बाँदर र मुसा तथा अन्य शत्रुजिवबाट अन्नबाली जोगाउन कठिन भइरहेको सन्दर्भमा सिमल तरुलको खेतिबाट बाँदर प्रकोप न्युनिकरण गर्न सकिने र परिकारमा विविधिकरण गर्न सकिने भएकाले व्यवसायिक उत्पादन गर्न सकिने सम्भावना देखिएको छ
आरसी टाइम्स व्युरो
पोखरा, माघ ९
किसानहरुले पोषण र खाद्यसुरक्षाका लागि अपनाएका जीवीकाका विविधिकरणका जुक्तिहरुलाई स्थानीय र राष्ट्रिय सरकारहरुले सम्बोधन गरुन भन्ने अन्तराष्ट्रिय निकायहरुको चासो हुन थाले पछि माघेसंक्रान्ति देखि कृषि जैविक विविधताका प्रचारात्मक गतिविधिहरु सक्रिय देखिएका छन् । गण्डकी प्रदेशका पहाडी तथा मैदानी जिल्लाहरुमा स्थानीय कृषि ज्ञान केन्द्र तथा स्थानीय पालिका सरकारहरुले पनि माघ मासको पहिलो सातामा विभिन्न कृषि जैविक विविधताका प्रचारात्मक सक्रियता मार्फत जनचेतना बढाउन र रैथाने किसानी ज्ञानको अभिलेखनमा पहल थालेका छन् ।
पहिलो सातामा पोखरा महानगर लगायतका स्थानीय पालिका सरकारहरुले माघेसंक्रान्तीका अवसरमा कृषि जैविक विविधता र कन्दमुल मेला आयोजना गरेका छन् भने विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रहरुले हप्ताभर कृषि जैविक सप्ताह मनाएका छन् । पोखराको ढुंगेसाघुमा हुँदै आएको परम्परागत माघेसंक्रान्ति मेलाको मौका पारेर विभिन्न ग्रामीण वडाका कृषि सञ्जाल, लिवर्ड र बागवानी अनुसन्धान केन्द्र तथा निजिी संस्था खोज पाठशाला लगायतले आफ्नो कार्य क्षेत्रका वालि तथा कन्दमुलहरुको प्रदर्शनी गरे । रैथाने वैकल्पिक खाद्यन्न कोदोजन्य वालिहरुको परिकार समेत प्रदर्शनी गरिएको मेलामा कन्दमुल जातका बन तरुल , घरतरुल, सिमल तरुल, भ्याकुर , गीठो, त्यागुना भार्लाङ्ग र सखरखण्डहरु राखिएको थियो । उक्त अवसरमा लिवर्डले सबै जैविक सम्पदाहरुको डिजिटल अभिलेख बनाएको छ ।
मेलामा खोजपाठशालाले राखेको कन्दमुल अनुसन्धान नतिजाहरुमा सिमल तरुललाई दर्शकहरले निकै रुचाएको पाइयो । बाँदर र मुसा तथा अन्य शत्रुजिवबाट अन्नबाली जोगाउन कठिन भइरहेको सन्दर्भमा सिमल तरुलको खेतिबाट बाँदर प्रकोप न्युनिकरण गर्न सकिने र परिकारमा विविधिकरण गर्न सकिने भएकाले व्यवसायिक उत्पादन गर्न सकिने सम्भावना पनि देखिएको छ । दक्षिण भारतमा स्वादिष्ट फलाहारको परिकार मानिने सिमल तरुल नियमित भोजनको अंग भएको समेत अवलोकन कर्ता हरुले बताएका र विउ बेर्नाको पहुँचका लागि किसानलाई सहजिकरण गर्न आवश्यक रहेको मेलामा अवलोकन कर्ताहरुले जनाएका छन् । विभिन्न प्रजातीका कन्दमुदहरुको अनुसन्धानात्मक अभ्यासका लागि खोज पाठशालाले कास्कीको अन्नपुर्ण गाउपालिकाको पाउँदुरमा सञ्चालन गरेको शिलाजित कृषि अनुसन्धान परियोजनामा अन्य कन्दमुलमा शत्रुजिवको चाप बढी हुने र सिमल तरुलको उत्पादन तुलनात्मक रुपमा सहज हुने देखिएकाले वैकल्पिक खाद्यन्नका लागि बाँझो र खेरा गएको जमिनमा सिमल तरुलको खेति गर्न उपयुक्त हुने देखिएको खोजपाठशालाका अनुसन्धानकर्ता कुलराज चालिसेले जनाएका छन् ।
किसानका शत्रुजिवले घर तरुल, बन तरुल र सखर खण्ड रुचाएर निमास पार्ने गरेको तर सिमल तरुलमा अझै मेसो पाइनसकेको कारण यो खेतिले बाँदर पिडीत किसानलाई राहत मिल्ने ऋषिकृषि अनसन्धानकर्ता तीर्थराज पौडेलले जनाएका छन् । आगामी वर्षका मेलाहरुमा पौष मसान्तमा नै मेला आयोजना गर्ने र विज तथा परिकारको प्रदर्शनी तथा व्यापारको पनि अवसर निर्माण गर्नु उपयोगी हुने पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।
यसैगरि कृषि ज्ञानकेन्द्र लमजुङ्गले घनपोखरामा उत्पादन गरिएको रैथाने बालीहरु कागुनोको खिर, लट्टेको लड्डु , सिस्नुको खोले र कोदोको सेल रोट्टी परिकार बनाएर रैथाने बालीका विधिता प्रदर्शन गरेको छ ।