हिमाली जिल्ला मनाङ्गका चौरी गोठहरुमा अज्ञात रोगका कारण चौरीहरु मरेको जिल्ला पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । मनाङ्गको मनाङ्ग निश्याङ्ग गाउँपालिकाका वडा नं ३ र ५ का चौरी खर्कमा रहेका याक तथा चौरीहरु अचानक मर्न थालेपछि जिल्ला भेटेरीनरी अस्पतालका प्रविधिकहरु स्थलगत उपचारका लागि खटिएको नावल क्षेत्रको चौरी खर्कबाट विज्ञ केन्द्र प्रमुख नारायण कुशुमले जनाएका छन् ।
चौरीहरुमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरुले भ्याकुते रोगको आशंका गरेका छन् । चौरीहरुको रगत तथा बोनम्यारोको प्राप्त नमुना परिक्षणबाट भ्याकुते रोगको पुष्टी हुन नसकेको प्रादेशिक पशुरोग प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले जनाएका छन् । चौरीहरुको गोबर परिक्षण गर्न नमुना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टी हुन नसकेको , हिमाली चौरीहरुलाई भाद्र— आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहेको पाण्डेले जनाएका छन् ।
समुन्द्र सतहदेखि ४५०० मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० वटा चौरी मरेको मनाङ्गबाट जनाइएको छ । भ्राकामा चौरी मर्ने क्रम रोकिएको तर नावल क्षेत्रमा अझै चौरीहरु विरामी रहेकाले चिकित्शकीय निगरानी रहेको भेटेरीनरी अस्पताल प्रमुख तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख नारायाण कुशुमले जनाएका छन् । जिल्लामा पूर्ण खोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीहरुमा देखिएको समस्याले खोप अभियानको औचित्य बढी देखिएको बताइएको छ ।