रामचन्द्र बराल/आरसी टाइम्स
नवलपुरबाट फर्केर, बैशाख १
पशुधन सुरक्षणका लागि आम पशुहरुमा पूर्णखोप अभियान चलाइएकाले पशुपालकहरुमा सरकारी सहकार्य र पेशा सुक्षणमा अपनत्व महसुश भएको किसानहरुले बताएका छन् । पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जिल्ला तथा स्थानीय सरकारका पशुस्वास्थ्य प्राविधिकहरुलाई परिचालन गरेर वस्ती स्तरका पशुधनको सर्भेक्षण गर्दै विगत ३ वर्षदेखि पशुधनमा पूर्ण खोप अभियान चलाउँदै आएकोले पशुहरुमा आउने महामारी जन्य र परजीवी जन्य रोग नियन्त्रणमा सघाउ पुगेको किसानहरुले जनाएका छन् ।
४ वर्ष पहिले नमुना प्रयोगका लागि म्याग्दी जिल्लाबाट सूरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रम हाल गण्डकी प्रदेशका सबै ११ जिल्लामा सञ्चालनमा आएको जनाइएको छ । म्याग्दीको अनुभवलाई पँुजिकरण गदै प्रादेशिक रुपमा सबै पशुसेवा विज्ञ केन्द्रहरुबाट यो कार्यक्रम सञ्चालन गर्न बजेटरी व्यवस्था गर्दै पशुरोग नियन्त्रणका लागि खोपहरु खरिद गरेर जिल्लाका सबै ८५ स्थानीय तहका पशुसेवा प्राविधिक समेत परिचालन गरीएको प्रादेशिक पशुपंक्षी विकास निर्देशनालयका महानिर्देशक प्रेरणा सेढाइ भट्टराइले जनाएकी छन् ।
हालै पूर्णखोप प्रभावकारिताको तेस्रोपक्ष अनुगमन प्रकृयामा नवलपुर र लमजुङ्ग जिल्लाका पालिकाहरुमा गरिएको अवलोकनका क्रममा किसानहरुले पशुमा पूर्णखोप अभियानले व्यवसायिक सक्रियता र पशुस्वस्थ्य सुरक्षणमा सकारात्मक योगदान पुर्याएको प्रतिकृया दिएका छन् । किसानहरु आफ्नो काम धन्दामा व्यस्त रहने हुँदा कुन बेला कुन खोप लगाृने मेलो मेसो नजान्दा पनि प्राविधिकहरु आएर आवश्यक खोप लगाउने र खोप कार्ड भर्ने क्रममा पशु तथ्यांक अध्यावधिक गर्ने गरेको लमजुङ्ग सुन्दर बजारकी किसान जानुुका तिवारी पोखरेलले जनाएकी छन् । आफुहरुले लम्पीस्कीन रोग आएको थाहानै नपाउँदै चिकित्शक रुपेश श्रेष्ठले चासो राख्दै खोपको व्यवस्था गरेकाले सवैतिर पशुमा कोरोना झै सल्कीएको लम्पीले आफ्नो गोठमा दुख नदिएको किसान जानुकाले बताएकी छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समुदाय स्तरमा पूर्णखोप अभियान संचालन गर्दा किसानबाट चौपाया विवरण फारम भराउने र खोपको आवस्यक मात्राको अभिलेखन गराउन थालेकाले जिल्लाका कुन किसानसँग कस्ता चौपाया रहेका छन् र तिनिहरुको स्वास्थ्य प्रोफाइल के छ भन्ने आँकलन गर्न सजिलो भएको पशुसेवा विज्ञ केन्द्र लमजुङ्गका प्रमुख सुनिल न्यौपाने र नवलपुरका प्रमुख पवन श्रेष्ठले जनाएका छन् । हरेक वर्षमा चैत्रदेखि असोजकै समयमा पशुमा रोगव्याधिले सताउने भएकाले यहि समयमा खोप अभियान चलाउने र वर्षाकालमा पशुहरुमा संक्रामक रोग नियन्त्रण सहयोगी हुन पुगेको अनुभूतिले किसानमा सन्तुष्टि पाइएको नवलपुर हुप्सेकोट गाउँपालिकाका अधिकृत बुद्धिबहादुर देउजाले जनाए ।

आफ्ना नागरिकहरुको पशुधन सुरक्षामा प्रादेशिक सरकारको अपनत्वको अभियानले सकारात्मक प्रभाव पारेको र भविष्यमा यसको दिगोपनका लागि र स्थानीय तहको कृषि डाटाबैंकका रुपमा कृषि सूचना केन्द्र संचालनमा समेत स्थानीय सरकारहरुले सहकार्य गर्ने सम्भावना बढाएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जनाएकी छन् । जसरी मानवका लागि खोप व्यवस्थापन गर्न सरकार र पालिका जिम्वेवार छन् , त्यसरी नै नागरिकहरुको पशुधन सुरक्षाका लागि खोप व्यवस्थापन गर्न स्थानीय पालिका पनि जिम्मेवार बन्ने र अपनत्व लिने अध्यक्ष पाण्डेले प्रतिवद्धता जनाएकी छन् ।
भेटेरीनरी अस्पतालको वार्षिक कार्यपात्रो अनुसार खोप क्रियाकलाप हुने भएपनि लम्पीस्कीन जस्तो संक्रामक रोग आउने डरले बेलैमा पशुधनमा रोग प्रतिरोधात्मक क्षमता बढाउने र पशु स्वास्थ्य सुरक्षणमा टेवा पुर्याउन व्यवसायिक किसानहरु व्यवसाय सुरक्षाका लागि पनि खोप अभियानमा जोडिन प्रेरित भएको नवलपुर कावासोती हर्कपुरका गाइपालक किसान दिनेश अधिकारीले बताए ।
यसैगरि महामारीजन्य प्रकोपले बाख्राको गोठ नै सोत्तर पारेको घटना सुनेपछि आफ्ना बाख्राहरुमा निशुल्क खोप लगाउने र सुधारीएको खोर निर्माण तथा श्रोतकेन्द्र कै हैसीयतमा सरकारी सहकार्य पाएकोमा हुप्सेकोट बसेनीका आइतसिंह रजाली मगरले सराहाना व्यक्त गरे । खोपको सुनिश्चिताकै कारण २२ घरघुरी भएको बसेनी गाउँले सामूहिक रुपमा १५ सय बाख्रा पालन गर्दै आएको समुहका अगुवा ज्ञान बहादुर रजाली मगरले बताएका छन् । रोगहरुलाई नियन्त्रण गर्न सकियो भने किसानहरुको खर्च कटौती गर्न सकिने र आगन्तुक पशुका कारण रोग फैलिने कारणले रैथाने पशुहरुमा समेत रोग फैलाउने जोखिम देखिएकाले वर्षेनी गरिने खोप अभियानले रैथाने पशुको स्वास्थ्य सुरक्षा तथा आगन्तुक पशुसँगै भित्रिने महामारीजन्य रोग नियन्त्रणमा टेवा पुर्याउनुका साथै किसानहरुको स्थलगत आँकडा संकलनमा समेत सहयोग पुगेको लम्जुङ्गका पशुचिकित्शक सुनिल न्यौपानेले बताएका छन् ।
भौगोलिक विकटता र जनशक्तिको न्युनताका कारण लेक तथा चरन खर्कहरुमा रहेका पशुधनमा खोप लगाउनका लागि प्राविधिक खटाउन कठिनाइ भएको र छिमेकी जिल्लाबाट जनशक्ति मगाएर अभियान व्यवस्थापन गर्नु परेको पनि पशुसेवा विज्ञ केन्द्र लमजुङ्गका प्रमुख समेत रहेका न्यौपानेले बताएका छन् । खोपका लागि एक वडा उक प्राविधिकलाई जिम्मा दिएर परिचालन गर्दा पशुकल्याणमैत्रि व्यवहारबाट खोप लगाउनु प्राविधिकको दायित्व रहेपनि किसानहरुमा सामाजिक चेतनाका लागि पालिकाहरुले सचेतना अभियान चलाउनु पर्ने र किसानहरुले पशुचौपायाहरुलाई खोप मैत्रि वातावरणका लागि सहजिकरण गर्न पहल गरेमा प्राविधिकहरुलाई जोखिम न्युनिकरण र खोपको प्रभावकारी सम्पादनमा टेवा पुग्ने लमजुङ्ग बेसीशहरकी खोपकर्ता अनिता बोहोरा घिमिरेले सुझाएकी छन् ।
नागरिकहरुको पशुधन सुरक्षाका लागि सरकारले वर्षेनी खोप किनेर अनुदानमा दिने सम्भावना नहुने भएकाले व्यवसायिक किसानले उत्पादनको केही अंश पशुस्वास्थ्य कोषका लागि छुट्याउन सकिने र पशुस्वास्थ्य विमा प्रणालीसँग जोडेर पनि दिगोपना दिन सकिने नवलपुर कावासोतीका किसान दिनेश अधिकारीले सुझाएका छन् ।
अधिकांश किसानहरुले महामारीजन्य रोगको संक्रामक विस्तारको जोखिमबाट पशुधन जोगाउन खोपका लागि तत्पर भएको पाइएको छ । एकीकृत स्वास्थ्यका लागि मानवलाई खोप र माटोमा विषादी नियन्त्रणमा स्थानीय पालिकाहरुको लगानी गर्ने स्वास्थ्य तथा कृषि नीति भए जस्तै पशुजन्य पोषण सुरक्षाका लागि पशुखोप सुनिश्चिततामा पनि स्थानीय सरकारको दिगो अपनत्व नीति आवश्यक रहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जोड दिएकी छन् ।