गोपाल जीटी/आरसी टाइम्स
वालिङ्ग, मंसीर १८
स्याङ्जा वालिङका किसानहरु वर्षे अन्न स्याहारेर हिउँदे खेति लगाउने समयमा सामुहिक आलुखेतिमा जुटेका छन् । हिउँदेखेति मध्ये आलु लगाउन वालिङ १३ पाठखोलाका किसानहरु जुटेका छन् र सामुहिक आलु खेतीमा अगाडि बढेका छन् । यहाँको स्वाभिमान कृषक समूहले ४० रोपनी क्षेत्रफलमा सामुहिकरुपमा आलु लगाएको छ ।
विं.सं २०७३ सालदेखि यहाँका महिलाहरुले सामुहिक तरकारी खेति गर्दै आएका छन् । सत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा तालीम लिएपछि यहाँका महिलाहरुले व्यावसायिकरुपमा तरकारी खेति गर्दै आएको समूहकी अध्यक्ष मिना पाठकले बताइन् ।
तालीममा सिकेका कुरालाई प्रयोगमा ल्याई व्यावसायिक तरकारी खेतिमा लागेको समूहकी अध्यक्ष पाठकको भनाई छ । समूहमा १८ जना सहभागी रहेको उल्लेख गर्दै अध्यक्ष पाठकले सबैजनाले सामुहिकरुपमा मौसमी तथा वेमौसमी तरकारी खेति गर्दै आएको जानकारी दिइन् । अध्यक्ष पाठकका अनुसार ४ वटा क्लष्टर बनाएर कूल ४० रोपनी क्षेत्रमा आलु लगाउने काम गरिएको छ । यहाँ जनकदेव र खुमल उज्ज्वल जातको आलु लगाइएको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जाले बीउमा अनुदान र खरिद बिक्रिकोसमेत जिम्मा लिएसँगै किसानहरुलाई थप उत्साही बनाएको छ । किसानहरुले ४ वटा क्लष्टर बनाएर सामुहिकरुपमा आलु लगाएका छन् ।
यसैगरी कृषि ज्ञानकेन्द्र स्याङ्जाले आवश्यक सहयोगसँगै अनुदानसमेत उपलव्ध गराएर थप उत्साही बनाएको समूहकी प्रवक्ता तारा पाठकले बतााइन् । ज्ञानकेन्द्रले समूहलाई ४५ क्वीण्टल बीउ अनुदानमा उपलव्ध गराएको छ । प्रवक्ता पाठकका अनुसार कृषि ज्ञानकेन्द्रले ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको र आवश्यक थप सहयोगसमेत गर्ने भएको छ । उत्पादन भएपछि प्रचलित मूल्यमा ज्ञानकेन्द्रले खरिद बिक्रिकोसमेत जिम्मा लिने सम्झौता गरेको छ । यसकासाथै जैविक मल, डडुवा नियन्त्रण गर्ने विषादी र यान्त्रिकिकरणको पनि ज्ञानकेन्द्रले सहयोग गर्ने भएको छ । कृषि ज्ञानकेन्द्रले अनुदानसँगै खरिद बिक्रिको जिम्मासमेत लिने भएकाले समूह बाहिर रहेकाहरु समेत आलुखेतीमा आकर्षित भएका छन् ।