आरसी टाइम्स व्युरो
पोखरा भाद्र ११
नयाँ आर्थिक वर्षलागेपछि पोखरा महानगरका वडा कार्यालयहरुले स्थानीय किसानहरुलाई दिइएका सेवा टेवा र सुविधाका बारेमा सम्बाद थालेका छन् । यहि मौकामा किसानहरुले गत वर्षका कमजोरी र लगानीका जटीलता तथा चालु वर्षका योजनाबारे महानगरका प्रतिनिधि वडाध्यक्षसँग सवाल जवाफ गर्न थालेका छन् । यहि क्रममा पोखरा २५ वार्ड कार्यलयको आयोजनामा संचालित सम्बादमा किसानहरुले महानगर सत्ता प्रति विभिन्न सबाल उठाएका छन् ।
कृषि बजारिकरणका माध्यमबाट समृद्धिको मोडेल अभ्यास गर्ने दावी गरिरहेको पोखरा महानगरमा हेम्जाका किसानहरुले स्थानीय कृषि बजारमा हरेक दिन ५—६ गाडी सामान पठाउँदै आएका छन् । तर पनि समयमै गुणस्तरीय मल तथा बिउ उपलब्धता नहुने र यो बर्ष भक्तपुर लोकल काक्रोको बिउ गतिलो नहुँनाले बजारको सिजनमा भनेजस्तो लाभ लिन नसकिएको बताएका छन् । किसानहरुले कृषि अनुदान प्रक्रिया लामो र झन्झटिलो भएको ब्यबसाय दर्ता, नबिकरण र स्थाइ लेखा नम्बर बापतको कर बढेकोमा किसानहरुले गुनासो गरेका छन् ।
कृषि बिमा र सहुलियत ऋण लिन किसानलाई सहज नभएको गुनासो गरिएको छ । किसानलाई उन्नत प्रविधिमा पहुँच गर्न प्रेरित गर्दै जग्गा तयारीको लागि ट्रयाक्टर प्रयोग गर्दा भाडा रकम प्रति घण्टा रु ३००० देखि ३५०० सम्म असुलिने गरेको, र यो मुल्य डोजरको भन्दा पनि धेरै भएको गुनासो गर्दै स्थानीय सरकारले प्रविधि प्रयोगको भाडा दर तोकेर एकरुपता कायम गर्न किसानहरुले सुझाएका छन् ।
किसान पहिचानको सबालमा जटिलता आएको बताउँदै बालि अनुसार किसान छुट्याउनु पर्ने पनि सुझाइएको छ । बजार हेरेर सबैले एकै लगाउने होइन , धेरै बालि खेति गराउनु पर्र्यो भन्दै किसानहरुले बाली विविधिकरणबाट दिगो बजारीकरण मोडलमा लैजान महानगरलाई सुझाएका छन् ।