आरसी टाइम्स व्युरो
पोखरा, श्रावण २३
गण्डकी प्रदेशको पर्यटकीय उपभोक्ता बजारमा लोकप्रिय फसलका रुपमा चिनीएको मुस्ताङ्गको स्याउ यो वर्ष भाद्रको अन्तिमसाता मात्र बजारमा आउने भएको छ । विगतका वर्षमा बगैचा ठेक्कामा लिने व्यापारीहरुले स्याउ परिपक्व नहुँदै बजारमा ल्याउने गरेका र बजारमा उपभोक्ताको रोजाइमा धोका हुन पुगेका कारण स्याउको गुणस्तर नियन्त्रणका लागि कृषि र विकास प्रशासन सरोकारवालाहरुले यो निर्णय लिएको मुस्ताङ्ग कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले व्युरोलाई जनाएका छन् । मुस्ताङ्गका जिल्ला समन्वय समिति उप प्रमुख आइतलाल थकालीको अध्यक्षतामा हालै बसेको समन्वय बैठकले स्याउको गुणस्तर सुधारका लागि बजारिकरण रणनितिमा समिक्षा गर्नु परेको बताइएको छ । मूस्ताङ्गमा स्याउन उत्पादन हुने मुक्ति क्षेत्र, घरपजोङ्ग र थसाङ्ग गाउपालिका प्रमुख तथा स्थानीय स्याउँ फार्मका प्रतिनिधि समेतको रोहबरमा स्याउ टिप्ने कार्यपात्रो बनाइएको छ ।
स्याउँमा पर्याप्त गुलीयोपनाको विकास गर्नका लागि मुस्ताङ्गको स्याउ काँचो अवस्थामा नटिप्ने र पाको बनाउने रणनीति लिइएको ज्ञान केन्द्र प्रमुख बस्ताकोटीले बताए । खासगरि मुस्ताङ्गे स्याउको ख्याती जोगाउन यसको गर्नु परेको र उपभोक्ताका लागि परिपक्व स्याउ पुगोस भन्ने मनसाय रहेको उनको दावी छ । हालै बनाइएको कार्यपात्रो अनुसार चाडै तयार हुने केही विकासे जातका किङ्गरोट र गाला जस्ता स्याउँहरु साउनकै २५ गतेबाट टिप्न सकिने तर पुराना र मुस्ताङ्गको पहिचानसँग जोडिएका स्याउहरु भाद्रको २५ गतेबाट विक्रि वितरण गर्न उपयुक्त हुने कुरामा किसानहरु पनि सहमत भएका छन् । यो सहमती तोडेर कसैले तोकिएको मिति भन्दा अगाडि स्याउ टिप्ने र विक्रिका लागि लैजान नपाओस भनेर रोक्नका लागि स्थानीय प्रशासनलाई अनुरोध पनि गरिएको छ ।
मूस्ताङ्गको स्याउँ विकास र बजारिकरणका लागि पदेशिक कृषि विकासका एजेन्सी कार्यालयहरुबाट कृषिमा लगानी प्रबाह गर्दा विशेष ध्यान दिनु आवश्यक रहेको पनि औल्याइएको छ । जिल्लामा स्याउ भण्डारणका लागि कोल्ड स्टोर ३ बटा, कोल्ड रुम १२ वटा निर्माणमा अनुदानको माग गर्ने तथा प्राङ्गारिक मल वितरणमा जोड दिने पनि प्रस्ताव राखिएको जनाइएको छ । स्याउ खेतिसँगै मौरी पालन गर्न प्रेरित गर्ने तथा अन्य षेत्रका स्याउ बगैचा व्यवस्थापनका जुक्ति सिकाउन किसानलाई अवलोकन भ्रमणमा लैजान पनि प्रदेश सरकारलाई आग्रह गरिएको ज्ञान केन्द्र प्रमुख बस्ताकोटीले जनाएका छन् ।