आरसी टाइम्स व्युरो
पोखरा, पौष २१
प्रकृतिमा रहेका सबै जीवहरुको दिगो स्वास्थ्य सुरक्षित हुन सकेमात्र मानवका लागि पृथ्वी दिगो रहन सक्ने र त्यसको पहिलो आधार नै माटोको स्वास्थ्य सुधार गर्नु पर्ने सरोकारवालाहरु सहमत देखिएका छन् । कृषि मुलश्च जीवनम ः भन्ने वैदिक कृषिको मान्यतालाई आत्मसात गर्नेहरुले कृषि जोगाउन माटो र पानी पनि जोगाउनु पर्ने, वीज र जीव पनि जोगाउनु पर्ने, पर्यावरणका सवै कुटुम्बहरुमा सन्तुलीत र सहअस्तीत्वपूर्ण मर्यादाको सम्बन्ध जोगाउनु पर्ने कुरामा अनुसनधानकर्मी, सहजकर्ता र किसानहरु सहमत भएका हुन । यहि मान्यतालाई आत्मसात गर्दै आइडीइ—नेपालको समन्वयमा २ वर्ष पहिलेबाट प्रारम्भ गरिएको प्रेरणा परियोजनाको उपलब्धी समिक्षाको क्रममा सहभागीहरुले माटो जोगाउने रणनीतिले माटामा रहेका सुक्ष्मजीवहरुको सुरक्षाका साथै माटोको दिगो स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने निष्कर्ष दिएका छन् । 

हालै पोखरामा गरिएको आइडीइ—नेपालको प्रेरणा परियोजनामा सहभागी स्थानीय साझेदारहरुको असल सिकाइ अनुभव आदान प्रदानका अवसरमा साझेदार गैसस तथा सहकारी प्रतिनिधिहरुले माटोको दिगो स्वास्थ्यका लागि गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोगले सकारात्मक लाभ दिएको बताएका छन् । प्रेरणा परियोजना अन्तरगत पोखराको लिवर्ड बाट पाँबटा कृषि सहकारी र स्याङ्गजाको आस्क—नेपाल अन्तरगत चारवटा कृषि सहकारीहरुले गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोगबाट माटोको स्वास्थ्य सुधारकालागि अभ्यास गरेको परियोजनाका व्यवस्थापक ललीत शाहले जनाएका छन् । कास्कीको मादी तथा माछापुच्छे« गाउँपालिका र स्याङ्गजाको गल्याँङ्ग तथा वालिङ्ग नगरपालिकामा अभ्यास गरिएको गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोगबाट सूरु गरिएका असल कृषि अभ्यासका सिकाइहरुबारे समिक्षा गरिएको थियो । समिक्षाका क्रममा एग्रीपथका सिकाइहरु, गडौलीमल र ढुशीजन्य ट्राइकोडर्माका साथै पोखराको सराङ्गकोटको ठोट्नेखोला सामुदायिक वनको स्याउला—सोत्तरबाट बनाइएको कम्पोस्ट मल, माछापुच्छे« गाउँको व्यवसायिक गडौलीमल तथा वालिङ्ग— गल्याङ्ग क्षेत्रका किसानको गडौलीमल उत्पादन र बजारिकरण अनुभवका साथै दिगोपनका सम्भावनाका बारेमा समिक्षा गरिएको थियो ।
जर्मनको वियर फाण्डेशनको सहयोगमा आइडिइ नेपालको सहकार्यमा संचालन भएको गडौलीमल र ढुशीजन्य ट्राइकोडर्माका माध्मबाट असल कृषि अभ्यासमा टेवा पुर्याउन गरिएका अभ्यासका बारेमा लिवर्डका कार्यकारी सचिव बेनीबहादुर बस्नेत र आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्माले संस्थागत सिकाइ राखेका थिए ।

नेपालमा थोपा सिंचाइ र कृषि पोषण विकासका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइडिइ—नेपालले परिक्षणका रुपमा २ वर्षे गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोगबाट सिकेका असल सिकाइहरु दिगो कृषिका लागि सहयोगी हुने विश्वास लिएको संस्थाकी प्रमुख कार्यकारी निर्देशक मेनिला खरेलले बताइन् । कृषिका असल अभ्यासहरु ‘हेर्दै र गर्दै, गर्दै र सिक्दै’ (लर्नीङ्ग बाइ डोइङ्ग, डोइङ्ग बाइ सिइङ्ग) आएको हुनाले गडौलीमल र ढुशीजन्य ट्राइकोडर्माको प्रयोग पनि यस्तै सिकाइको पाठशाला भएको परियोजना प्रमुख ललीत शाहले बताए । परियोजनाका क्रममा साझेदारर किसानहरुको अनुभवमा रहेर त्रिभुवन विश्वविद्यालयका ३ जना विद्यार्थीहरुले क्रियात्मक अनुसन्धानकार्य पनि गरेका छन् । स्याङ्गजा क्षेत्रमा समाजशास्त्रका २ विद्यार्थीले अध्ययन गरेका छन् भने पोखरा क्षेत्रमा प्राणी शास्त्रका १ विद्यार्थीले गरेको अध्ययनका निचोड पोस्टर प्रस्तुत गरेका थिए ।
समिक्षाका क्रममा कास्कीका कृषि विकास कार्यलय प्रमुख सुदिप खतिवडाले माटोमा सन्तुलित पोषण वा खाद्यतत्वको सन्तुलनको सबालमा ध्यानदिन किसान र प्राविधिकहरुको ध्यानाकर्षण गराएका छन् । खतिवडाले पाँच स अर्थात, सोयल, सोसल मोविलाइजेशन, सजेसन, सेयरिङ्ग, सञ्चारको सन्तुलित व्यवस्थापनबाट माटो सजिव राख्न सकिने उपाय सुझाएका छन् ।

माटोको स्वास्थ्य सुधारका लागि सुदिप खतिवडाको सुझाव
पाँच स अर्थात,
सोयल,
सोसल मोविलाइजेशन, सजेसन
सेयरिङ्ग,
सञ्चारको
सन्तुलित व्यवस्थापनबाट माटो सजिव राख्न सकिन्छ ।
वालिसंरक्षण प्रयोगशालाका विज्ञ शालिकराम अधिकारीले गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोग गर्दा माटोमा सुक्ष्म जीवको विकासमा टेवा पुग्ने, वालीको जरामा शत्रुजन्य ढुशि नियन्त्रण र मित्रु जन्य ढुशीको सुरक्षा कवच निर्माण हुने हुनाले वाली स्वास्थ्यका लागि यो प्रणाली असल अभ्यास हुने आधारहरु प्रस्तुत गरे ।
प्रादेशिक मल प्रयोगशाला प्रमुख सुनिल पाण्डेले किसानहरुले अपनाउने गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रणालीले बालीको जरामा लाग्ने हानीकारक ढुशी निमाटोड नियन्त्रण गर्न योगदान पुग्ने भएकाले गडौलीमल र ढुशीजन्य ट्राइकोडर्माको व्यवसायिक उत्पादन र मापदण्ड अनुसारको बजारीकरण गर्न प्रयोेगशालाले पनि सहजीकरण गरिरहेको बताए ।
माटो सजिवताका लागि प्रेरणाका पहलहरुले एक विश्व एकै स्वाथ्य अभियानका दिगो स्वास्थ्य रणनिति अनुसारका क्रियाकलापमा योगदान पुगेकोले कालो सुनका रुपमा किसानहरुमा लोकप्रिय रहेको गडौलीमलको उत्पादनबाट आर्जन र माटो सुधारका पहलहरु बढने अपेक्षा गरिएको छ । 


