आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७ .
कास्कीमा पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको विज्ञकेन्द्रले दावी गरेको छ ।पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको पशुधनमा पूर्ण खोप कार्यक्रमले कास्कीका किसानहरु खुसी भएका जनाइएको छ ।
गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई मौसमी तथा अन्य रोग नियनत्रणका लागि पूर्ण खोप अभियान थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले जनाएका छन् ।
गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो ।सो व्यवस्था अनुरुप गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको पाण्डेले जनाएका छन् ।गाइ भैसीमा नै हुने भ्याकुते र चरचरे गरी २६ हजार ३ सय ७१ वटा पशुमा खोप लगाईएको छ ।बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ ।
त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको पाण्डेले जनाए ।पशु सेवा विज्ञ केन्द्र कास्कीले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाएको जनाएको छ ।सो खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको तर खोप लगाउनको लागि गाउँगाउँमा किसान सचेतना कार्यक्रम भइरहेकाले किसानहरुको स्वतः स्र्फूतरुपमा सहभागीता पनि बढिरहेको जनाइएको छ ।
खोपको बारेमा हेम्जा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने निति सरकारले अगाडी बढाउन आग्रह गरेका छन ।
यसैगरी कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुर्याउन खोपको योगदान रहने बताए । ।यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको पौडेलले जनाए ।त्यसैगरी भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ ।महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ ।
पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको भनाई रहेको छ ।