महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, पौष ९
बजारमा उच्चमुल्यको दाबी गर्ने र प्राय वैदेशिक आयातमा भर पर्नु पर्ने प्याज बालीमा आन्तरिक उत्पादन क्षमता बढाउन पालिका स्तरमा रैथाने सकारात्मक हस्तक्षेपका प्रयासहरु हुन थालेका छन् । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । नगरवासीको भन्सा दिनानुदिन महँग्गो बन्दै गएको भन्दै गाउँपालिकाले भान्सामा दैनिक उपयोग हुने प्याज उत्पादन बढाउन विरुवा वितरण थालेको छ ।
पालिकाले जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको छ । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । बजारमा प्याजको मुल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने प्याज आफै उत्पादन गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजु गौतमले बताए ।
जलजलामा रहेका करिब ३४ सय घरपरिवारलाई प्रतिपरिवार पाँचसयका दरले प्याजका बेर्ना वितरण थालिएको पालिकाको कृषि शाखाले जनाएको छ । प्याजको बेर्ना तयार पार्न प्रत्येक टोल विकास संस्थाहरुलाई प्याजको बिउ,नर्सरी प्लाष्टिक, हजारी, विषादी र तालिम निशुल्क रुपमा उपलब्ध गराइएको छ ।
निशुल्क रुपमा उपलब्ध गराइएका प्याजका विरुवमा किसानले पनि राम्रोसँग रोपण गरे गाउँ पालिकाका कुनै पनि किसान प्याज विहीन नहुने किसान खडक बहादुर केसीले बताएका छन् ।
गाउँपालिकाले दुई लाख बजेटको प्याजको वीउ खरीद गरेर किसानहरुलाइ १४ टोल विकास संस्थामा आवद्ध गरी विरुवा उत्पादन गरीएको जनाइएको छ । उत्पादन भएका करिब १८ लाख प्याजका बेर्ना गाउँ पालिकाका तीन हजार चारसय घरधुरीलाई वितरण थालिएको जलजला गाउँपालिकाले जनाएको छ ।
जलजलामा कृषि उत्पादनमा राम्रो संभावना भएकाले कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य प्राप्ती गर्न कार्यक्रमको सञ्चालन गरिएको जनाइएको छ ।