप्रदेशको पानी गुणस्तरको शिखरमा हुन्छ । तर त्याहाँ दिनमान र रात्रीमान सामान्य जीवको निमित्त अनुकुल हुँदैन । छ महिनाको दिन र रात कुम्भकर्णादि असुरको निमित्त मात्र अनुकुल हुन्छ । चौविसघण्टाको दिनरातमा ध्रुवप्रदेशको गुणस्तरमा जीवनयोपगी पानीको चक्र नियमित गर्न ब्रह्मले हिमालको रचना गर्नुभयो । बाह्रघण्टा आसपासको अन्तरालमा दिनमान रहने र वायुमण्डलमा शुद्ध भएको गुणस्तरीय ताजापानीको कारणले हिमालक्षेत्र औषधि गुणस्तरका जैविक विविधताको भण्डार बन्न गएको छ । जैविक विविधताको भण्डार भन्नु पवित्र आत्माहरुले जलकणमा यात्रा गरेर हिमालमा पून शरीर धारण गर्छन् भनेको हो । कारण अन्नको अन्तिम उपादयता सन्तानको निरन्तरता नै हो । अन्नले शरीर बन्छ, त्यसैमा आत्माले बास गर्छ । त्यसैले देवताले मात्र होइन शक्ति प्राप्त गर्न महावीर दैत्यहरुले पनि तपस्याको निमित्त हिमाललाई नै रोजे । हिमालयको कुन खण्ड उनिहरुको प्राथमिकतामा पर्याे भन्ने वादविवाद भै रहन्छ । हामी हिमालयमा सीमारेखा कोर्ने विवादमा पस्दैनौ । धर्म नमान्ने चिनमा कैलाश र मानसरोवर छ भनेर अर्काे कैलाश र मानसरोवर खडा गर्ने पक्षमा हामी छैनौ । जहाँसम्म शालिग्रामशिला उपलब्ध हुन्छ, त्यो स्थान पवित्रताको शिखरमा हुन्छ भन्ने विश्वास हामीलाई छ । सामुन्द्रिक वज्रकीट हिमाल चढेर शालिग्राम बनेर पूजीए । यो एक प्रकारले आत्माको देशाटन हो, देशाटन पश्चात हिमवतखण्डमा मुक्तिको उदाहरण हो ।
शालिग्रामलाई भगवान विष्णुको अर्चावतार भन्ने मत दह्रो छ । तर एउटै भगवानले एकै नदीमा त्यति धेरै संख्यामा अवतार किन लिनुभयो भन्ने प्रश्नलाई त्यो तर्कले सम्बोधन गर्न सक्दैन । मुक्तिक्षेत्रका यावत जीवहरुमा चक्रचिन्ह अंकित हुन्छन् भन्ने शास्त्र वचनलाई मनन गर्ने हो भने शालिग्रामलाई मुक्त आत्माले त्याग गरेको जीवाशेष पनि भन्न सकिन्छ । हाम्रो वहस शालिग्रामको अर्चावतार प्रकरण सिद्ध गर्न भन्दा जीवनमुक्तिको निमित्त सवैभन्दा उत्तम भौमतीर्थ मुक्तिक्षेत्र हो भन्ने तर्क शास्त्र वचनबाट प्रमाणित गर्नु रहेको छ ।
आत्माले जलयानको सवारीमा हिमालसम्म पुगे पछि सकेसम्म फर्कन चाँहदैन । हिउँमा जमेर केहि समय अडकीय पनि हिउँ पग्लिदा वगीहाल्छन् । चरा, कीरा, जनावर वा वनश्पती जे भएपनि शरीर धारण गर्न पाएनन् भने पूर्वजन्मको पूण्यकार्यले बल्लबल्ल मुक्तिक्षेत्र पुगेको आत्मा पानी संगै सागर जान बाध्य हुन्छन् । त्यो आत्माको निमित्त दुःखको क्षण हुन्छ । जलयानमा यात्रा गरेको आत्माले शरीर धारण गर्न अन्नमा प्रवेश गर्नुपर्छ । हिमालमा पुगेको पानी अन्नमा प्रवेश नगरी पून समुन्द्रमा पुग्नु यस मानेमा पाप हो । हिमालीपानीलाई अन्नमा परिणत गर्नु अत्यन्त पूण्यको काम हो । “न कञ्चन वसतौ प्रत्याचक्षीत” तैत्तिरीयोपनिषद्, भृगुवल्ली, दशौं अनुवाकमा उल्लेखित यो मन्त्रले वास बस्न आएका आत्मालाई नफर्काउने उपदेश दिएको छ । आधुनिक यातायातको सुविधा उपयोग गरेर सशरीर हिमालमा आएका आत्मा वास बसे पनि त्यस्तो वास क्षणिक हुन्छ । उपनिषद्को मन्त्र क्षणिक वासको निमित्त होइन । दिर्घकालिन वास आत्माले अन्नमा प्रवेश गरेर शरीरमा रुपान्तरण भएपछि मात्र हुन्छ । अर्थात पर्यटकीय देशाटनले जीवनमुक्तिको निमित्त प्रेरणा मात्र दिन्छ, मुक्त हुन त मुक्तिक्षेत्रको अन्न रजवीर्यमा परिणत भएर पून शरीर धारण गर्ने पर्छ । कयादुले नारदको अन्न खाएर प्रह्लादलाई जन्म दिनु र सीताआमाले वाल्मिकी आश्रमको अन्न खाएर लवकुशको जन्म दिनु यो कथनको राम्रो दृष्टान्त हुन् । अर्काे दृष्टान्त चक्रवर्ती राजा भरतले जडभरतको जन्मसिद्ध शरीर धारण गरेर मुक्ति पाएकोलाई लिन सकिन्छ ।
हिमवतखण्ड गृहस्थहरुको वास्तविक आवासक्षेत्र होइन । भेडा गोठालाको पनि होइन । हाम्रा पुर्खाहरु घरबार जिम्मा लगाएर वानप्रस्थ आश्रमको खोजिमा तथा भेडालाई चरन खोज्दै यता आएका हुन् । उनिहरुको भोग नसकीएकोले फेरी घरजाम हुँदा हामी जन्मिन पुग्यौ । त्यसैले हामी जोग्गिन नसकेका जोगी तथा गोठालाका सन्तान हौ । गोठाला र जोगीका सन्तान आपसमा मिलेर बस्यौ, नयाँ सस्कृतिको विकास गर्याै । त्यसमाथी भारतमा शासन गर्न आइपुगेका मुगलको अत्याचारबाट शास्त्रका पाण्डुलिपि जोगाउन समथरको वनजंगल छिचोलेर पहाड उक्लिएका गृहस्थ सन्त महन्तको सन्तान थपियो । उनलाई पनि शरण दियौं । हामी मध्य धेरै तिनैका सन्तान हौं । मंगोलीया देखि भेडिगोठ सार्दै आएकाहरुसंग प्राकृत धर्मको व्यवहारिक ज्ञान थियो । शास्त्र वचनलाई उनिहरुले अपनाएको जीवन सस्कृतिसंग समन्वय गरेर आर्य पुर्खाहरुले भागिरथीको मैदानमा अपनाईएको सस्कृतिलाई विशिष्टकृत गरे । हामी तिनै पुर्खाका सन्तान हौ । त्यसैले हाम्रो अन्न चयन र उत्पादन पद्धत्ति देहशुद्धिको निमित्त विशिष्ट छ । यस्ले संचितकर्मको नास गरेर क्रमशः मुक्तिको मार्गमा सहजीकरण गर्छ । यस्को निमित्त तीर्थाटन मात्र प्रयाप्त हुदैन, शरीरको कोष कोषमा विस्तारित वंशाणुगत गुणको शुद्धिकरण आवस्यक हुन्छ । भौमतीर्थको दृष्टिले हाम्रो भूमि ठिक छ तर जंगमतीर्थको गुणस्तर हामीले कायम गर्न सकेका छैनौ । यस मानेमा हामी जोग्गिन नसकेका जोगीका सन्तान हौ । हामीसंग जीवनमुक्तिको अवसर छ तर त्यसलाई सदुपयोग गर्न सकेका छैनौ । हामीले मुक्तिक्षेत्रको गन्तव्य त्याग गरेर भागिरथी मैदानलाई लक्ष बनाएर जीवन सस्कृति रुपान्तरण गर्दैछौ, श्रीमुक्तिनाथमा प्रदर्शन हुने समन्वयात्मक अभ्यासको अन्तर्य चटक्कै विर्सन लागेका छौ ।
मुक्ति, मुक्ति मुक्ति ः आध्यात्मिक प्रवचनमा धर्मगुरुहरुले सुनाउने सार सन्देश यही हो । सामान्य टाउको दुख्दा पनि अस्पतालमा उपचार गर्न जाने भक्तजन पनि गुरुको उपदेश सुनेर मुक्तिको कुरा गर्छन । जायज नाजायज जसरी पनि धन संग्रह गर्न तल्लिन मनुवा पनि गुरुको चरणमा भेटी अर्पण गरेर मुक्तिको कामना गर्छन् । मुक्ति भनेको के हो र कसरी प्राप्त हुन्छ भनेर नजान्नेले पनि मुक्तिको राग अलापेर मुक्तिक्षेत्रको तीर्थयात्रा गर्छन् । कागवेनीमा श्राद्ध गर्दैमा र १०८ धारामा स्नान गरेर मुक्तिनाथको दर्शन गर्दैमा कसैको मुक्ति हुने त होइन ।
यस सन्दर्भमा चक्रवर्ती राजा भरतको दृष्टान्त यस अगाडिनै चर्चा गरेका छौ । मुक्तिक्षेत्र बाहिरका तीर्थयात्रीले वर्तमान शरीर त्याग गरेर यहीको पानीमा उब्जेको सीताबाट देहको विकास गरेर सम्पन्न हुने कर्मले मात्र मुक्तिको मार्ग प्रसस्त गर्ने हो भन्ने नबुझेसम्म मुक्तिको मार्ग पहिल्याउन सकिदैन । मुक्तिक्षेत्रको पानी अन्नमा रुपान्तरण भएपछि त्यै अन्नको सहारामा बनेको शरीरले कर्म गर्दा मुक्तिको ढोका खुल्ने हो । यस्को अर्थ मुक्तिक्षेत्रको अन्नले बाहिरका श्रद्धालुलाई निमन्त्रणा दिएर अर्काे जन्ममा त्यो आत्माले मुक्तिक्षेत्रका आमाको गर्भबाट शरीर धारण गरेपछि मात्र मुक्तिको प्रकृया सुरु हुने हो ।
अर्काे शब्दमा भन्ने हो भने मुक्तिक्षेत्रको हरेक जलविन्द सजिव हुन्छन् र उक्त जलयानबाट आत्माले मुक्तिक्षेत्रमा शरीर धारण गर्ने हुन् । त्यस्तो शरीर मानव देहको नै हुनुपर्छ भन्ने हुँदैन कीरा, पुतली, चरा वा पशु जस्को देह भएपनि चक्रवर्ती भरतले जस्तै पूर्वजन्मको चेष्टा आएर मुक्तिको मार्गमा हिडने हो । भागवत्मा उल्लेखित भरतको आत्माले तीनवटा शरीर धारण गरेको दृष्टान्त याहाँ भुल्न मिल्दैन । पहिलो चरणमा मुक्तिक्षेत्रको सजिवपानीमा उब्जेको अन्नबाट मुक्तिको चाहना जगाउने र दोस्रो चरणमा यहीको अन्नपानीले पूर्णपोषित भएको देहले मुक्तिको निमित्त कर्म गरेमा आत्मोद्धारको सम्भावना हुन्छ ।
मुक्तिक्षेत्रले मुक्तिकामी आत्मालाई निमन्त्रणा तथा वास दिन कञ्जुस्याई गर्न हुँदैन । त्यसको निमित्त मुक्तिक्षेत्रमा वर्षा हुने हरेक थोपा सजिवजललाई अन्नमा रुपान्तरण गरे पुग्छ । त्यही नै धर्म हो । त्यही नै कर्म हो ।