दश वर्ष पहिलेसम्म साउनमास बारीमा दुधिला मकै र लहरे तरकारी तथा गोठमा लैना दुहुना उग्राइरहेको देखिने पोखरा शहरकै एउटा बस्ती झिझिर्कामा बाँदरको अत्याधिक चापका कारण किसानले घर छाडेर गाउँ नै शून्य भएको छ ।
पोखराको हेम्जाबाट अस्ताम धम्पुस जाने ग्रामीण सडकले गाउँको बीचोबीच पहुँच बढाएको भएपनि सामुदायिक वनमा हुर्किदै गएका मृग र बाँदरहरुको अतिक्रमणका कारण खेति जोगाउन हम्मेहम्मे परेकाले किसानहरुले गाउँनै छोड्न पुगेका छन् ।
खानेपानी र अन्य आधारभूत सुविधाको अभावमा पनि थोपा सिंचाइ र आकाशेपानीको संकलन तथा कृषिका लागि लिफ्टिङ्ग पानी परियोजना संचालन गर्दै जीविकाको जोहो गरेका यो बस्तीका करिव ४३ घरधुरीमा हाल २२ घरधुरीका मात्र परिवारहरु बाँकी छन् ।
परिवारका नयाँ पुस्ता शिक्षा र पेशाका कारण पोखरा शहरमा बस्न रुचाउने तथा जेष्ठ नागरिकहरुमात्र गाउँमा परम्परागत शैलीमा खेति तथा पशुपालनमा गुजारा गर्दै बसेपनि पाखुरो थलापरेपछि आँगनकै बिस्कुन र बारीको अन्न जोगाउन नसकिएकाले गाउँ छोड्न परेको बताएका छन् । आफुहरुको अन्त जाने विकल्प नहुनाले गाउँकै दैलो कुरेर बस्नु परेको , नत्र वनका बीचमा छिमेकी हराउँदै गएका गाउँमा बस्ने रहर नभएको स्थानीय जेष्ठ नागरिक लक्ष्मीनारन अधिकारीले बताएका छन् ।
उत्तरी पोखराको ग्रामीण बस्ती र हिमालको अवलोकन गर्न सकिने यो गाऊँमा खाली भएका २१ घरमा पर्यटकीय पाहुँना राख्ने र बारीमा हुर्किएको घाँस बिक्री गर्दै पशुपालनको साइनो जोडन सक्ने हो भने धम्पुस जाने ग्रामीण सडकले छोएको झिझिर्कामा पर्यटकीय उपयोगीता बढाउन सहयोगी हुने देखिन्छ । यसका लागि सरकारी मुख ताक्ने भन्दा स्थानीय युवा र पोखराका पर्यटन व्यवसायीहरुका बीचमा समन्वय हुनु आवश्यक देखिन्छ ।