कुलराज चालिसे
दुर्गा भवानीको साधना भारतमा पनि भव्यरूपमा गरिन्छ । नवरात्री व्रतको अवधिमा अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले पानी मात्र पीएर फर्किनुभएको दृष्टान्तले भारतीयहरू शक्ति साधनामा कत्तिको सम्वेदनशिल हुन्छन् भन्ने संकेत गर्छ । नेपालमा दुर्गाको पूजा उनिहरूले भन्दा मौलिक तरिकाले गरिन्छ । बलि, जमरा, पिङ्ग र अक्षताले हाम्रो र उनिहरूको दुर्गापूजालाई भिन्न गरिदिन्छन् । हामी दशैंलाई प्रमुख चाड मान्छौ । छरिएका परिवार सदस्यहरू मूलघरमा जम्मा भएर यो पर्व मनाउछौ । सरकारले पनि यो पर्व मनाउन लामो विदा दिन्छ । शिक्षण संस्थाहरू लामो अवधि बन्द रहन्छन् । याहाँ सम्मकी पत्र पत्रिका प्रकाशनको कार्य पनि यो अवधिमा हुदैन ।
हामी यो पर्वलाई शक्ति साधना भन्दा धेरै मनोरञ्जनात्मक बनाउछौ । राज्य प्रशासन तथा सैन्यवललाई नेपाल एकीकरण गर्ने उद्देश्यले उत्प्रेरण गर्न राजगुरु गोरखनाथको परामर्शमा वडामहाराज पृथ्वीनारायण शाहको पालादेखि राजकीय विदा सहित कालीआमाको उपासनाको व्यवस्था मिलाईएको थियो । गुरु गोरखनाथ पशुबलिको समर्थक हुनुहुन्थ्यो कि थिएन भन्ने थाहा भएन । तर राज्यको शैनिकबलमा संलग्न मांसाहार सस्कृतिमा हुर्किएका पहाडी जनजातीलाई एकैचोटी साकाहारी सस्कृतिमा रूपान्तरण गर्न कठिन हुने भएकोले कालीसाधना सहित कोतघरमा हतियार पूजाको निमित्त पशुबलि दिने प्रचलन चलाईएको थियो । पञ्चबलिको नामबाट चिनिने यो साधनाले सैनिकलाई युद्धको निमित्त उत्प्रेरण गर्दथ्यो । जात र वर्ण अनुसारको कार्य विभाजन गरेर सवैलाई शक्ति उपाषना गर्ने समन्वयात्मक पर्वको रूपमा दशैं मनाउने नेपालको प्रचलन भारतमा गरिने शक्ति उपाषना भन्दा विशिष्ट प्रकृतिको छ । नेपालको दशैं सस्कृति दशानन रावण उपरको विजय भन्दा शुक्ष्म शतानन रावणको रक्तवीज उपर विजयमा लक्षित छ । नेपालको दशैंले लंकाको युद्ध भन्दा पुष्करद्विपको युद्धलाई स्मरण गरेको संकेत पूजा सस्कृतिमा बलि, जमरा, पिङ्ग र अक्षताल गरेका हुन्छन् । यस मानेमा नेपालको दशैं रामायण भन्दा सीतायणसंग नजिक हुन्छ । त्यसैले दशैं हाम्रो मौलिक र समन्वयात्मक पर्व हो । राष्ट्रिय विभूति सीताको स्मरणमा मनाइने यो राष्ट्रिय एकताको पर्व हो । उपरोक्त चार मौलिक सस्कृतिको अन्तर्य यस प्रकार रहेकाछन् ।
जमराः
वीउ भित्र सिंगो वृक्ष हुन्छ, तर त्यो वृक्ष सुसुप्त हुन्छ । सुसुप्ति अवधि पूरा गरेको वीउमा चोखोपानीको संगम हुँदा वृक्ष अंकुरण हुन सुरु गर्छ । अंकुरणको त्यो प्रकृया मानवदेहमा कुण्डलिनी जागरणको सिद्धान्तमा कार्यान्वयन हुन्छ । कायिक र आत्मिक शरीरको समन्वय गराउने कुण्डलिनी शक्ति जागृत गराउने सिद्धान्तमा घटस्थापना गरेर जमरा राखिन्छ । शिकारीयुगबाट गृहस्थ बन्दा मानिसले चिनेको पहिलो अन्न जौ हो । त्यै अन्नको अङ्कुरण प्रकृयालाई शुक्ष्मविश्लेषण गर्दा कुण्डलिनी जागरण र समाजविकासको साझासुत्र बुभ्mन सकिन्छ । जमराको आयुर्वेदिक महत्व पनि छ । विस्तार भयको कारणले याहा उल्लेख गरीएको छैन । घटस्थापना देखि फुलपातीसम्मको जमरामा दुर्गाभवानीको साक्षात्कार गर्न सकिन्छ । सातदिनसम्म जागृत भएको जमरालाई आठौं र नवौ दिन उपाषना गरेर त्यै जमराले आरोग्यता, सम्वृद्धि र ऐश्वर्यको आशिर्वाद दिने नेपालको मौलिक सस्कृति विश्वको निमित्त उदाहरणीय हुन्छ । यो सस्कृतिले नवरात्र व्रतमा पुष्करद्विपको युद्धलाई स्मरण गराउन मद्दत गर्छ । यो रामायण भन्दा धेरै सीतायणसंग नजिक देखिन्छ ।
खासमा जौ शितोष्ण जलवायुमा हुने अन्न हो । विश्वमा सर्वाधिक अन्न उत्पादन गर्ने देशमा रस्सा हो । यस्को खेती गर्न १२ देखी १५ डिग्री सेल्सीयसको तापक्रम अनुकुल हुन्छ । भारतवर्षमा हिमवतखण्ड यस्को खेती गर्ने अनुकुल ठाउँ हो । संस्कृतमा एवः भनिने यो अन्नको जमरा दुर्गाभवानीको निमित्त पृय हुन्छ भन्ने सन्देश यसमानेमा नेपालबाट विस्तार भएको हो । हाम्रो सस्कृतिले कोतघरमा राखेको जमरालाई उत्कृष्ट मान्छ । घरको पूजाकोठामा जमरा राख्दा पनि हतियार राख्ने चलन त्यसैले चलेको हो । राष्ट्रिय एकीकरणको दौरान चलेको यो सस्कृतिलाई यसमानेमा पनि नेपालको मौलिक सस्कृति मानिन्छ ।
शारदीय नवरात्रमा जमरा राखेर बचेको जौ अर्काे वर्षको निमित्त बारीमा छरेर बचाउने चलन छ । व्यावशायिक कृषिले सिमान्तकृत फसल मानेको यो अन्न दशैं तथा अन्य पूजा पर्वमा आवस्यक नभएको भए आजसम्म लोप भएर जाने थियो । जमरा राख्दा जौको वीउको उमारशक्ति पनि परिक्षण हुन्छ । यसमानेमा जमरा सस्कृति कृषि जैविक विविधता संरक्षणमा पनि उत्तिकै उपयोगी रहेको सिद्ध हुन्छ ।
पिङ्गः
आजभोली बालउद्यान र विद्यालयमा पिङ्ग जहिले पनि खेल्न पाईन्छ । मेलापर्वमा बालबालिकालाई आकर्षण गर्न पनि राखिन्छ । तिनिहरू मनोरञ्जनको निमित्त राखीएका पिङ्ग हुन् । तिनको आध्यात्मिक महत्त्व हुँदैन । दशैमा खेल्ने पिङ्गको आध्यात्मिक महत्त्व हुन्छ । दशैंमा एकपटक भएपनि धर्ती छोडेर आकाशमा तैरिने लोकमान्यता नै छ । दुर्गाआमाको आश्रमलाई दुर्गला भनिन्छ । त्यस्तो दुर्गला पहाडको शिखरमा हुन्छन् । त्यसैले कोट देउरालीको पूजा गर्ने प्रचलन चलेको हो । कार्यव्यस्तताले त्यस्ता दुर्गलामा जान नसकेको अवस्थामा पिङ्ग चढेर दुर्गलाको ध्यान गर्ने उद्देश्यले पिङ्गको सस्कृति सुरु भएको हो । पिङ्ग र चङ्गाको मान्यता मिल्दोजुल्दो हुन्छ । त्यो पनि नेपालको मौलिक सस्कृति हो । पुष्करद्विपको नगिच पुग्ने ध्येयले पिङ्ग चढिने भएकोले नेपालको दशै सस्कृति सीतायणसंग नजिक रहेको अर्काे प्रमाण मान्न सकिन्छ ।
अक्षताः
अक्षताको शाब्दिक अर्थ क्षति नपुगेको अथवा नटुक्रिएको चामल भन्ने बुझिन्छ । उमारशक्ति कायम रहेको धानबाट तयार गरिने अक्षता पनि नेपालको मौलिक सस्कृतिमा पर्छ । उच्चकोटीको अक्षतामा जौलाई मानिन्छ । अक्षताको अर्काे अर्थ कुमारी स्त्री पनि भनिन्छ । सीता पञ्चकन्या मध्यकी एक कन्या भएकीले अक्षता पनि सीतायणसंग नजिक मानिन्छ । मान्यजनसंग दशैको टिका, जमरा सहित आशिर्वाद थाप्ने हाम्रो सस्कृतिले दुर्गाभवानीको प्रशाद मान्छ । अक्षतामा रातो र सेतो गरेर दुई भिन्न चलन छ । रातो रङ्गले देवीलाई जनाउने भएकोले रातोटिका बढी प्रचलनमा रहेको पाईन्छ । विधवाहरूले रातो रङ्ग नलगाउने हुँदा पहेलोको पनि चलन छ । रगतमा मुछेको टिका सन्दर्भमा पछि चर्चा गरीएको छ । अक्षताको आधारमा पनि हाम्रो दशंै सस्कृतिलाई सीता प्रधान मान्न कर लाग्छ ।
बलिः
बलिको शाब्दिक अर्थ भगवतीलाई अर्पण गरेको आहुति हुन्छ । यस्मा अन्न, फलफुल, तरकारी वा पशु जे पनि हुन्छ । नेपालको दुर्गामन्दिरहरूमा पञ्चवलीको प्रचलन छ । पञ्चबलि भन्नाले परेवा, कुखुरा, भेडा, बोका र रांगाको बलि भनेर बुझिन्छ । पञ्चबलिको सस्कृति जनजातीहरूमा लोकपृय छ । उनिहरूको प्राथमिकतामा सैन्यसेवा हुन्छ । राष्ट्रिय एकीकरणको दौरान बडामहाराज पृथ्वीनारायण शाहले उनिहरूको सस्कृतिलाई सम्मान गर्दै हरेक सैनिक व्यारेकमा दुर्गा मन्दिरको स्थापना गरेर पञ्चबलि दिने चलन चलाएका थिए । त्यो प्रचलन अहिले सम्म चलनचल्तीमा छ । सरकारी कार्यालय तथा वैंकहरूले हतियार तथा सवारीसाधन पूजाको नाममा अहिलेसम्म बोका किन्ने रकम विनियोजन गरेर परम्परालाई निरन्तरता दिएका छन् । बलि दिएको पशुको रगतमा मुछेर अक्षता लगाई दिने चलन छ । अक्षतामा सेतो र रातोको चलन दहिमा मुछ्ने कि रगतमा भन्ने हो । आआप्mनो परम्परा अनुसार कसैले सेतो टिका लगाउँछन् भने कसैले रातो ।
माथि उल्लेखित तथ्यहरूको शुक्ष्म विश्लेषण गर्दा नेपालमा मनाइने दशै जनजाती प्रधान पर्व हो । यो पर्व भारतमा गरिने दुर्गापूजा भन्दा भिन्न छ । त्यसैले यो पर्वलाई अन्नत सस्कृति अन्तरगत राख्न सकिन्छ । नेपालका जनजातीले यो पर्वको प्रतिलिपि अधिकार सुरक्षित गर्न आवस्यक देखिन्छ । पहाडका हरेक टाकुरामा दुर्गला विकास गरेर दशैलाई भारतवर्षको उत्कृष्ट पर्व बनाउन सकिन्छ । भारतमा सेवारत सैनिक र प्रवासी नेपालीको माध्यमबाट हाम्रो समन्वयात्मक दशैंलाई पर्यटकीय उत्पादनमा विकास गरेर आर्थिक लाभ पनि लिन सकिन्छ । यस कार्यमा जनजाती समुहले नै नेतृत्वदायी भूमिका निर्वाह गनुपर्छ आलमदेवी, गह्रौकाली, मनकामनामा जस्तै जनजाती पुजारी राखेर व्यवस्थापन गर्दा समन्वयात्मक आध्यात्मको नमुना प्रस्तुत गर्न सकिन्छ । राजनैतिक उद्देश्यमा कसैले बहकाउदैमा जनजाती तर्किन हुँदैन । दशैंको प्रतिलिपि अधिकार सुरक्षित गर्न जनजाती नै अग्रसर हुन जरुरी छ ।