आरसी टाइम्स व्युरो
पोखरा, पौष २१
कास्कीको रुपा गाउँपालिकामा गत वर्ष वितरण गरिएको अदुवाको उत्साहजनक प्रगति देखिएको छ ।
कास्कीको रुपा गाउँपालिकामा गत आर्थिक वर्ष वितरण गरिएको अदुवाको बीउबाट उल्लेखनीय उत्पादन प्राप्त भएको पाइएको छ । सीमित मात्रामा वितरण गरिएको बीउ हुँदाहुँदै पनि किसानले राम्रो उत्पादन लिन सफल भएको देखाएका छन् ।
रुपा–७ धारापानी की कृषक दुर्गा नेपालीले दश किलो अदुवाको बीउ रोपेर तीन डोको अदुवा उत्पादन गर्न सफल भएकी छन् । किसानको मेहनत, समयमै गोडमेल र जैविक मलको प्रयोगले उत्पादन उत्साहजनक बनेको कृषक नेपालीले बताएकी छन् ।
गत वर्ष अदुवाको बीउको माग धेरै भए पनि स्रोतको सीमितताका कारण थोरै मात्रामा मात्रै बीउ वितरण गर्न सकिएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएको बीउबाट प्राप्त उत्पादनले मसला वाली खेतीको सम्भावना बलियो रहेको देखाएको छ ।
रुपा गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि मसला वाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत अदुवा र बेसार खेतीलाई प्राथमिकतामा राखेको छ। चालुवर्षका लागि अदुवा तथा बेसार खेती गर्न चाहने कृषकहरूको माग संकलनका लागि छिट्टै सूचना प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ ।
रुपा गाउँपालिकामा अदुवा खेतीले देखाएको सकारात्मक नतिजाले स्थानीय तहको लक्षित कृषि कार्यक्रम सही दिशामा रहेको संकेत गरेको छ । बीउ, प्राविधिक सहयोग र बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिए अदुवा र बेसार खेती किसानको स्थायी आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।
