आरसी टाइम्स व्युरो
मुस्ताङ्ग, २४ कार्तिक
जलवायु परिवर्तनले माटो र मौसम मात्र होइन वानस्पतिक चक्रहरुमा पनि क्रमिक परिवर्तन ल्याउन थालेपछि सरकारको तल्लो मुस्ताङ्गमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आफ्नो अनुसन्धानात्मक क्षमता र शीतोष्ण वाली अनुसन्धान हैसीयत सुरक्षाका लागि उपल्लो मुस्ताङ्गको घमी गाउँमा विस्तारित शाखा सञ्चालनको तयारी थालेको छ । उपल्लो मुस्ताङ्गको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूरानो घमीमा शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको सेटेलाइट फार्म स्थापनाका लागि जग्गा प्राप्ती प्रक्रिया पनि सम्पन्न भइसकेको फार्म प्रमुख पद्मनाथ आत्रेयले व्युरोलाई जनाएका छन् । घमीको प्रस्तावित वागवानी फार्मका लागि मालपोत कार्यालय मुस्ताङले सरकारी जग्गा नीति २०७९बमोजिम ८०१ रोपनीभन्दा बढी क्षेत्रफलको सरकारी जग्गा उपयोग प्रमाणपत्र बागवानी केन्द्रलाई प्रदान गरेको जनाइएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख आत्रेयका अनुसार यो फार्मको उद्देश्य जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा सर्दै गइरहेका स्याउ र अन्य शीतोष्ण फलफूल प्रजातिहरूको जर्मप्लाज्म संरक्षण र उच्च उचाइमा अनुकूल खेती परीक्षण गर्नु रहेको छ ।
मार्फामा रहेका ३५ भन्दा बढी स्याउका जातहरू र अन्य फलफूलहरू -ओखर, आरु, खुर्पानी, स्वीट चेरी, अंगुर, र कागजी बदामलाई नयाँ सेटेलाइट फार्ममा सारेर दीर्घकालीन अनुसन्धान गर्न तयारी भइरहेको केन्द्रले जनाएको छ ।
स्थानीय किसानका अनुसार पछिल्ला वर्षहरूमा मनसुनको समय र वर्षा ढाँचा परिवर्तन भई तल्लो मुस्ताङमा स्याउ र तरकारी बीउ उत्पादन कठिन हुँदै गएको छ ।
हिमरेखाले उचाइ लिन थालेको, मनसुनी वर्षाले हिमाल आरोहण गर्दै मुस्ताङ्गमा पनि वर्षे झरीहुन थालेपछि हिमपातमा उपयुक्त हुने प्रजातीका वनस्पतिको वंश सुरक्षाका लागि पनि हिमपात हुने शितोष्ण लेकाली क्षेत्रतिर विस्तारित हुनु जलवायु अनुकुलनताका उपायहरु मानिएको छ ।
यो सेटेलाइट फार्म फलफूलको आयात प्रतिस्थापन, अनुसन्धान, र कृषि पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । मुस्ताङका बाँझा जमिनहरूलाई लिजमा कृषक समूह वा सहकारीमार्फत उत्पादनशील बनाउन सकिने सम्भावनामा पनि यो अनुसन्धानले खुलाउने छ । यो प्रयासका लागि स्थानीय निकायहरू, जिल्ला प्रशासन, मालपोत, नापी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, र राष्ट्रिय फलफूल विकास केन्द्रको संयुक्त पहल र चार वर्षको प्रयासपछि यो अवधारणा मूर्तरूपमा आएको फार्मका प्रमुख आत्रेयले जनाएका छन् ।
