आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ २३
पोखरा महानगरको ग्रामीण बस्ती वडा नं २० को मौजामा हालै बाख्रा मेला सम्पन्न भएको छ । व्यवसायिक बाख्रा पालन गर्दै आएका समुह र सहकारीको सहजिकरण गर्न महानगरको पशुसेवा शाखाले मेला आयोजना गरेको जनाइएको छ । विगत १० बर्ष अघिसम्म तीन चार सय बाख्रा हुने मौजामा हाल ५ हजार जति बाख्रा संख्या पुगीसकेको महानगर पशुसेवा शाखाले जनाएको छ ।
पोखरा शहरका उपभोक्ताको निकट रहेको लेकाली बस्ती मौजाका बाख पालनले बार्षिक २ करोड बराबरको कारोबार गर्दै आएको अगुवा किसान दुर्गाबहादुर गुरुङ्गले बताएका छन् ।
हाल मौजामा व्यावसायिक फर्म बढदै छन् । लेकाली हावापानीमा हुर्केका यहाका खसी बोकाको बजार र बिक्रीमा समस्या नभएको किसानहरुले बताएका छन् । अहिले यो क्षेत्र माउ बाख्रा तथा बोकाको स्रोत केन्द्रको रुपमा बिकास भएको छ । हालै आयोजित बाख्रा मेला प्रदर्शनीमा २० वटा फर्मले बोका र माउ बाख्रा प्रदर्शनी गर्न ल्याएका थिए ।
मेलामा उन्नत जातहरुकै संख्या प्रशस्त देखिएको र बोका तर्फ ४ र माउ बाख्रा तर्फ ४ जनालाई पुरस्कृत गरिएको महानगर कृषि विकास महाशाखा प्रमुख मनहर कडरीयाले बताए ।
मेलामा पशु बिज्ञ केन्द्र, पशु सेवा शाखा तथा सेवा केन्द्रका प्राबिधिकले मल््यांकन गरेका थिए । सोही कार्यक्रममा बाख्राको लागि आवस्यक औषधि पनि नि शुल्क बितरण गरीएको थियो ।
मौजा बाख्रा पालक कृषि सहकारीका अध्यक्ष दुर्गा बहादुर गुरुङले यस्तो कार्यक्रमले यस क्षेत्रको पहिचान बढाएको र कृषकको हौसला बढाएकोले आगामी बर्ष पनि चाडपर्वको अवसर पारेर आयोजना गर्नुपर्ने माग राखेका छन् ।
मौजाको बाख्रा पालनमा नागरिक सहभागतिा र लगानीका हिसावले यस क्षेत्रलाई ब्लक वा जोन घोषण गर्नुपर्ने र कृषि उत्पादनलाई पनि सँगसँगै लैजान पर्ने सुझाव दिएका छन् ।
मुख्य शहरबाट निकट रहनु र चरन क्षेत्र प्रशस्त भएको पुर्वी दक्षिण फर्किएको पहारलिो पाखो भएकाले यो क्षेत्रमा बाख्रा पालन बिस्तार गर्न सकिने सम्भावना रहेको पशुसेवा प्राविधिक नवराज अधिकारीले बताए ।