आरसी टाइम्स व्युरो
पोखरा, पौष १४
पुषे पन्ध्र नजिकिदै गर्दा ढोडबेसीको स्वादिलो खुदोले बजार तताएको छ । पोखरा महानगरपालिका वडा नं ३२ को मालमुल फाटस्थित ढोडबेसी र मालेपाटनका किसानहरूले मौसमी उखुबाट तयार पारेको रैथाने खुदोले नगद आर्जनको अवसर बनाएका छन् । गत वर्ष उखु किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले यो क्षेत्रमा खुदो मेला पनि आयोजना गरेको थियो ।
ढोडबेसी र मालेपाटन क्षेत्रका किसानहरूले सयौं वर्षदेखि उखु खेती गर्दै खुदो उत्पादनको परम्परा धान्दै आएका छन् । स्थानीय सिप र श्रममा उत्पादन हुने मौसमी खुदो पुष १५, माघे संक्रान्ति जस्ता चाडपर्वमा उच्च माग हुने गर्दछ । स्थानीय किसानहरूले विश्वासिलो स्वादका कारण यो खुदोलाई बजारमा राम्रो मूल्य पाएको स्थानीय किसान कमला धमलाले जनाएकी छन् ।
पोखरा महानगरपालिकाले विगत तीन वर्षदेखि वडा नं ३२ लाई उखुको पकेट क्षेत्र घोषणा गरेको छ । उखु खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै किसानहरूलाई अनुदान उपलब्ध गराइरहेको छ । उत्पादित खुदोको लेबलिङ, ब्रान्डिङ र बजारीकरणमा समेत महानगरले टेवा दिएको छ । यसले नगद आर्जन बढाउनुका साथै साथै उखु खेतीप्रतिको आकर्षण कायम राखेको छ । हाल किसानहरुले प्रति लिटर चार सय रुपैया दरमा उखुपेल्ने र प्रसोधन गर्ने कोलबारीबाटै कारोबार गर्दै आएका छन् ।
