आरसी टाइम्स व्युरो
पोखरा, बैशाख ११
पोखरा शहरमा कृषि उपज उत्पादन र बजारिकरणमा रैथाने किसान परिवारलाई परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका हुन सक्ने प्रयासहरुमा महानगरीय कृषि महाशाखाले विभिन्न व्यवस्थापकिय अभ्यासहरु परिक्षण गर्दै आएको छ । किसानर प्रविधि पहुँच तथा सेवा विस्तारका लागि एक वडा उक कृषि सञ्जालको अवधारणा प्रयोगमा ल्याएको महानगरले किसानहरुको सञ्जालीकरण गर्न सफलता पाएको र किसानहरु आफना माग र गुनासाहरु संगठित रुपमा महानगरीय सरकारमा पुर्याउन सहज भएको अनुभव गरेका छन् ।
वडाका कृषि गतिविधिमा उनै किसान संजालका प्रतिनिधिहरुको सहभागीतामा योजना छनौट र परिचालनमा सक्रियता गर्नाले यो प्रयोगलाई अनुकरणीय अभ्यास पनि मानिएको छ । यीनै किसान सञ्जालको परिचालन गर्दै एक वडा एक कृषि पकेट उत्पादन र बजारउन्मुख उद्यम सञ्चालनमा प्रोत्साहन गर्न महानगरले ३३ वटा वडालाई शहरी उपभोक्ता वडा र उत्पादन गरि योगदान गर्ने वडाका रुपमा वर्गीकरण गर्दै सेवाटेवाको पहल पनि गर्दै आएको छ । यो प्रयोग सगै महानगरले स्थानीय उत्पादन पकेट क्षेत्रमा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने र उपभोक्ता पहुँच भएका जक्सनहरुमा किसान बजार संचालन गर्ने अभ्यास पनि थालनी गर्दे आएको छ ।
यो किसानबजार मोडल पनि त्यति सफल हुन सकेको छैन । विरौटाको किसान बजार संचालनका लागि २१ र २२ वडाका किसानहरुलाई परिचालन गरेर हरेक शुक्रबार र मंगलबारका लागि बजारिकरणको जोहो मिलाउने र बजारमा विक्रि नभएका वा कम मुल्यमा बेच्नु परेका अवस्थामा मुल्य सुनिश्चित गर्न न्युनतम मुल्य दिने समेत अभ्यास गरेको महानगरले त्यस्तै मोडलको वडा नं १६ र १३ को किसानबजार टिकाउन कठिन भयो ।
किसानहरुको उत्पादन निरन्तरताको कठिनाइ र बजारमा क्षेत्रिय कृषि बजारको प्रतिस्पर्धामा आउने बेजिल्लाको तरकारीका खुद्रा बजारका कारण किसानबजार दिगोरुपमा चल्न सकेकनन् । किसानहरुले आफनो उत्पादन बजारमा पुर्याउन ढुवानी साधनकै समस्याले बजार पहुँच विग्रीएको बताउँदै आएको अवस्थामा महानगरले हालै नयाँवर्षको मौका पारेर कृषि एम्बुलेन्स सेवाको परिक्षण थालेको छ । एक टन क्षमताको चिश्यान क्षमता सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएर किसानका ताजा तरकारी र डेरी जन्य उत्पादन बजार ढुवानीका लागि परिचालन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।
बिरौटा किसान बजारमा केन्द्रीत रहेर कृषि एम्बुलेन्सले स्थानीय कृषि उत्पादन वडा बाट उपजहरु ढुवानी थालेको र त्यसको दिगो परिचालनका लागि कृषि संकलन केन्द्रको संकलन पात्रो सहितको कार्यतालिका बनाउन पनि पहल थालेको जनाइएको छ । यसका लागि पोखरा २२ पुम्दी भुम्दी क्षेत्रमा संचालनमा रहेका सातवटा संकलन केन्द्र मार्फत साना र छरिएका कृषि उपज संकलन गर्दै उपभोक्ता माझ किसान बजार तथा अन्य सरोकारवाला बजार मार्फत उपभोक्ता माझ पुर्याउने पहल थालीएको जनाइएको छ । कृषि एम्बुलेन्सले पोखरा २२ का चिसापानी, भ्यु पोइन्ट, रातिपोखरी, ठुलढुङ्गा क्षेत्रमा पुगि किसान बजार बिरौटासम्म तरकारी ल्याएको छ । पोखरा २२ मा चिसापानी, भ्यु पोइन्ट, रातिपोखरी, ठुलढुङ्गा, कलावाङ्ग, उल्लेरी, भूम्दी क्षेत्रमा सातवटा कृषि संकलन केन्द्र संचालनमा रहेका छन् ।
हालसम्मको १० दिने सेवा अवधीमा किसानहरुले तराकारी तयारी भएपछि कृषि एम्बुलेन्स चालक ठकुरीलाई फोन गरेर ढुवानी गर्ने गरेको चालक ठकुरीले जनाएका छन् । सबै संकलन केन्द्रका कृषि जन्य ताजा तरकारी बजारिकरणमा ल्याउने योजना रहेको जनाइएको छ । सरोकारवालाको माग सम्बोधन गर्ने गरि दिगो सन्चालन मोडल अभ्यास गर्ने तयारीमा रहेको महानगर कृषि महाशाखाले जनाएको छ ।