आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २६
कृषिजैविक विविधताका उपायहरु अपनाउँदै मानव समुदायले आफ्नो जीवीका व्यवस्थापन गर्न अन्न र वन्य खाद्य तथा सागपातका संगत विस्तार हुँदै आएका छन् । यस्ता वन्य सागपातमा गर्मी महिनामा पाइने सिप्लीकानको तरकारी निकै लोकप्रिय मानिदै आएको छ । प्रायजसो मानव वसोवासको व्यवस्थापन गर्दा पशु चरन खर्क व्यवस्थापन संगै घरछेउमा सिप्लीकानका वोटहरु रोप्ने चलन हुँदै आएकोमा आजकल शहरी उपभोक्ताको रुचीका कारण पनि शहरी कारोवारको अवशरले गर्दा वनबाट संकलन गरिएको सिप्लीकानको कलीलो पातको साग सहरी कृषि बजारमा आकर्षक मूल्यमा किनबेच हुन थालेको छ ।
पोखरा आसपासका बस्तीहरुबाट आम्शिकरुपमा आउने गरेको सिप्लीकान गण्डकी प्रदेशको नवलपुर पहाडी क्षेत्र देवचुलीबाट व्यवसायिक रुपमा बजारीकरण हुँर्दै आएको विक्रेताहरुले बताएका छन् । नवलपुरको वुलिङ्गटार क्षेत्रमा स्थानीयहरुले आफनो टारीबारी घरछेउमा व्यवसायिक रुपमा नै सिप्लीकान हुर्काउने, विरुवा विस्तार गर्ने र मौसमी बजारमा साग बेच्नेकार्य गर्दै आएको चुलीबोझा घरवासपर्यटन समितिका अगुवा हेमलाल बराल मगरले व्युरोलाई जनाएका छन् ।
स्थानीय ग्रामीण जनजीवनमा सिप्लिकान अत्यन्तै उपयोगी र औषधिय गुणले भरिपूर्ण भएको वन्य तरकारी मानिएको छ ।
यसको कलिला पात, डाँठलाई तरकारी, अचारको रुपमा प्रयोग गरिन्छ । यसलाई अमिल्याएर र गुन्द्रुक वा सिन्की बनाएर पनि खाने गरिएको कृषि विज्ञ निलकण्ठ शर्माले जनाए ।
यसमा मानव स्वास्थकोलागि अत्यन्तै उपयोगी खाद्यतत्वहरु भिटामिन सि, फलाम, पोटासियम, म्याग्निज, म्याग्नेसियम, फस्फोरस, गुणस्तरीय फाइबर प्रशस्तै पाइने पनि शर्माले जनाएका छन् । सिप्लीकानबाट प्रोटिन, कार्वोहाइड्रेट, कपर लगायत अनेकौं लबणहरु पनि पाइने बताइएको छ ।
ग्रामीण भान्छाहरुमा परम्पादेखि उपयोग हुँदै आएको सिप्लीकानलाई औषधीय गुणको तरकारी पनि मानिएको छ । यसको उपयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने, खुट्टाको डरलाग्दो समस्या समाधान गने, तौल नियन्त्रण गर्न सहयोग गने विश्वास गरिन्छ ।
सिप्लीकानको साग जती वासी भएपनि उच्च बजार मुल्यमा किनबेच हुनुको कारण नै उपभोक्ताहरु यसको औषधीय महत्वका कारण मुल्य तिर्न तत्पर भएर नै हो । सिप्लीकानको उपयोगले मुटुरोगको लागि अत्यन्तै लाभदायक हुने, मधुमेहका रोगीको लागि पनि उपयोगी हुने, हाडजोर्नी बलियो बनाउने र बालबालिकाको राम्रोसँग शारीरिक वृद्धि र बिकासमा उपयोगी हुने तथा पिसाबसग जोडिएका समस्याहरुको लागि पनि प्रभावकारी हुने बताइएको छ ।
यसको फल, रुखको बोक्रा, जरामा पनि कैयौं औषधिय गुणहरु हुने तथा यसलाई पर्खाल र बारको छेउछाउ, खेर गएको जमिनमा लगाउन सकिने भएकाले बाँदर पिडित किसानका लागि राम्रो विकल्प हुने देखिएको छ । राम्रोसँग मलजल गर्न सकिने र सुर्यको प्रकाश पर्याप्त पाउने अवस्था पाएमा बोट निकै उत्पादनशील हुने किसानहरुले जनाएका छन् ।
यहि महत्वलाई आत्मसात गर्दै स्थानीय गाउँपालिकाहरुले किसानलाई कृषि अनुदान दिएर सिप्लीकान खेती गर्न र बाझोबारीलई आवादमा रुपान्तरण गर्न प्रेरित गरेका छन् ।
कास्कीको रुपा गाउँपालिकाले चालु वर्षको कृषि अनुदानमा सिप्लीकानको नर्सरी संचालन र विरुवा रोपणमा मौरी पालनसँगै सिप्लीकान खेतिमा अनुदान दिने तयारी गरिरहेको पालिकाका अध्यक्ष नवराज ओझाले जनाएका छन् । ओझाका अनुसार पालीकाले तीन सय विरुवा स्थानीयरुपमा उत्पादन गरेको र पाँचसय थप विरुवाका लागि तनहुँ भिमादबाट ल्याउने तयारी भइरहेको छ । आगामी जेष्ठ—असारमा सिप्लीकानको विरुवा रोपण अभियान संचालन गर्ने पालिका अध्यक्ष ओझाले जनाएका छन् ।