आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ३०
वडा स्तरका स्थानीय कृषि उत्पादन तथा उपभोक्ताहरुको अन्तरक्रियात्मक सम्बन्धको सघनता बढाउन स्थानीय किसान बजार स्थापनामा सहजिकरण गर्दै आएको पोखरा महानगरले वडा–३१, वेगनासको महडाँडा पनि शुक्रवारे किसान बजार थालनी गरेको छ ।
महानगरको पूर्वी नाका लम्जुङ्गको करापुटार विन्दुसँग जोडिने बेगनास क्षेत्रमा बेगनास र रुपा सिमसारको निकट क्षेत्रमा स्थानीय किसान बजार स्थापन हुनु ताल जलाधार क्षेत्रका कृषकहरूको सुविधाका लागि महत्वपूर्ण मानिएको छ ।
गत २७ गते शुक्रवारदेखि स्थानीयस्तरमै कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको हो । केन्द्रले बजार मूल्यमा कृषकको उत्पादन खरिद गर्नेछ भने पोखराका मुख्य बजारमा आपूर्ति गर्ने बताइएको छ । कृषि उत्पादन र उपभोक्ता बीचको सम्पर्क निकट राखेर आर्थिक समृद्धिमा टेवा पुर्याउन धेरै मानिसलाई कृषिमा आकर्षित गर्न र सोही पेशामै टिकाइराख्न पोखरा महानगरपालिकाका करीब आधा दर्जन कृषि उत्पादन निकट रहेका वडामा किसान बजार अभ्यास शुरु भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा यस्ता कृषि उपज बजार केन्द्र सञ्चालन भइरहेका छन् । बेगानासको स्थानीय कोट देउराली कृषि सहकारी संस्थाको अगुवाइमा उक्त उपज केन्द्र सञ्चालन गरिएको हो । यस केन्द्रले वेगनास क्षेत्रका करीब ३०० घर लाभान्वित हुने सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाभाटले बताएका छन् ।
महानगर क्षेत्रका धेरै युवाहरू कृषि पेशामा आकर्षित भएको तर बजारसम्मको पहुँच नभएकै कारण लामो समय पेशामा टिक्न नसकेको पाइएकाले उनिहरुलाई सहजिकरण गर्नाका लागि किसान बजार स्थापनको मोडल अभ्यासमा ल्याइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् । गाउका जेष्ठ नागरीक वल वहादुर अधिकारीको सभापतीत्वमा महानगर वडा नं. ३१का वडा अध्यक्ष ढकनाथ कडेलले शुभारम्भ गरेको किसान बजार हरेक शुक्रबार सञ्चालन हुने कोट देउराली वहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष
सुरेन्द्र सापकोटाभाटले जनाएका छन् ।
सहकारीले किसान र सरोकारवाला निकायका बीचमा पुलकोरुपमा कार्य गर्ने प्रतिवध्ता समेत उनले जाहेर गरे । किसानले उत्पान गरेको वस्तूको उचित मुल्य र्निधारण गर्न र उपभोक्ताले स्वच्छ वस्तु उचित मुल्यमा उपभोग गर्न पाउन भन्ने अभिप्रायले यस्ता किसान वजार संचालन गर्न पोखरा महानगरले प्रोत्साहन गरेको र महानगरमा हालसम्म यो अवधारणाका किसान वजार छ ठाउमा सुरु भएको जनाइएको छ ।