कुलराज चालिसे
कुनैपनि पहाड मैदान माथी टुपुक्क बसेको हुदैन । पहाडको जह्रा पृथ्वीको गर्भसम्म विस्तारित भएको हुन्छ । त्यसैको जगमा पहाड निश्चल भएर वस्छ । त्यसैले दृष्यको उचाईलाई नापेर मात्र पहाडको व्याख्या गरेमा अपुरो हुन्छ । मध्य समुन्द्रको सतहबाट नापेर पनि हुँदैन । किनभने पहाडको जरा समुन्द्रको पिंध भन्दा धेरै तलसम्म विस्तारित हुन्छन् । स्वर्ग देखि पाताल सम्म फैलिएको पहाडलाई बुझ्भ्न नारायणको वराह अवतारको अन्तर्य बुझ्न आवस्यक हुन्छ । एउटा कलाकारले कल्पना गरेको बँदेलको आकृतिले वराह नारायणको लिलाकथा प्रतिबिम्बित गर्न भ्याउदैन । यस्तै सिद्धान्त रामायणकोे कथासार बुझ्न पनि लागु हुन्छ ।
रामायण बुझ्न नारायणका ढोके जय र विजय देखि सुरु गर्नुपर्छ । नकारात्मक भावमा मात्र दशानन र शतानन रावणहरुको चरित्र बुझेर मात्र हुँदैन । महाकाशको पञ्चतत्व अन्नको माध्यमले जीवको भौतिक शरीरमा रुपान्तरण हुने र अन्नको गुणस्तरले मनको गुणस्तर निर्धारण गर्ने उपनिषत्का सुत्रसम्म विश्लेषण गर्न सकिएन भने रामायणले मौन भाषामा सम्प्रेषण गर्न खोजेको सन्देश बुझ्न सकिदैन ।
पृथ्वीको भारवहन तथा प्रजापालन क्षमता भन्दा धेरै पापको संग्रह हुँदा पृथ्वी माताले ब्रह्मदेवलाई गुनासो गरेपछि देवसभाले भारहर्नको निमित्त रचना भएको स्क्रिप्ट अनुसारको लिलाकथाको संग्रह रामायण हो । यो कथालाई राम, सीता वा हनुमान मध्य कस्लाई प्रधानपात्र बनाउने भन्ने कुरा लेखकीय क्षमता हो । वैष्णवहरुले श्रीरामलाई प्रमुखपात्र बनाउलान्, शैवहरुले श्रीहनुमानलाई बनाउलान् र शाक्तहरुले सीतामातालाई प्रमुखपात्र बनाएर व्याख्या गर्लान् । माथि उल्लेखित तीनैजना अजन्मा र अनन्त हुनुहुन्छ । तैपनि त्रेतायुगमा वाहाहरुले मत्र्यलोकमा कति समय विताउनुभयो भनेर जिज्ञासा उठछ । तीन मध्य सीतामाताले मिथिला, अयोध्या, दण्डकारण्य र वाल्मिकी आश्रममा गरेर लगभग ४९ वर्ष मात्र पृथ्वीमा बस्नु भयो ।
रावणले चिनेको सीतालाई मिथिला र अयोध्या दुवैले चिन्न सकेको थिएन । माहेश्वरी अन्नपूर्णको लिलाकथा नबुझ्नदा सीतालाई चिन्न सकिदैन ।
लगातारको खडेरीले अक्रान्त बनेको मिथिलामा सीताको प्रवेश पछि अनिकालको अन्त भएको बिर्सेर कुल गोत्रको प्रश्न उठाएर स्वयं ब्राह्मणले पनि सीतालाई स्वीकार गरेका थिएनन् ।
अयोध्याले रावणको बात लगाएर त्याग गर्न नै बाध्य बनाएको थियो । त्यसैको परिणामस्वरुप २५००० श्लोकमा खुम्चिएको रामायणमा श्रीसीतामाताको माहेश्वरी अन्नपूर्ण स्वरुप अटाउन सकेको थिएन ।
श्रीरामले लगभग एघारहजारवर्ष पछि जल समाधि लिनुभयो भने अष्टचिरञ्जिवी मध्यका हनुमान अहिले पनि हुनुहुन्छ भन्ने मान्यता छ । श्रीरामको एघार हजार वर्षको डायरी २५००० श्लोकमा सिमित रामायणमा अटाउन सक्दैन । सीतामाताको ४९ वर्षको सम्पूर्ण विवरण नभए पनि मूल लिलाकथाहरु समेटने सम्भावना रहन्छ । हनुमानको लिलाकथा त भविष्यमा पनि निरन्तर रहने भएकोले समेटिने कुरै भएन । त्यसैले सय करोड श्लोकमा विस्तारित रामायणको सीता माहात्म्य मध्य पनि संक्षिप्त स्वरुप मात्र बाल्मिकी रामायण हो । हामीले पढेको रामायण सय करोड श्लोकमा पनि अटाउन नसकेको विस्तारित लिलाकथाको सानो अंश मात्र हो । रामायणको रहष्य त पृथ्वीको गर्भमा विस्तारित पहाडका जह्रा जस्तै हुन्छ । मननको गहिराई अनुसार रामायणको रहष्य उजागर हुँदै जाने हो ।
सितारामको अवतार चमत्कार प्रदर्शन गरेर भक्त विस्तार गर्ने विज्ञापन भएको थिएन । उनिहरुले सुखभोगको निमित्त मत्र्यलोकलाई रोजेका थिएनन् । उनिहरुको लिलाकथा बुझ्न २५००० श्लोकको बाल्मिकीय रामायण मात्र प्रयाप्त छैन । सय करोड श्लोकमा विस्तारित विशाल रामायण बुझ्न अध्यात्म रामायण, आनन्द रामायण, अदभुत रामायण, रामचरितमानस र योगवासिष्ट मात्र पनि प्रयाप्त हुदैन । पुराण, उपपुराण तथा उपनिषद्को पनि शुक्ष्म अध्ययन हुन आवस्यक हुन्छ । त्यस्तो अध्ययनले शास्त्रज्ञ बन्न सके पनि आत्मज्ञ बन्न सकिदैन । आत्मज्ञ बन्न त रामायणलाई जीवन पद्धत्तिमा रुपान्तरण गर्न सक्नु पर्छ । समष्टिमा भन्नुपर्दा रामायणका हरेक पात्रको छायाँ र मायाचक्रको ज्ञान हुन आवस्यक हुन्छ । मायास्वरुपमा मात्र रामायणलाई धारण गरीयो भने अत्यन्त सतही हुन्छ । भक्ति पनि अन्धभक्तिमा सिमित हुन्छ । रामायणलाई धारण गर्न त हरेक पात्रको छायास्वरुपको धारण गर्न अनिवार्य हुन्छ ।
सामान्यतया रामायणमा श्रीरामलाई केन्द्रमा राखेर विवेचना गरीन्छ । श्रीहरि विष्णुको अवतार भएको कारणले श्रीरामलाई केन्द्रमा राख्नु तर्क संगत नै हुन्छ । तर श्रीरामको अवतार पृथ्वीको भारहरण गर्ने देवसेनाको नेतृत्वगर्न भएकोले श्रीसीताको भूमिकालाई केन्द्रमा नराख्ने हो भने रामायणले दिन खोजेको वास्तविक सन्देश बुभ्mन सकिदैन । सीतामाता बाहेक रामायणका अन्य पात्रहरु योनिज हुन् । योनिजको अर्थ जन्म र मृत्यूको चक्रमा बाँधिएका पञ्चतत्वको नासवान शरीर भएका पात्र भन्ने बुझिन्छ । सीतामाता अयोनिज हुनुहुन्थ्यो । धर्तीबाट उत्पन्न भएर धर्तीमा समाहित देवशरीर युक्त पूर्णआत्मा । छ वर्षको उमेरमा विवाहबन्धनमा बाँधिनु भएको सीतामाताले दरवारको सुखभोग थोरै समय मात्र गर्नुभएको थियो ।
मत्र्यलोकको बसाईमा वाहाले धेरै समय दण्डकारण्य र वाल्मिकीआश्रमको वनमा विताउनु भयो । वाहाको आहारामा वनका कन्दमूल प्रमुख थिए । वनवासी अनुशासनमा व्यञ्जन हुदैनथ्यो । माताले वनवासको दुवै चरणमा वनवासी अनुशासनलाई इमान्दारी पूर्वक पालन गर्नु भएको थियो । झट्ट हेर्दा वाहालाई बारम्बार त्याग र हरण गर्ने वस्तुलाई जस्तै व्यवहार गरीएको देखिन्छ । तर शताननको अन्त्य गरेर रामायणको क्लाईमेक्स वाहाले नै स्थापित गर्नु भएको छ । पुष्करदिपमा माताले शताननसंग गर्नुभएको युद्धको साक्षी श्रीरामका चारैभाई थिएनन् । उक्त युद्धको प्रतक्ष द्रष्टा हनुमान मात्र थिए । श्रीरामका चारैभाई सहित सम्पूर्ण सेनालाई अचेत बनाउन सक्षम शताननलाई अयोनिजले मात्र अन्त्य गर्न सक्ने भएकोले सीतामाताले महाकालीको रुप धारण गर्नु परेको थियो ।
हालका दिनमा श्रीसीतारामको चरित्र वर्णन गर्ने योगीको कमी छैन । रामायण उपर धेरै भाषाटिकाहरु प्रकाशन भएका छन् । सुरुका दिनमा पाँच काण्डमा लेखिएका रामायणमा काण्ड थप्ने मात्र नभई आँफु आवद्ध सम्प्रदायको महत्व स्थापित गर्न कुन पात्रको केन्द्रिय भूमिका प्रदर्शन गर्ने भन्ने अस्वस्थ होडबाजी नै चलेको छ । अध्यात्ममा पनि विज्ञापनको सहारा लिईएको छ । सम्प्रदाय नीरपेक्ष भएर रामायण कथा वाचन गर्नेको अभाव जस्तै देखिएको छ ।
सीता हलेष्टियज्ञको प्रशाद थिईन । माहेश्वरी अन्नपूर्णको लिलाकथा नबुझ्नदा सीतालाई चिन्न सकिदैन । लगातारको खडेरीले अक्रान्त बनेको मिथिलामा सीताको प्रवेश पछि अनिकालको अन्त भएको बिर्सेर कुल गोत्रको प्रश्न उठाएर स्वयं ब्राह्मणले पनि सीतालाई स्वीकार गरेका थिएनन् । अयोध्याले रावणको बात लगाएर त्याग गर्न नै बाध्य बनाएको थियो । रावणले चिनेको सीतालाई मिथिला र अयोध्या दुवैले चिन्न सकेको थिएन । त्यसैको परिणामस्वरुप २५००० श्लोकमा खुम्चिएको रामायणमा श्रीसीतामाताको माहेश्वरी अन्नपूर्ण स्वरुप अटाउन सकेको थिएन ।
आगामी केहि हप्ता हामीले वाल्मिकीकृत अद्भुत रामायणलाई आधार मानेर सीतायण उपर वैज्ञानिक वहस गर्छाै । सीतामाताको माया शरीर भन्दा माहेश्वरी अन्नपूर्णाको चर्चा गर्छाै । सन्त समाजले मानोस् कि नमानोस् पुराण उपपुराण र उपनिषद्को प्रमाण प्रस्तुत गर्छाै । सीतायणको माध्यमले कृषिलाई सम्मानित यज्ञको दर्जा दिने प्रयास गर्छाै । पातालसम्म जरा फैलिएको पहाड जस्तै रामायणको लुप्त सन्देश खोतल्ने प्रयास गर्छाै ।