आरसी टाइम्स व्युरो
पोखरा, फाल्गुण 25,
पोखरा महानगरपालिकाको अनुदान तथा सहजीकरणमा विजयपुर खोला जलाधार क्षेत्रका किसानहरु तर्बुजा खेतीमा आकर्षित भएका छन् । महानगरका १६० जना किसान तर्बुजा खेती अभियानमा जोडिन इच्छुक देखिएका छन्। अनुदानग्राही सूचीका १५० जना किसानहरु सक्रिय हुने देखिएको छ । विजयपुर खोला जलाधारका ढाँटबेसी, बयरघारी, सुनपदेली, कसेरीमा तर्बुजाका लागि बारी तयारी र रोपण कार्य भइसकेको छ । किसान श्रीधर बराल र रोशन बरालले बगर क्षेत्रको सदुपयोग गर्दै बिरुवा सार्ने काम धमाधम भइरहेको बताएका छन् 
यी ठाउाका बलीहरु अगौटे बालकिा रुपमा उच्च बजार मुल्य पाउने तयारीका लागि किसानहरु खटीरहेका छन् । यसैगरि विजयपुर खोला जलाधारकै बगुवा, झौरी खेत र काहुँखोला जलाधारको पाटनबेसी दुईकुला मुहानमा आलु खेती थन्क्याएर तर्बुजा खेती तयारी भइरहेको कृषि सञ्जालका अगुवा नरेन्द्र अधिकारीले जनाएका छन् ।
विजयपुर खोलाको सिँचाइ अनुकूलता र बलौटेमाटो हुने भएकाले किसान उत्साहित छन् । यस वर्ष महानगरमा ८०० रोपनी क्षेत्रमा तर्बुजा खेती विस्तार हुने महानगर कृषि शाखाको आँकलन छ ।
राष्ट्रिय कृषि विकास नीति र गण्डकी प्रदेश कृषि नीतिले बगर तथा जलाधारमा उच्च मूल्यका ग्रीष्म बालीलाई प्राथमिकता दिँदै अनुदानमार्फत व्यावसायिक खेती जोड दिएका छन् । महानगरको यो अभियानलाइ टेवा पुर्याउन किसानहरुलाई बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान र न्यूनतम समर्थन मूल्य (प्रतिगोटा ३५ रुपैयाँ) सहित योगदान गरिरहेका कारण किसानहरु उत्साहित भएका हुन ।
तर्बुजा खेतिका लागि किसान सहभागिता बढेको भएपनि सिँचाइ स्थायित्व र बजार अस्थिरता चुनौती छन् । विगतका वर्षहरूमा उल्लेखनीय अभ्यासले अघिल्लो वर्ष २०० रोपनीबाट २ करोड कारोबार गरेका पोखराका तर्बुजा किसानहरु यो वर्ष सामुुहिक खेतिका माध्यमबाट उच्च मुल्य पाउने अपेक्षा गरेको वडा कृषि सञ्जालका अगुवा नरेन्द्र अधिकारीले जनाएका छन् ।
महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार, सरस्वती जातको तर्बुजामा प्लास्टिक मल्चिङले गोडमेल सजिलो बनाएको छ । ३०० रोपनीका लागि बिउ अनुदान वितरण भइसकेको छ भने बाँकीमा किसानले आफैं खरिद गरेका छन् । प्रतिरोपनी १ लाख देखि डेढ लाख आय हुने र तर्बुजा मेलाले बजार सुनिश्चित गर्ने अनुमान गरिएको छ । विजयपुर बगर खेतीले बाझो न्युनिकरण गर्दै जोखिम घटाउँदै ग्रीष्म रोजगारी सिर्जना गर्न थालेको छ । मणिदिप कृषि फर्म जस्ता स्थानीय पहलले अभियानलाई बल पुर्याएको छ ।

