गोपाल जीटी /आरसी टाइम्स
वालिङ्ग श्रावण १६
कालीगण्डकी उपत्यकाको रामपुर नगर ३ किर्तिपुरका विन्दु खत्री उमेरले ४१ पुगेका छन् । पाँच दाजुभाई मध्ये उनी साहिँला हुन् । १८ वर्ष भारतमा मजदुरी गरेर फर्केका विन्दु विगत एक वर्षदेखि तरकारी खेतिमा व्यस्त छन् । लामो समय भारतमा मजदुरी गर्दा भन्दा तरकारी खेतिमा एक वर्षको उत्पादनबाट उनि सन्तुष्ट छन् । धान मकै लगाएर वर्षमा ५० हजार जतिको अन्न उत्पादन हुने खेतमा तरकारी फलाएर ५ लाखभन्दा धेरै कमाई हुनेभएपछि विन्दु खुसी छन् ।
विन्दु भन्छन्—“अरु अन्नबाली लगाउँदा उत्पादन लिन तीन चार महिना कुर्नुपथ्र्याे, अहिले तरकारीखेतिबाट दैनिक आम्दानी हुन्छ ।् पहिलादेखि यो पेशामा लागेको भए धेरै प्रगति गरिँदोरहेछ । अब पनि कृषि पेशाबाट आर्थिक सुरक्षण गर्नसक्छु भन्ने एकवर्षको अनुभवले विश्वास दिलाएको छ ।” भारतमा लामो समय विताएकामा उनलाई पछुताउ बनाएको छ । हरियो तरकारीको आयातबाट धेरै पैसा बाहिरिएको छ । आँफू खाएर अरुलाई समेत विक्रि गरेर आर्जन गर्न सकिने तरकारी नै हो । भए आँफ्नैमा गरौं, छैन भने जग्गा भाडा लिएर गरेपनि राम्रो फाइदा लिन सकिन्छ । त्यसैलै कोहि युवा पैसा कमाउन विदेश धाउन पर्दैन विन्दुले थपे ।
कुनै तालीम लिएको छैन, जति गरें युट्यूव लगायतका सामाजिक सञ्जालको सहायतामा गरें । जे भएको छ, राम्रै भएको छ, यदि अवसर पाए तालीम लिने खत्रीको विचार छ, ।
खत्रिले घिरौंला, काँक्रा, बोडी, करेला, भिण्डी लगायतका तरकारी लगाएका छन् । अहिलेको सिजनमा मात्रै ७० क्वीण्टल काँक्रा विक्रि गरिसकेका खत्रीले झण्डै दुई लाख पारेका छन् । त्यहि अनुपातमा अरु तरकारी पनि विक्रि गरेकाछन् उनले ।
अहिले पनि काँक्राका झाल ढकमक्क भई फल्ने तयारीमा पूmल खेलिरहेका छन् ।
अब फेरि दशैंका लागि ६ सय भन्दा बढि काँक्राका बिरुवा लगाउन खत्रीले तयारी गरिसकेका छन् । यसबाट दैनिक २ क्वीण्टल उत्पादन गर्ने उनको लक्ष्य छ ।आँफूले गरेको काममा रमाउन सक्नुपर्छ, अवस्य सफलता प्राप्त गर्न सकिन्छ । जुन विन्दुको काम गराई र व्यवहारले देखाएको छ । रसिक स्वभावका खत्री अरुलाई हँसाएर बोल्ने बानी छ । काम गर्दा होस या बोल्दा, विषय प्रशंग मिलाएर गीत गाउन पनि पछि पर्दैनन् उनि ।
आँफ्नो श्रम बाहेक नगद ६० हजार लगानीबाट सुरु गरेका खत्रीले १० रोपनी जग्गामा तरकारी लगाएका छन् । यतिबेला उनको खेतमा लटलम्म बोडी फलिरहेका छन् । उनले कृषि प्राविधिकको सहयता लिएका छैनन् र कसैले कुनै सल्लाह दिएका पनि छैनन् । सोंचसँगै खोज गर्ने हो भने प्राविधिकको निगरानी बिना पनि व्यावसाय गर्न सकिने खत्रीले सावित गरेका छन् ।
यसका साथै खत्रीले बङ्गुर पनि पालेका छन् । यो पनि यूट्युवकै आधारमा सुरु गरेका हुन् । उनले ४ वटा माउबाट बच्चा उत्पादन गर्दै आएका छन् । यसबाट पनि राम्रो फाइदा लिन सकिने खत्रीले अनुभव लिइसकेका छन् ।
खत्री भन्छन्—तरकारी विक्रि गर्न किर्तिपुरदेखि सात किलोमिटर टाढा बेझाँड बजार पुग्नुपर्छ । अन्य स्थानमा जस्तै तरकारी विक्रि केन्द्र बनाएर बजारीकरणको व्यवस्था भैदिए आँफूजस्ता धेरै किसानलाई राहत पुग्नेथियो ।
नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने भनेपनि आँफूजस्ता धेरै किसानहरुमा नगरपालिकाको नजर नपुगेको विन्दुको गुनासो छ ।