कुलराज चालिसे
हिजोे देखि पार्वणश्राद्ध अर्थात सोह्रश्राद्ध सुरु भइरहेको छ । नवरात्रव्रतको पूर्वसन्ध्यामा सम्पन्न गरीने यो कर्मको निमित्त घरलाई तीर्थ मान्नुको अलावा पायक अनुसार गया देखि कागवेनीसम्म र वद्रिनाथमा पवित्रजलले पितृलाई तर्पण तथा पिण्डदान अर्पण गरीन्छ । तर्पण तथा पिण्डदानको महत्त्व के छ ? तथा पितृपक्षको अनुशासन के हो ? भन्ने गहन विषयमा यो लेखले प्रवेश गर्न चाँहदैन । यस्को चर्चा गर्ने योग्यता त कर्मकाण्डका विज्ञसंग हुन्छ ।
यस लेखले श्रीकृष्णागण्डकी प्रस्रवणलाई पार्वणश्राद्धको निमित्त अत्यन्त पवित्रक्षेत्र किन मानेको हो ? र कहाँ कहाँ के के को पिण्डदान गर्ने प्रचलन रहेको छ भन्ने मनन गरेर चर्चा गर्ने प्रयास गर्ने छ ।
घरमा होस् वा तीर्थमा, पितृ तर्पणको निमित्त जलको शुद्धता प्रथम आवस्यकता रहेछ भन्ने तथ्य घरमा श्राद्ध गर्दा कर्मपात्र तयार गर्ने क्रममा अवलम्वन गर्ने विधिले संकेत गरेको हुन्छ । कृष्णागण्डकीमा श्रीहरिविष्णुको नित्य बास हुने भएकोले त्याहाँको जल तर्पणको निमित्त अत्यन्त शुद्ध मानिन्छ । घरैमा गर्ने तर्पणको कर्मपात्रमा तीर्थस्थलको पानी पनि मिसाइन्छ । त्यसमाथी कृष्णागण्डकीमा अन्य नदीले बनाउने वेणी र त्रिवेणीको त वर्णन गरेर साध्य हुँदैन । शङ्खमा पानी राखेर शालिग्राम अभिषेक गरेर क्षारसमुन्द्र र दामोदर हिमालको संगम बनाउने मानसिक पूजाले वेणी तथा त्रिवेणीको महत्त्व दर्शाएका हुन्छन् । श्राद्धकर्ममा दामोदर हिमाल स्रोतबाट वग्ने कृष्णागण्डकीमा मुक्तिनाथको निकाश झोंगगण्डकी, दुवैमा शालिग्रामको प्रचुरता भएकोले कागवेणीलाई पार्वण श्राद्धको निमित्त उपयुक्त स्थानको शिखरमा राखेर पितृपक्षमा श्राद्ध गर्नेको घुइचो नै हुन्छ ।
कागभुसुण्डीले गरुडलाई सर्वप्रथम रामायणको कथा सुनाएर तारकमन्त्र दिएको विश्वास गरीने यो वेणीमा श्राद्धको पिण्ड खान लडेका काग पानीमा चोपलिदा राजहंस भएर निस्किएका किम्वदन्ति सुन्न पाईन्छ । पद्मपुराणमा उल्लेखित श्रीरामको अश्वमेधयज्ञको निमित्त छोडीएको श्वेतकर्ण घोडालाई रक्षा गर्दै गएका शत्रुध्नले देखेको नीलगिरी पर्वत र पुरुषोत्तम् जगदिश्वर र अन्नपूर्णा माताको दिव्यकथा लेख विस्तार होला भन्ने भयले थाति राखिएको छ ।
यस विषयमा आगामी दिनमा वहस गरौला । पिण्ड उपरको वहसलाई विषयान्तर गर्न यो लेखले चाहँदैन । यो लेख पनि सीतायन वहस भित्रकै भएकोले हामी पिण्डमा प्रयोग भएका सामाग्रीमा केन्द्रित भएर विवेचना गर्ने छौ । कागवेणीको श्राद्धले हुने आत्मिक उन्नयनको विवेचना गर्ने जिम्मा कर्मकाण्डका विज्ञहरूकै जिम्मामा छोडेका छौ ।
कागवेणीसंग सम्बन्धित कागभुसुण्डीले तपस्याको निमित्त कागवेनी रोज्नुमा शालिग्रामको स्पर्शबाट पवित्र बनेका नदीहरूको संगम मात्र नभएर उचाईको प्रभाव स्वरूप वायुप्रदुषणको स्तर कम हुनु पनि हुनसक्ने सन्दर्भमा खोज अनुसन्धान विस्तारै हुनेछ । हाम्रो सस्कृतिले पानीको गुणस्तर अक्षांश भन्दा उचाईको आधारमा मापन गरेको हुन्छ । लंङ्काको पानीमा हुने लवणासुर जोखिमलाई मध्यनजर राखेर सीतामाताले अशोकबाटिकामा अन्नजल त्याग गरेर बस्नुभएको थियो । त्याहाँ प्रयोग भएको दृष्य समुन्द्रको सतह नजिकको अन्नजलको गुणस्तर व्यक्त गर्न थियो । त्याहाको पानी जीवनरक्षाको निमित्त अनुकुल छैन भन्ने भन्दा रावण गुणको विकास हुने जोखिम भएकोले पितृतर्पणको निमित्त योग्य भए नभएको बारेमा त्यो घटनाले संका व्यक्त गरेको थियो । पानीको गुणस्तर सम्बद्ध जोखिम घटाउन त्याहा नरीवलको पानीलाई पूजामा अर्पण गर्ने चलनले त्यस्तै संकेत गरेको छ ।
कागवेणी त प्रतिकात्मक स्थान हो ।
हिमाल उद्गम भएका नदीको पानीमा नै शुद्धता रहेने भएकोले पितृतर्पणको निमित्त उचाईका तीर्थस्थलहरू सवै योग्य मानिएको हो ।
पानीको गुणस्तरले, अन्नको गुणस्तर निर्धारण गर्छ । अन्नले मानवको मन, स्वभाव र कृयाकलापलाई निर्धारण गर्छ । पिण्डको आकार भन्दा गन्ध ग्रहण गर्ने पितृदेवताहरू बास्ना नआउने र अशुद्ध अन्नको पिण्ड ग्रहण गर्दैनन् । बाध्यतावस् ग्रहण गर्न परेमा पनि खुसी हुँदैनन् र आशिर्वाद दिदैनन् । पिण्डदानमा मुर्हुतको कति महत्त्व हुन्छ भन्ने तथ्य गयातीर्थकालमा सीतामाताले स्वर्गीय ससुरालाई वालुवाको पिण्ड दिन बाध्य भएको घटनाले प्रष्ट हुन्छ । आनन्दरामायणको यात्राकाण्डमा गयातीर्थको राम्रो दृष्टान्त उल्लेख भएको छ ।
तीर्थश्राद्धको निमित्त गुणस्तरीय सामाग्रीको जोहो गर्न गाउँ पस्नु भएका राम र लक्ष्मण शुभ मुर्हुतसम्म आउन नसक्दा सीतामाताले लक्ष्मीपूजाको निमित्त बनाउनु भएको वालुवाको १०८ पिण्ड स्वर्गीय दशरथले खिचेर लिनुभयो । समय गुज्रे पछि श्रीरामले दिनु भएको गुणस्तरीय अन्नको पिण्ड ग्रहण गर्न दशरथ तयार हुनुभएन । सीतामाताले नचाहदा पनि दशरथले वालुवाको पिण्ड दिनुलाई पितृयज्ञमा विघ्नबाधा भएको भनेर विवाद हुदा सीतामाताले फाल्गुनदी, गाई, बिरालो, आँप, पीपल, पुरोहित ब्राह्मण तथा सूर्यलाई साक्षी गवाही दिन अनुरोध गर्न परेको थियो । त्यस बखत सूर्यले बाहेक अन्य साक्षीले मुख नखोल्दा माताको श्राप पाउनु परेको थियो । सूर्यले साक्षी गवाही दिएपछि दशरथ स्वयं प्रकट भएर जानकीले दिएको पिण्डबाट आँफु अत्यन्त तृप्त भएको भनेपछि गयामा पितृपक्षको श्राद्ध गर्दा वालुवाको पिण्ड दिने प्रचलन चलेको हो । त्यो कथाले थप प्रश्न उठाएको छ । रामायणले उक्त प्रश्नको उत्तर दिएको छैन ।
प्रश्नहरूः
–वालुवाको पिण्ड नै किन ?
–महाज्ञानी राम र लक्षणले यथासमयमा गुणस्तरीय पिण्ड सामाग्री जुटाउन किन सक्नु भएन ?
–महिलाले पीण्डदान गर्न हुन्छ कि हुँदैन ?
सम्भावित उत्तरः
पिण्डदानमा सामाग्री भन्दा धेरै समयको महत्त्व हुन्छ । उपल्लो तटीयक्षेत्रको पाप बोक्नु परेको हुनाले तल्लो तटीयक्षेत्रको अन्न पनि पिण्डको निमित्त गुणस्तरीय मानिदैनन् । शुद्धअन्न नपाएको अवस्थामा तत्काल उपलब्ध अन्नबाट पिण्ड बनाउनु अलग विषय हो । प्रदुषित पानी नलागेको अन्न खोज्दा मुर्हुत गुज्रन सक्छ । त्यसैले जुन ठाउँमा जे पाईन्छ, त्यसैको पिण्ड बनाएर यथासमयमा नै पिण्डदान गर्नुपर्छ । गयाक्षेत्रमा उब्जाहुने अन्न पितृपोषणको निमित्त वालुवा बरावर कै हुन्छन् । वालुवा पेलेर तेल निस्कदैन भन्ने उखान याहाँ भुल्न सकिदैन । पिण्डदान गर्न पुरुष नै चाहिन्छ भन्ने पनि हुदैन रहेछ । पिण्डदानको निमित्त पुरोहित, मन्त्र र निश्चित विधि नै चाहिन्छ भन्ने पनि नहुने रहेछ । भाव शुद्ध भयो भने पितृले जस्तोसुकै पिण्ड र तर्पण पनि ग्रहण गर्नु हुने रहेछ । भाव शुद्ध भयो भने उपलब्ध साधन मध्य उच्च गुणस्तरको र बास्नादार साधन खोज्न त्यत्तिकै तयार भइन्छ । माहेश्वरीपूजाको निमित्त बटारेको पिण्ड दशरथ आफैले तानेर लिनुले यो तर्कमा विचार गर्न बाध्य बनाएको छ । त्यसले छोरी मात्रै भएका बाबुआमालाई निकाश दिएको जस्तो लाग्छ । देवताले आशिर्वाद दिदा पनि पितृ खुसी रहेनन् भने देवताले दिएको आशिर्वाद पाउन सकिदैन भन्ने मान्यता बोकेको हाम्रो समाजमा कुमार्गमा लागेका पति भएपनि अगाडी सार्नु पर्ने र उनिहरूको कारणले कतिपय तिथिमा श्राद्धकर्म गर्न नसकेका र एकल महिलालाई पनि पिण्डदान गर्न दिनु पर्ने तर्क यो घटनाले संकेत गरेको छ । मिथिलाका पुरोहित ब्राह्मणले सीतामाताको कुलगोत्र स्पष्ट नभएकोले जातकर्म गर्न पनि विरोध गरेका थिए ।
कर्मकाण्डको विधि उल्लेख भएका शास्त्रमा निर्भर शास्त्रज्ञले यस्तो विरोध गर्नु स्वभाविक थियो ।
कुलगोत्रको एकिन नभएकी भूमिसूताको जातकर्मसमस्याको समाधान अहिताग्नी पुरोहित सभाले प्रतिपादन गरेको थियो । शास्त्रमा लेखिएका विधि सवै ठाउँमा सवै कर्ममा अक्षरस पालन गर्न सकिदैन । त्यस्तो अवस्थामा पुरोहितसभामा गहन छलफल गरेर विकल्प पहिचान गर्न सकिन्छ । श्राद्धकर्मको मूल उद्देश्य पितृपक्षमा यथामुर्हुतमा पिण्डदान गर्नु हो, विधि होइन भन्ने सन्देश माथिको लिलाकथाले संकेत गरेको छ ।
थप प्रश्नः
कागवेणीमा जौको काचो पिठोको पिण्ड, गयामा वालुवाको पिण्ड र घरमा श्राद्ध गर्दा गाईको दुधमा तिल र मह मिसाएर वास्नादार झिनुवाको चामलको पायस बनाएर पिण्डदान गर्ने चलन छ । पिण्डमा विविधता गर्ने आधार के हो ? शास्त्रले ब्रह्मचारी व्रत धारण गरेकालाई पनि वृक्षारोपण गरेर फलेको फल चरा वा वन्यजन्तुले खाएमा पनि ब्राह्मण भोजनको फल पाईन्छ । जलासयमा खसेका हरेक फलमा पिण्डदानको फल पाइन्छ भनेको रहेछ । पञ्चपल्लवको पातबाट तप्किने हरेक थोपा पानीले तर्पणको विकल्प दिन्छ भन्ने रहेछ । यो विकल्पलाई परिवार विहिन मानिसले उपयोग गर्न सक्छ कि सक्दैन । आप्mनो काजक्रिया गरेर वैतरनी तर्ने विकल्प आफैले बनाउन सकिने भन्ने पनि सुनियो । शालिग्रामी कृष्णागण्डकीको किनारमा पक्षीजगतलाई पालन गर्ने पञ्चपल्लव लगाउदा वैतरनी पार गर्ने मार्ग खुल्छ कि खुल्दैन ?
कृष्णागण्डकी प्रस्रवणमा आँपका वगैचा कुन उद्देश्यले लगाइएको हो ? त्यसबाट स्वश्राद्धलाभ लिन सकिन्छ कि सकिदैन ? यजुर्वेदका विज्ञहरूले पिण्डदानको निमित्त उत्कृष्ट अन्न र पिण्डदानको बारेमा शास्त्र सम्मत विकल्प सहित आप्mनो विचार पस्किदिनु भए दुविधा हट्थ्यो । हामीलाई त शालिग्रामको नित्य स्पर्शमा रहेको कृष्णागण्डकीको पानी तर्पणको निमित्त सर्वाेत्तम जस्तै लाग्छ । त्यो पानीले सिचित भूमिमा फलेको हरेक दाना अन्नमा पिण्डको फल पाईन्छ जस्तो लाग्छ । हामीलाई लागेर मात्र हुदैन । तपाईले नभनेसम्म यजमानले मान्दैनन् । त्यसैले हातले लेखेर भएपनि एक दुई पाना विचार लेखेर वहसमा सहभागी भैदिनुहुन कर्मकाण्डका विज्ञहरू समक्ष विनम्र अनुरोध छ ।