आरसी टाइम्स व्युरो
पोखरा, आषाढ २०
जैविक विविधता र पोषणमा विविधता रहेको रैथाने बालीहरुको पोषीलो पक्षलाई खाद्य संस्कृति र बजारमा विस्तार गर्न परिकारमा विविधिकरण आवश्यक रहेको खाद्य शोधकर्ताहरुले जोड दिएका छन् । रैथाने बालीमा पोषणको महत्वका दृष्टिले बढी नै उपयोगी भएपनि उपभोक्ता रुची मैत्री परिकार प्रस्तुत गर्न नसकेका कारण बालीको उपभोक्ता बजार विस्तार गर्न कठिनाइ भइरहेको उनिहरुले बताएका छन् । हरेक रैथाने बालीको उपभोक्ता मैत्री परिकारहरु पस्कने अभ्यास बढाउन सकेमा बजारको मागले नै रैथाने बालीको बजार विस्तारमा सहयोगी हुने उनीहरुले बताएका छन् ।
गण्डकी प्रदेशको कृषि मन्त्रालयको अगुवाइमा हालै पोखरामा आयोजित खाद्य र पोषण सुरक्षाका लागि रैथाने बाली संरक्षण तथा प्रबद्र्धन सम्बन्धी गोष्ठीमा खाद्य सोधकर्ताहरुले पोषीला रैथाने बालीहरुमा भएको अनुसन्धान र तिनिहरुको संरक्षणका चुनौतिहरुका बारेमा सम्बाद गर्दै कृषि उत्पादन र बजार प्रवद्र्धनका जुक्तिहरु सुझाएका छन् ।
पोषणका सबालमा उपभोक्ताहरुलाई अभिप्रेरणा जरुरी रहेको खाद्य गुण नियन्त्रण कर्मीहरुल जोड दिएका छन् भने किसान तथा कृषि उद्यमीहरुलाई खाद्य प्रयोगशालाको सहज पहुँचको खाँचो रहेको उद्यमीहरुले औल्याएका छन् । सरकारी खाद प्रयोगशालाको परिक्षण कार्य पात्रोमा निजी उद्यमीका उपजहरुको पनि परिक्षण गर्दै बजारमा पोषण गुणस्तरका बारेमा संचारिकरण गर्नमा प्रदेश सरकाले जोड दिनु पर्ने विज्ञहरुले औल्याएका छन् । यस्ता पोषणका सबालहरु संचारीकरण अभ्यासहरुमा ‘रैथाने जातका बालीहरुको इज्जत बढाइदिन’ किसानहरुले आग्रह गरेका छन् ।
रैथाने बालीमा पोषणको मात्रा र महत्वका सबालमा बालीको अनुवांशिक गुण र उत्पादन प्रकृयाको व्यवस्थापन प्रणाली जिम्मेवार रहने भएकाले सरकारले वाली अनुसन्धान र पोषण संरक्षणका उपायहरुमा लगानी बढाउनु पर्ने खाँचो औल्याइएको छ भने निजि क्षेत्रले उपभोक्ता बजार विस्तारका जुक्ति अपनाउनु पर्ने र खाद्यसंस्कृति रुपान्तरण मैत्री संचारीकरणमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।
खाद्यपोषण सम्बादका लागि गण्डकी प्रदेश कृषि मन्त्रालयका तर्फबाट बालकृष्ण अधिकारी, कृषि अनुसन्धान निर्देशनालयबाट रमेश आचार्य र लिवर्डबाट श्रीप्रसाद न्युपानेले छलफलपत्र पेश गरेका थिए ।
छलफलका क्रममा लिवर्डको पहलमा खुलेको अन्नपात एग्रो प्रालि र मुनाबजार र सुनौला हजार दिनका पोषिलो आहारा अभियान सुआहाराका स्थानीय प्रतिनिधिहरुले रैथाने पोषणयुक्त बालीको बजारीकरणमा भोगेका कठिनाइहरुका बारेमा अनुभव सुनाएका थिए ।
रैथाने पोषिला खाद्यबस्तुहरुलाई विद्यालय खाजा कार्यक्रमसँग जोडेर पनि बजार विस्तार गर्न र विद्यालय खाजा कार्यक्रममा सुधार गर्न सकिने पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले सुझाएका थिए । यसैगरि पोषण सुरक्षा अनुसन्धान र बजारीकरणका जुक्तिहरुमा अन्तर—मन्त्रालय सहकार्य र सहलगानीको सम्भावना पनि रहेको र संस्थागत ज्ञानको आदान प्रदान जरुरी देखिएको प्रादेशिक स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि बुद्धिसागर अधिकारीले बताए ।