प्रादेशिक रुपमा कृषि–पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने भन्दै गण्डकी प्रदेश सरकारले घरबास पर्यटनका लागि सयौं इकाइमा अनुदान बाँडेर प्रचार गरेपनि दिगो पर्यटनका पाइलाहरु विस्तार हुन नसकेका, बरु स्थानीय प्रयासका पाइलाहरु जिन–तिन धानिएका छन् । कृषि र ग्रामीण पर्यटनलाई एकीकृतरुपमा संचालन गर्ने प्रादेशिक कृषि नीति भएपनि सरकारी समन्वय शिथिलताका कारण कुनै उपलब्धि मापन हुन नसके पनि स्थानीय कृषि उद्यमीहरुको पहलमा केही नमुना कृषि पर्यटनका प्रयासहरु देखिन थालेका छन् । यस्तै प्रयास मध्ये पोखराको ग्रामीण बस्ती झिझिर्कामा कृषि उद्यमी मीना गुरुङ्गको एकीकृतकृषि उद्यम रोलमोडल पाठशाला बन्ने जमर्को गरिरहेको छ ।
पोखराको २५ औ वडामा पर्ने झिझिर्का हेम्जा निकटको ग्रामीण बस्ती हो । खानेपानी र अन्य आधारभूत सुविधाको अभावका कारण कुनैबेला पोखराको कर्णाली क्षेत्र भनेर उपमा दिइने गरेको झिझिर्कामा धम्पुस जाने ग्रामीण सडकले छोए पनि खानेपानीको दिगो श्रोत व्यवस्थापन हुन नसक्नाले रैथाने ग्रामीणजनमा बसाइँसराइको चाप बढिरहेको छ ।
करिब ४३ घरधुरी रहेको झिझिर्कामा हाल २२ घरधुरी बाँकी छन् । रैथानेहरुले गाउँ छोड्नमा खेतिबारीमा बाँदर र अन्य जंगली जनावरको चाप बढनाले बल पुर्याएको छ । खेति जोगाउन नसकेका कारण सानो जागिर पेशाका आधारमा पोखरा र विदेशमा सन्तान पुगेका परिवारहरु गाउँ छाडेर शहरी क्षेत्रमा बसाइँ सर्न थालेपछि गाँउका घरका दैलाहरुमा भोटेताल्चा झुण्डिन थालेका छन् ।
वरपर सामुदायिक वनले घेरेको र रैथानेहरुले गाउँ शून्य पार्न थालेको झिझिर्कामा २८ रोपनि जग्गा किनेर मीना गुरुङ्गले चार वर्षदेखि कृषि—पर्यटनलाई टेवा दिनेगरि नमुना कृषि उद्यम सञ्चालन गर्दै आएकी छन् ।
कास्कीकै थाक गाउँमा २०२३ सालमा जन्मेकी मीना पोखराका प्राङ्गारिक कृषि उत्पादकहरुको समूहकी संयोजक पनि हुन् । कुनैबेला कृषि आधुनिकीकरण परियोजनामा किसान प्रतिनिधि समेत रहेकी मीना प्राङ्गारिक उन्मुख कृषिका माध्यमबाट माटो, जीव र जगतका हितका माध्यमबाटै दिगो कृषि गर्न सकिने भन्दै पोखरा क्षेत्रमा सिताके च्याउ उत्पादन, गड्यौली मल उत्पादन, सानन जातका बाख्राको दुध उत्पादनबाट चिज उत्पादनमा प्रयोगात्मक अनुसन्धान, तालिम सहजिकरण र प्राङ्गारिक कृषि बजारिकरण गर्दै आइरहेकी छन् ।
विद्यालय शिक्षाका बेला पर्यटन गाइडको विषयमा रुचि र प्रशिक्षित मीना लामोसमय जापानमा रहेर कृषि उत्पादनमा अनुभव प्राप्त व्यक्तित्व हुन् । पोखराको शनिबारे किसानबजारमा नियमित आफना कृषि उपज बजारीकरणमा आउने गरेकी मीनाको कृषि फार्म अवलोकनका लागि आरसी टाइम्स व्युरोको टोलीले हालै उनको कृषि उद्यमको स्थालगत अवलोकन गर्ने जमर्को गर्दा हरेक वनस्पतिको वैज्ञानिक नाम र कृषिमा उसको अन्तरसम्बन्धका बारेमा खुलस्त वैज्ञानिक बार्ता गर्न सक्ने उनको खुबी प्रेरक देखिन्थ्यो ।
किसानका तहबाट कृषि अनुसन्धानात्मक तर्कहरु गर्न सक्ने क्षमताको कौशलका कारण उनलाई प्राङ्गारिक कृषि तालिम सहजकर्ताका रुपमा सेवा दिन गण्डकी प्रदेशका सरकारी तथा गैरसरकारी निकायहरुले नियमित निम्तो दिने गरेका छन् । कतिपय समूहहरु उनकै फार्ममा स्थलगत तालिमका लागि आवासीय रुपमा आउने पनि गरेका छन् ।
करिब ६ घण्टासम्मको अवलोकन पछि उनको उद्यमको विशिष्ट पहिचान के हो भनेर सोध्दा नेपाल सरकारका प्रविधिकहरु तयार नभएका विषय सिताके च्याउ, गड्यौली मल, प्राङ्गारिक कृषि अभ्यास केन्द्र र बाख्राको दुधको चिज उत्पदनका कारण आफनो पहिचान विशेष भएको उनको दावी छ । छलफलकै क्रममा ‘सानो तिनो भुइफुट्टा कृषि वैज्ञानिक बन्न पुगेको’ दावी गर्ने मीनाको कृषि अनुसन्धानात्मक लगनशीलता निकै प्रेरक देखिन्छ ।
रैथानेले गाउँ छोडदै जानथालेको बेलामा गाउँ आबाद गर्न भनेर बाँदर र मृग तथा बाघसँग संघर्ष गर्दै, पोषिलो जातको मकैको बीज वृद्धि, प्राङ्गारिक उन्मुख तरकारी खेति, भैसी पालन, वाख्रा पालन, चिज उत्पादन र सिताके च्याउ तथा अन्य सम्भाव्य कृषि उद्यमका बारेमा अनुसन्धानात्मक अभ्यास, उत्पादन र बजारिकरण गर्दै आइरहेकी छन् ।
पोखरामा अन्तरराष्ट्रिय विमानस्थल चालु भएपछि विदेशीलाई बाख्राको चिज बेच्ने सपना बुन्दै बसेको बताउने मीना वातावरणमैत्री खाद्य चेतना भएका उपभोक्ताको पर्खाइमा रहेकी छन् ।
आफ्नै संयुक्त परिवारको जनशक्तिबाट श्रम व्यवस्थापन गर्दै आएकी र स्थानीय विद्यालयका किशोरीहरुका लागि तालिम तथा आंशिक समयको रोजगार अवसर उपलव्ध गराउँदै आएकी मीनाले मासिक डेढलाखको खर्च लाग्ने गरेको बताएकी छन् । हालका दिनमा कमाइले लगानी धानेको बताउने मीना कृषि उत्पादनको बजारिकरण भन्दा अनुसन्धान र प्रविधिको बजारिकरणले लाभको आकार र समृद्धि विस्तार गर्नमा सघाउने विश्वास प्रकट गर्दछिन् ।