नेपालमा कृषि नीति, अनुदान र कार्यक्रमहरूको चर्चा धेरै हुन्छ, तर माटोको स्वास्थ्यलाई केन्द्रमा राखिएको स्पष्ट र बाध्यकारी नीति अझै देखिँदैन। उत्पादन बढाउने नाममा रासायनिक मल, विषादी र तात्कालिक नतिजामुखी कार्यक्रमले माटोलाई सिथील बनाइएको छ । माटो कमजोर हुँदै जाँदा किसान गरिब, वातावरण असन्तुलित र खाद्य प्रणाली असुरक्षित बन्दै गएको तथ्यलाई राज्यले अब गम्भीर रूपमा आत्मसात गर्नुपर्छ ।
वैदिक कृषि दर्शनले शदियौँअघि भनेको ‘कृषि मूलश्च जीवनम्’ आज पनि उत्तिकै सान्दर्भिक छ। माटो, पानी, बीउ र जीव बीचको सन्तुलन बिना दिगो कृषि सम्भव छैन। तर व्यवहारमा हाम्रो कृषि नीति उत्पादन–केन्द्रित छ, माटो–केन्द्रित छैन। यही कमजोरीले किसानलाई मलमा निर्भर र माटोलाई मृत बनाउँदै लगेको छ ।
आइडीइ–नेपालको समन्वयमा सञ्चालन भएको प्रेरणा परियोजनाले यो दृष्टिकोण उल्ट्याउने सम्भावना देखाएको छ । गडौलीमल र ढुशीजन्य ट्राइकोडर्मा प्रयोगबाट माटोभित्रका सूक्ष्मजीव पुनर्जीवित हुँदै उत्पादन सुधार भएको अभ्यासले पुष्टि गरेको छ। प्रश्न उठ्छ— यस्तो प्रमाणित अभ्यासलाई परियोजनामै सीमित राख्नु कि सरकारको माटो सुधार नीतिमा समेट्नु ?
नीति निर्माताले अब गडौलीमल र जैविक माटो सुधार प्रणालीलाई वैकल्पिक होइन, मुख्यधाराको कृषि रणनीतिका रूपमा स्वीकार गर्नुपर्छ। मल अनुदानजस्तै माटो स्वास्थ्य अनुदान, जैविक मलको मापदण्ड, प्रमाणिकरण र बजार सुनिश्चितता राज्यकै जिम्मेवारी हुनुपर्छ। स्थानीय सरकारहरूलाई माटो परीक्षण, सूक्ष्मजीव संरक्षण र जैविक अभ्यासमा आधारित कार्यक्रम अनिवार्य गर्न आवश्यक छ ।
अझै पनि किसानलाई ‘उत्पादन बढाउन मल थप’ भन्ने सन्देश दिइँदैछ, जबकि विज्ञहरू माटोमा पोषण सन्तुलन, सूक्ष्मजीव र जैविक जीवन जोगाउनुपर्ने बताइरहेका छन् । यो द्वन्द्व समाधान नगरेसम्म कृषि बजेट खर्च भए पनि नतिजा नआउने स्पष्ट छ। कृषि प्रशासनको सोच बदलिएन भने माटो सुधारका असल अभ्यासहरू अपवादमै सीमित रहनेछन् ।
माटो स्वास्थ्य भनेको केवल कृषि मुद्दा होइन, यो खाद्य सुरक्षा, जलवायु अनुकूलन र सार्वजनिक स्वास्थ्यसँग जोडिएको नीतिगत मुद्दा हो। ‘एक विश्व, एक स्वास्थ्य’ रणनीतिसँग मेल खाने यी अभ्यासलाई राष्ट्रिय कृषि नीतिमा समेट्न ढिलाइ गर्नु भविष्यप्रति गैरजिम्मेवारी हुनेछ ।
किसानलाई मलमा बाँधिरहने कि माटोलाई जीवित बनाउने भन्ने सबालमा गम्भीर हुनु जरुरी छ । माटो जोगाउने नीति नबनाएसम्म, कृषि सुधारका सबै दाबीहरू कागजमै सीमित हुनेछन् ।

