कुलराज चालिसे , पोखरा ।
कैलाश उद्गम भइ दक्षिण वाहिनी वग्ने अलकनन्दा भागिरथीको शिर हुन् । पूराण प्रमाण यही हो । कैलाश र मानसरोवरको पहिचानमा कुनै दुविधा छैन । पश्चिम तिव्वत स्थित यो आस्थाको केन्द्र चिनियाको निमित्त भन्दा भारतीयको निमित्त महत्त्वपूर्ण छ । भागिरथी अवतरणको सन्दर्भमा उल्लेखित पवित्र नदी यिनै हुन् । नेपालको दुर्गम जिल्ला हुम्लाबाट नेपाल प्रवेश गर्ने यो नदी कर्णालीको प्रधान नदी हो । अयोध्यामा सरयुको नामले र तत् पश्चात घाघ्राको नामले परिचय पाएको यो नदी रामायण वर्णित पवित्र नदी हो ।
अयोध्यामा पवित्रताको शिखर मानीएको सरयुको शिर अववित्र हुनै सक्दैन । तर आप्mनो आश्रमको महत्त्व बढाउन र तात्कालिन अवस्थामा कैलाश र अलकनन्दाको समानान्तर उद्गम स्थापित गर्न कर्णालीको आध्यात्मिक महत्त्व घटाउन आवस्यक भए अनुरूप कर्णालीलाई राक्षस ताल उद्गम भएको र अपवित्र तथा अलक्षिनको कारण भएको कुत्सित प्रचार भारतीय कथावाचकबाट गरीएको थियो ।
हामी अहिलेसम्म त्यसैको भ्रमजालमा छौ । त्यसैको कारणले गर्दा कर्णाली प्रस्रवण अहिलेसम्म तीर्थस्थल बन्न सकेको छैन । कर्णालीलाई राक्षसतालको निकाश भएको प्रचार गरे जस्तै श्रीकृष्णागण्डकीलाई काली वेस्याको उपमा दिने दन्त्यकथा नभएको पनि होइन । शालिग्रामी श्रीकृष्णागण्डकीको नाम स्थानीय जनजिब्रोमा कालीगण्डकी बनाउने प्रयासमा शास्त्रको भन्दा त्यै लोककथाको विस्तार गरीएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भैसक्नुभएका प्राज्ञ तुलसी दिवसले संकलन गर्नुभएको लोककथाको संग्रहलाई प्रज्ञा प्रतिष्ठानले २०३२ मा नै प्रकाशन गर्दा एक नम्बरमा नै काली वेश्या र कालीखोला शिर्षकमा प्रकाशन गरेको कथाले त्यही संकेत गरेको छ । पाल्पाबाट संकलित उक्त कथालाई कुनै पुराण तथा उपनिषत्ले उल्लेख गरेका छैनन् । काली वेश्याको कथा फगत दन्त्यकथा मात्र हो । काली वेश्याको भ्रम चिर्न वराहपुराणको सहारामा काशीराम कश्यपले सत्रौ शताब्दिमा नै गण्डकी माहात्म्यको रचना गर्नुभयो । योगी नरहरिनाथले हिमवत खण्डको संकलन गर्नुभयो । तैपनि हामी श्रीकृष्णागण्डकीलाई कालीगण्डकीको नामले पुकार गरेर त्यै काली वेश्याको लोककथालाई सघन मान्यता दिदै छौ । सरकारी कामकाज, दस्तावेज तथा पाठ्यक्रममा कृष्णागण्डकी भन्दा कालीगण्डकी नामलाई प्रचलनमा ल्याउदा देवी मान्यताको श्रीकृष्णागण्डकी भन्दा काली वेश्याको पहिचान सघन हुँदै गएको छ ।
पुराणहरूमा श्रीहरिको अर्चावतार विग्रह मानीएका शालिग्रामको पहिचान स्थापित नभएको भए भारतीय सन्तले श्रीकृष्णागण्डकीको पहिचान समेत कर्णालीको जस्तै बनाउने थिए । भारतवर्षका अन्य नदीको गर्भमा मुक्तिक्षेत्रको जस्तै गुणस्तरीय शालिग्राम प्रयाप्त पाउने भएको भएमा पनि कृष्णागण्डकीको पहिचान लोप भइसक्थ्यो । सौभाग्यले पुराण वर्णित, दामोदर हिमाल उद्गम भएका शालिग्रामी पहिचान सहितको नदीमा कृष्णागण्डकी मात्रै भएकोले लोककथाको माध्यमबाट हुने सुनियोजित प्रहार सफल हुनसकेका छैनन् । किनभने आआप्mनो आश्रम र गुरु केन्द्रित कथावाचकहरूले शालिग्रामको विरुद्ध प्रचार गरेमा आफै पनि समाजबाट तिरस्कृत हुने तर्कमा उनिहरू सचेत छन् । तैपनी उनिहरू वेश्यालाई पनि उद्धार गर्न सक्ने शक्ति केवल शालिग्राममा मात्र रहेको व्याख्या गरेर शालिग्रामी नदी र शालिग्रामको पहिचान अलग अलग गर्ने असफल प्रयास गरेका हुन्छन् ।
आधुनिक बजारशास्त्रले कुनैपनि उत्पादनको वस्तुगत र स्थानगत महत्त्वलाई भिन्दाभिन्दै विवेचना गरेको हुन्छ । स्थानगत महत्त्वलाई मनलाग्दी स्थानान्तरण गर्न सकिदैन । त्यस्तो महत्त्व उपभोगको निमित्त उपभोक्ता स्वयं नै त्यस स्थानमा जान बाध्य हुनुपर्छ । तर वस्तुगत महत्त्वलाई स्थानान्तरण गर्न सकिन्छ । आजको दिनमा पशुपतीनाथको मन्दिर अमेरिकामा पनि बनाईएको छ । काठमाण्डौको वागमती किनारमा अवस्थित श्रीपशुपतिको स्मरण गराउन अन्यत्र निर्माण गरिने पशुपतिनाथले योगदान दिन सक्छन् तर वागमती किनारको पशुपतिको स्थान तिनिहरूले कहिल्यै लिन सक्दैनन् । मुक्तिनाथको मूर्ति लगेर वद्रिनाथमा स्थापित गर्दा र मुक्तिनाथमा धातुबाट निर्मित मूर्ति राख्दा पनि वद्रिनाथको शालिग्रामी पहिचान स्थापित भएन वा मुक्तिनाथको शालिग्रामी पहिचानमा ह्रास आएन । वनारसको भागिरथी किनारमा पशुपतिनाथको मन्दिर बनाएर प्रचार गर्दा पनि काठमाण्डौको पशुपतिनाथको महिमा मेटाउन सकेनन् । वस्तु महत्त्व र स्थान महत्त्वको पहिचान गर्न उक्त दुई उदाहरण प्रयाप्त छन् । भारतीय प्रकाशकले स्कन्दपुराणमा हिमवतखण्ड हटाउदैमा हिमवतखण्डको पहिचान लोप हुन सक्दैन । हिमवतखण्ड रहिञ्जेल वैष्णवी श्रीकृष्णा र शाम्भवी त्रिशुलीको अस्तित्त्व लोप हुन सक्दैन । भागिरथीको गुणस्तर यस्तै गतिले ह्रास हुदै जाने हो भने नेपालका देवनदीहरू पवित्रताको शिखरमा अझै चुलिदै जान्छन् । भारतीय कथावाचकले प्रयास गर्दैमा यिनको पवित्रतामा ह्रास आउँदैन ।
बजार अर्थशास्त्रमा आस्थाको पनि मूल्य हुन्छ । त्यस्तो आस्थालाई मूल्य शृङ्खलामा रणनीतिक उपयोग गर्न सकिन्छ । त्यसै उद्देश्यमा हामीले सीतायन वहस चलाएका थियौं । हामीले मिथिला प्रदेशमा केन्द्रित सीताआमाको महत्त्व हिमाल प्रदेशमा विस्तार गर्न सीताआमाको पूर्वरूप वेदवतीको चर्चा गरेका थियौ । हामी त्यत्तिमा सिमित रहेका थिएनौ । सीताआमालाई कालीआमामा चित्रण गरेका थियौ । हामीले चर्चा गरेको कालीआमा प्राज्ञ तुलसी दिवसले संकलन गरेको काली वेश्याको लोककथा नभएर देवादिदेव श्रीमहादेवको आध्यशक्तिको दृष्टान्त वेद, उपनिषत् र पुराणको आधारमा गरेका थियौ । हामीले सम्वोधन गरेको कालीगण्डकीमा माहाकालीको स्वरूप देखेका थियौं । धवलेश्वर श्रीमहादेव र अन्नपूर्णादेवीको भिक्षा आदान प्रदानको दृष्टान्तमा श्रीकृष्णागण्डकीको चोखोपानीलाई मन्दिरमा चढाउने अक्षतामा स्थानान्तरण गर्न खोजेका थियौं । त्यसमा पनि वेद, उपनिषत् तथा पुराणको सहारा लिएका थियौ । हाम्रा यावत प्रयास सीताआमाको छवि श्रीकृष्णागण्डकी प्रस्रवणमा वर्षा हुने उच्च गुणस्तरको चोखोपानीलाई शालिग्रामको पहिचान सहित अक्षता मूल्यमा स्थानान्तरण गर्ने रहेको थियो । भारतमा सीताआमालाई आस्था गर्ने एक अरव हिन्दुले प्रतिदिन एक ग्राम अक्षता चढाउदा पनि एक दिनमा १००० टन चामल अक्षतामा खपत हुन्छ । त्यस्को एक प्रतिशत मात्र बजार हिस्सा गण्डकी प्रस्रवणले लिन सकेमा मात्र पनि प्रतिदिन १० टन अक्षता निर्यात हुनसक्छ । १० टन अक्षताले प्राप्त गर्ने मूल्यले ३० टन चामल आयात गर्न सकिन्छ । भारतका सवै हिन्दुले प्रतिदिन अक्षता चढाउदैनन् भन्ने तर्क गर्न सकिन्छ ।
हामीले औसत एक ग्रामको हिसाव गर्दा पूजा, श्राद्ध तथा मन्दिरहरूमा दैनिक भोग लगाउने किलो का किलो चामललाई पनि एकग्राममा हिसाव लगायौं । क्रयशक्ति भएका परिवारले गर्भवती बुहारीबाट असल संस्कारका सन्तान जन्माउन अक्षता गुणस्तरको अन्नप्रास गराउन सक्छन् भन्ने मान्यतालाई सम्भावनाको विश्लेषण गर्ने आधारमा लिएका थियौ । गण्डकीप्रदेश सरकारले चाहेमा बजार प्रवर्धनमा धेरथोर लगानी गरेर त्यो बजार हिस्सामा कब्जा गर्न सक्छ । त्यस्को निमित्त श्रीकृष्णागण्डकीको चोखोपानीमा उठने यावत जिज्ञासाको समाधान गर्नुृपर्छ । त्यस मानेमा श्रीकृष्णागण्डकीलाई महाकाली भगवतीको द्रवरूप स्थापित गर्न भन्दा काली वेश्याको पहिचान प्रसार गर्ने कार्य भएमा माथी उल्लेखित बजार लाभ लिन सकिदैन । भारतबाट प्रसारण हुने साधना टिभिले १६ अगस्त, २०२१ मा कथावाचक अनिरुद्धाचार्यको प्रवचनमा गण्डकीको पहिचान दिदा काली वेश्याको लोककथालाई आधार बनाउदा हामीलाई चित्त दुखेर आयो । आप्mनै सरकारी स्वामित्वको प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको प्राज्ञको संकलनमा नै प्रथम स्थान प्राप्त गरेको लोककथालाई बढाई चढाई गरेर भारतीय कथावाचकले प्रसारण गर्दा विरोध गर्ने आधार पनि नहुने रहेछ ।
“दर्शनात्स्पर्शनात्पानात्तथा गंङ्गेति कीर्तनात्” भन्ने वृहन्नारदीय पुराणको उद्गारलाई विकृत गरेर साहित्यिक रङ्ग समेत घोलेर “गण्डक्या गमनम् पूण्यम्, दर्शनम् पाप नाशनम् । आलिंङ्गनम् महापूण्यम्, चुम्वनम् मोक्षदायकम ।।” पनि भन्ने प्रयास साहित्यकारबाट भएको पनि छ । गण्डकीमा गमनम्, आलिंङ्गनम्, चुम्बनम् जस्ता शब्द प्रयोग गरेर काली वेश्याको लोककथालाई संस्कृत शब्द प्रयोग गरेर विश्वासीलो बनाउने प्रयास भएका छन् । हामीले त्यही भावलाई वृहन्नारदीय पुराणको कोशौ दुरीबाट गण्डकीको नाम संकीर्तन गर्दा पनि पूण्यलाभ हुन्छ भने दर्शन, मार्जन, स्पर्श तथा स्नानको पूण्य सन्दर्भभा बखान गरेरै नसकिने तर्क अगाडी सार्नुपर्छ । आदि शंकराचार्यले श्रीकृष्णागण्डकी उपर रचना गर्नु भएको श्लोकलाई विस्तार गरेमा कथावाचकले सम्प्रेषण गर्ने भ्रमपूर्ण प्रवचनलाई मित्थ्या सावित गर्न सकिन्छ । सरकारले चाहेमा श्रीकृष्णागण्डकी हरेक थोपा चोखोपानीलाई उच्च महत्त्व स्थापित गरेर अक्षतामा स्थानान्तरण गरेर व्यापारिक लाभ लिन सकिन्छ ।