आरसी टाइम्स व्युरो
पोखरा, असोज २७
कृषकहरुलाई असोजमासमा आएको वर्षाले अगुवा धानको फसल लिनेबेलामा मौसमी समस्या भएको थियो । पछुवा धानबालीहरु कार्तीक महिनामा फसल लिन सकिने कृषि पात्रो रहेको छ । तर यहि अवस्थामा पोखराका विभिन्न स्थानमा धानबालीमा फड्के किराको प्रकोप फैलिँदै गएपछि किसानहरू चिन्तित भएका छन् ।
फटके किराले धानको पात र फेदबाट रस चुसेर बालीलाई क्षति पुर्याउँने र बोट सुक्ने तथा धानको बाला नोक्सान हुने समस्या देखिएको महानगरका कृषि प्राविधिकहरुले जनाएका छन् । जसका कारण धानका पात पहेँला हुँदै सुकेर जाने, वाला नलाग्ने र बोट पराल जस्तो भएर ढल्ने समस्या देखिएको महानगर कृषि शाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।
कृषि प्राविधिकहरूका अनुसार, फड्के किरा प्रायः धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गर्छन् । यदि प्रकोप बढ्दै गयो भने, यी किराले पूरै खेतको बाली सखाप पार्ने खतरा हुन्छ । किसानहरूले ‘ज्युँदै बाली मर्ने रोग’ भनेर चिन्ने यो समस्या अहिले धेरै स्थानमा फैलिएको रिपोर्ट आएको कडरीयाले जनाएका छन् । खेतबारीमा रासायनिक मल बढी प्रयोग गर्नाले पनि यस्तो समस्या आएको हुनसक्ने प्राविधिकहरुले आँकलनगरेका छन् ।
सामान्यतया फड्के किराको रोकथामका लागि किसानहरुले छिटो पाक्ने धानका जातहरू छनोट गरी छिटो रोप्ने, बिरुवा नजिक नरोप्ने र प्रति गाँज २–३ भन्दा बढी बिरुवा नराख्ने सुझाएका छन् । प्राविधिकहरुले
नाइट्रोजनयुक्त मलको उचित मात्रा मात्र प्रयोग गर्ने र खेतको पानीको सतह नियन्त्रण गर्दै आवश्यकताअनुसार पानी बढाउने वा घटाउने गर्नुपर्ने सुझाएका छन् ।
खेतमा मित्रजीवको संख्या बढाउने प्रयास गर्ने र आवश्यक परेमा नीमयुक्त वा अन्य स्वीकृत रासायनिक विषादी प्रयोग गर्न सकिने पनि प्राविधिकहरुले सुझाएका छन् ।
हरेक किसानले आफ्नो धानबाली अनुगमन गर्दै किराको प्रारम्भिक चिनारी, र सामूहिक रूपमा नियन्त्रण उपाय अपनाउन नियमित धानखेत अनुगमनका लागि आग्रह गरेका छन् ।
विशेषज्ञहरूका अनुसार, समयमै ध्यान नदिए धानको उत्पादनमा ३० देखि ५० प्रतिशतसम्म ह्रास आउन सक्ने खतरा रहन्छ । त्यसैले किसानहरूले प्रारम्भिक चरणमै रोकथामका उपायहरू अपनाउन जरुरी रहेको महानगर कृषि शाखाले सुझाएको छ ।