‘तपाइलाई आजसम्म जोगाउने यो माटोको सजीवता जोगाउन तपाइले के गर्नु भो ? ’
सबाल सामान्य लाग्छ, तर यो भित्र माटाको सजीवतासँग बसुधाका तमाम कुटुम्बहरुको सम्बन्ध जोडिएको दार्शनिक सबाल सँगै छ ।
दुनीयामा राजनीतिक कृतज्ञताको संकट बढदै गएको बेला मान्छेका कृतघ्नताका पाइलाहरुका बारेमा समिक्षा हुन थालेका छन् । यसै क्रममा एउटा स्वयंसेवी युवा जमातले नेपाली शहर बस्ती र चोक गल्लीहरुहरुमा घुम्दै सबाल गर्न थालेको छ ः ‘तपाइलाई आजसम्म जोगाउने यो माटोको सजीवता जोगाउन तपाइले के गर्नु भो ? ’
सबाल सामान्य लाग्छ, तर यो भित्र माटाको सजीवतासँग बसुधाका तमाम कुटुम्बहरुको सम्बन्ध जोडिएको दार्शनिक सबाल सँगै छ ।
इशा फाउण्डेशनका प्रवद्र्धक सनातन सन्त ‘सद् गूरु’ को ‘माटो जोगाऔं’ अभियानबाट प्रेरित युवाहरुले यहि सबाल र सन्देश लिएर नेपालको पूर्व पश्चिम ३५०० किमिको दुरीको दौड यात्रा लगाउने संकल्पसहित सांकेतिक अभियान चलाइरहेका छन् ।
गण्डकी प्रदेशकै एकजना युवा यम बहादुर चोचाङ्गी पुन उर्फ नवीन पुन मगरले यो अभियानमा धावक बनेर दौडिएका छन् भने पूर्व पाँचथरका सनम लिम्बु र धनुषामा निर्मल श्रेष्ठले स्वयंसेवी बन्दै धावकको यात्रामा सहजिकरण गरिरहेका छन् । विद्यालयमा पढ्दा माटोलाई नीर्जिव पदार्थका रुपमा पढने गरेको तर एक मुठी माटोमा पृथ्वीका मानव संख्या बरावर अनन्त सुक्ष्म जीवहरुको बासस्थान रहेको र माटोको सजीवताले मानव र वनस्पतिहरका लागि पारस्परिक अन्तरनिर्भरता हुने गरेको तथ्य बाहिर आएपछि यो अभियान चलाउन प्रेरणा मिलेको स्वयंसेवक सनम लिम्बु र निर्मल श्रेष्ठले बताएका छन् ।
पूर्वको विन्दुबाट माटो जोगाउने सांकेतिक अभियानको दौड सूरु गरेका नविनले माटो जोगाऔँ अभियानको प्रचार प्रसार गर्दै गर्दै माटोलाई माया गर्न र माटोको सजीवताका लागि हाम्ले नगरे कसल गर्ने भन्दै सबाल गर्दै दैनिक औसत ५० किमि दौडेर ७०–७५ दिनमा नेपालभर को लम्बाइ दुरी दौडिदै आएको बताएका छन् ।
झण्डै १७४५ किमिको दुरी पार गर्दै पोखरा शहर आइपुगेपछि पोखराका स्थानीय स्वयंसेवक र नागरिकहरुले स्वागत गर्दै अभियानमा ऐक्याबद्धता प्रकट गरे । ज्ञानु आचार्यको अध्यक्षतामा भएको पोखरा ऐक्याबद्धता सभामा स्थानीय महानगरका प्रमुख धनराज आचार्यले अभियान व्यवस्थापनमा सहयोग गर्न ५० हजार रुपैया सहयोग गर्ने बचन दिए भने माटो बचाउने नीतिगत व्यवस्थाका लागि आवश्यक लेखापढि गरेर विषयगत एजेण्डा ल्याउन महानगकै कृषि विकास महाशाखा प्रमुख मनहर कडरीयालाई जिम्मा लगाएको पनि जानकारी दिए ।
पोखरा सभागृहमा भएको सभामा अभियानका स्वयंसेवकहरुले दिएको प्रस्तुति अनुसार संयुक्त राष्ट्र संघको मरुभुमीकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशन संस्थाको तथ्यांक अनुसार हरेक सेकेण्ड करिब ८ रोपनी बराबरको खेतीजन्य माटो मरुभूमि बनिरहेको बारे सचेत गराएका छन् । उनिहरुले हाम्रो माटो हाम्रा सन्ततीका लागि सुरक्षित हस्तान्तरण गर्न आजैबाट र अहिलैबाट माटो जोगाउने रणनीति पालनामा लाग्नु पर्ने सन्देश प्रबाह गर्दै नेपालभर जनचेतनामूलक अभियान मार्फत हार—गुहार गर्दै स्वयंसेवी सक्रियता निर्वाह गरेको बताएका छन् ।
उनीहरुले यो यात्रा काठमाडौंबाट सुरु भइ तराई क्षेत्र हुँदै पूर्वी सिमाना भएर उत्तरी क्षेत्र हुँदै पश्चिमी सिमाना पुगेर दक्षिणी पश्चिम क्षेत्र हुँदै काठमाडौं फर्की यात्रा टुंगिने र हरेक शहरका नागरिक जम्काभेटहरुमा मानिसहरूलाई माटोको बिग्रदो अवस्था तथा यसलाई समाधान गर्न माटो जोगाऔँ अभियानमा जोडिन आम नागरिकहरुमा आग्रह गर्र्दै आएको जनाएका छन् ।
पोखरामा भएको ऐक्याबद्धता समारोहमा स्थानीय कृषि विकासका एजेन्सी कार्यालयका अगुवा, वन विज्ञान क्याम्पस र मेडिकल कलेजका प्राज्ञिक अगुवाहरुले सम्बोधन गर्दै माटोको सजीवतासँग वानस्पति र जीव जगतको सन्तुलित अनुकुलतामा हामी मानिसका लागि खाद्य सुरक्षा सुनिश्चित गर्न र भावी पुस्ताको सुनौलो जीवन सुरक्षित गर्न सहज हुने धारणाका बारेमा सहमती प्रकट गरेका छन् ।
कार्यक्रममा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी, माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख सुनिल पाण्डे, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया लगायतका कृषि एजेन्सी प्रतिनिधिहरुले माटोको स्वास्थ्य र कृषिबीचको सम्बन्धबारे चर्चा गर्दै स्वस्थ माटोले मात्र दिगो रुपमा स्वस्थ खाना उत्पादन गर्न सकिने भन्दै माटो जोगाउने जुक्तिहरुका बारेमा चर्चा गरे ।
यसै गरि बनविज्ञान क्याम्पसका प्रमुख विनोद प्रसाद हेज्युले वातावरणीय स्वास्थ्यका लागि माटोको पनि स्वास्थ्य जोडिएको सन्दर्भमा चर्चा गरे भने गण्डकी मेडिकल कलेजका प्रमुख रवीन्द्र प्रसाद श्रेष्ठले माटोको सजीवता, खेतीपातीमा जैविक मलको प्रयोग र यसले मानिसको स्वास्थ्यमा पार्ने अन्तरसब्न्धका बारेमा चर्चा गर्दै माटो मै हामी सबै जीवहरुको अस्तित्व जोडिएको बताए ।
अभियानको स्थानीय स्वयंसेवी सक्रियतामा मेडिकल कलेज, वन विज्ञान कलेज र कृषि कलेजका विद्यार्थीहरुले पनि सहभागिता जनाए ।