आरसी टाइम्स
पोखरा, पौष २८
कास्की — रुपा गाउँपालिका वडा नं ७ काउरेका १६ जना मौरीपालक कृषकले चालु वर्ष मौरीपालनबाट उल्लेख्य आम्दानी गरेका छन् । उनीहरूले जम्मा ३२६ वटा मौरी घारबाट २ हजार ३४५ केजी मह उत्पादन गरी ३५ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको आम्दानी गरेका हुन् ।
उक्त क्षेत्रका कृषकहरूले उत्पादन गरेको मह प्रति केजी १ हजार ५ सय रुपैयाँ का दरले बिक्री गरेका छन् । मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाइरहेका प्रमुख कृषकहरूमा पुष्पराज सुवेदी (८५ घार), ईश्वरी प्रसाद सुवेदी (७५ घार), सोमनाथ सुवेदी (३) घार), कृष्ण प्रसाद सुवेदी (२२ घार) रहेका छन् । अन्य कृषकहरूले ५ देखि १५ वटा घारसम्म मौरीपालन गर्दै आम्दानी लिइरहेका छन् ।
रुपा गाउँपालिकाले ‘एक घर एक घार’ नीति अनुरूप विगत दुई आर्थिक वर्षदेखि गोला सहितको मौरी घार, खाली घार तथा अन्य आवश्यक मौरीजन्य सामग्री वितरण गर्दै आएको छ । यसले ग्रामीण क्षेत्रमा मौरीपालनलाई आयआर्जनको दिगो माध्यमका रूपमा स्थापित गर्न टेवा पुगेको स्थानीय कृषकहरूको भनाइ छ ।
मौरीपालन प्रवद्र्धनप्रति गाउँपालिकाको प्रतिबद्धता आर्थिक वर्ष २०८०/८१ मा नेपालकै सबैभन्दा बढी—२ हजार वटा गोला सहितको मौरी घार खरिदका लागि टेण्डर आह्वान गरेको थियो । यस पहलले रुपा क्षेत्रलाई मह उत्पादनको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
