कुलराज चालिसे
अगिल्ला बहशमा हामीले कर्मकाण्डका विज्ञलाई श्राद्धमा प्रयोग गर्ने अन्नको गुणस्तर र श्राद्ध विधिको बारेमा जिज्ञासा राखेका थियौ । त्यो हामीले चुनौती दिएका थिएनौ, रामायण कथाले हामीलाई दुविधा बनाएकाले जिज्ञासा राखेका थियौ । आशा छ धर्म सस्कृतिको मुक्तकण्ठले गर्व गर्ने विज्ञले हाम्रो दुविधा हटाउन मद्दत गर्नुहुनेछ । हाम्रो जिज्ञासा श्राद्धकर्मको विधि र साधनको गुणस्तरमा सिमित हुदैन । आजभोली दशैंलाई खानपिन र घुमघाममा बिताउने चलन बढदै गएको छ । देश, विदेश जहाँ भएपनि घर आएर परिवारसंग मनाउने चाडलाई घरको ढोका नै बन्द गरेर घुम्न हिडेका पनि देख्न परेको छ । दुर्गापूजामा वली दिने प्रथालाई पनि स्वादको निमित्त लिइदैछ । हप्तै पिच्छे नयाँ कपडा पाइन्छ भने दशै कुर्न नपर्ने भएको छ । पिङ्गको स्थान जुवाले लिदै गएको छ । टोलटोलमा दुर्गाको मन्दिर त बनेकाछन् तर नवरात्र व्रत बस्नेको सर्वथा अभाव देखिएको छ । बाटो विराउदै गरेका नयाँ पुस्तालाई नवरात्र पूजाको अन्तर्य र व्रतविधि बुझाउने कर्तव्य कस्को हो ? दशमीको दिन विहानमा मात्र तयार गरेको अक्षता र जमरामा दशैं सिमित हुने हो भने सरकारले दिने सार्वजनिक विदाको औचित्य के हुन्छ र ? नयाँपुस्तालाई विजयादशमीमा मान्यजनबाट आशिर्वाद लिने शिक्षा त एनकेन पुस्तान्तरण भएको छ, तर आशिर्वाद दिन तत्पर मान्यजनले विधिवत नवरात्र व्रत नगरी दशमीको विहान तयार गरिएका रातो टिकाले आशिर्वाद दिन तत्पर हुँदा आशिर्वादमा विश्वास हराउदै गएकोले नयाँपुस्ताले दशै विदालाई मनोरञ्जनात्मक बनाउन प्राथमिकता दिएका छन् । यस्तो अवस्थामा नवरात्र व्रतलाई सीतायण वहस अन्तरगत नै निरन्तरता दिन आवस्यक भएकोले याहाँ चर्चा गर्न खोजिएको हो ।
लंकाधिपति रावणले श्रीमहादेवको साधना गर्दा आप्mनै टाउको नौ पटक काटेर अर्पण गरेको कहावत छ । दशौ टाउको काटने वेलामा श्रीमहादेव प्रकट भएर वरदान दिनु भएको बताइन्छ । एवं रितले उस्ले ब्रह्माको साधनामा पनि टाउको अर्पण गरेको थियो । नौपटक टाउको काटने साधनाको लाक्षणिक सन्देश के हो भनेर केलाउने काम याहाँ गरिदैन । हाम्रो चासो शतानन् रावणको वध गर्न महाकाली नै प्रकट हुनुपर्ने उचाईको रावण संग छ । रावणसंग युद्ध गर्नु अगाडि श्रीरामले दुई पटक नवरात्र व्रत गर्नु भएको तथ्य श्रीमद्देवी भागवतको तेस्रो स्कन्द, अध्याय २७ र ३० मा उल्लेख भएको छ । अध्याय ३० मा नारद र श्रीराम वार्ताको माध्यमले श्रीलक्ष्मीको अंशावतार वेदवतीले रावणको वध गर्ने प्रतिवद्धतालाई विस्तृत रूपमा उल्लेख गरिएको छ । यो सत्य ब्रह्मवैवर्त पुराणमा पनि उल्लेखित छ । नवरात्र व्रतको सहारा ब्रह्मा, विष्णु, महेश्वरको अलावा ईन्द्रले पनि लिनुभएको दृष्टान्त अध्याय ३० मा दिईएको छ । ब्रह्मा, विष्णु, महेश्वर लाई पनि कार्य सम्पन्न गर्न प्रकृति देवीको आराधना गर्नु नै पर्ने रहेछ । कनक महल (सुनको महल) त्याग गरेर श्रीराम संगै सीतामाता पनि वनवासमा जानुको अर्थ विशिष्ट लक्षप्राप्तिको निमित्त प्रकृति र पुरुष अलग हुन नसक्ने सन्देश सम्प्रेषण गर्नु रहेको थियो । सीतामाताले अयोध्याको कनक भवनको त कुरै छाडौ, कनक नगरी (सुनको नगर) लंकालाई पनि उपेक्षा गर्नुभयो तर पञ्चवटीमा सुनको मृगमा आशक्ति देखाउनु भयो । सुनको भवन त्यागेर वनवास रोजेकी सीतामाताको त्यो लोभ नभएर लिला थियो जस्ले बाँदरसेना सहित रामलक्ष्मणलाई लंकायुद्धमा सहभागी हुन निमन्त्रणा दिएको थियो । त्यस घटनाको परिणाम स्वरूप सीतामाताको हरण भयो र श्रीरामले शारदीय र वसन्त गरी दुई नवरात्र व्रतको लोकार्पण गर्नु परेको थियो । हामीले मनाउने महानचाड वडादशैको जग त्यही घटनामा आधारित छ भन्ने गरीएको छ । तर भारत र नेपालमा मनाउने दशैपर्वमा देखिने भिन्नताले नेपालको दशै दशानन भन्दा शतानन रावणसंग सामिप्यता राखेको देखिन्छ । यस सन्दर्भमा हामी अर्काे हप्ता चर्चा गर्ने छौ । सीता अयोध्याकी भावी महारानी भन्दा श्रीरामको आदिशक्ति थिइन् । सीतायणको यो तर्कलाई प्रकट गर्न रामायणका निम्न सूचनाहरूलाई आधार लिन सकिन्छ ।
रामायणका प्रमुख पात्रहरू मध्य सीतामाता मात्र निश्चित लक्ष्यप्राप्तिको निमित्त प्रकट हुनुभएको हो । तपस्यारत वेदवतीलाई स्पर्श गरेकोले रावणको कुलनै नष्ट गर्ने प्रतिज्ञा पूर्ण गर्न भूमिसुता बनेर सीता प्रकट हुनुभएको थियो । यसमानेमा सीताअवतारलाई वेदवतीअवतारको निरन्तरता मान्नुपर्छ । वाहालाई सहयोग गर्न अन्य पात्रहरूले मानवदेहमा अवतार लिएका हुन् । रावणले प्राप्त गरेको वरदानको कारणले मानव र बादरले मात्र बध गर्न सक्ने भएकोले विष्णुले रामको अवतार ग्रहण गर्नु भएको थियो ।
वाहालाई पुत्रवत् निकट रहेर सहयोग गर्न श्री महादेवले हनुमान रूपमा एघारौं रुद्रावतार लिनु भएको थियो । अवतार पुरुष नै भएपनि श्रीरामको देहशरीरले अष्टसिद्धि प्राप्त गरेको थिएन । त्यसैले स्वयं श्रीराम अहिरावणको वन्दी बनेर पाताल जानु परेको थियो भने शतानन रावणको प्रहारबाट पुष्करद्वीपमा मुर्छा पर्नु परेको थियो । तर सीताले त्यस प्रकारको वन्दी बन्नु परेको थिएन । अशोकवाटिकाको वन्दीजीवन त स्वइच्छाको नतिजा थियो । रावणको परिवार अन्त गर्ने प्रपञ्चको त्यो एउटा कडी थियो । त्यस्को निमित्त हनुमानलाई बाल्यकालमा नै अष्टसिद्धि वरदान दिएर युद्धको वातावरण बनाउनु भएको थियो । युद्धनायकको रूपमा हनुमानलाई नै तयार गर्नुको पनि कारण थियो । हनुमानको आमा अञ्जनाको पूर्वजन्ममा (पुञ्जिकस्थला अप्सरा) रावणले वलत्कारको प्रयास गर्दा नलकूवरले महिलाको स्वीकृति विना स्पर्श गरेमा तत्काल नै मृत्यू हुने श्राप परेको थियो । त्याहा रावण वेदवती र पुञ्जिकस्थला दुवैको साझा शत्रु थियो । लंका विजय पश्चात अयोध्यामा आयोजित विजयसभामा सीतामाताले शतानन रावणको अन्त नभएसम्म रामलिला तार्किक निष्कर्षमा नपुग्ने धारणा राखेपछि श्रीरामको सेनाले पुष्करद्वीपमा युद्ध गर्न गएको कथा अद्भुत रामायणमा उल्लेख छ । दशानन् रावणलाई परास्त गर्न सक्षम श्रीरामले पातालको अहिरावणलाई परास्त गर्न नसकेर हनुमानले बध गर्नु परेको थियो भने पुष्करद्वीपमा शतानन् रावणलाई बध गर्न सीतामाता स्वयंले महाकालीको रूपधारण गर्नु परेको थियो । यो घटनाले विष्णुकै अवतार भए पनि मत्र्यलोकका मानिसले जस्तै लिला गर्न श्रीराम बाध्य हुनुहुन्थ्यो । पुत्रेष्टियज्ञमा अग्निदेवले दिनुभएको चमत्कारिक खिरको तीनभाग मध्य एकभाग गृध्रीले सुमित्राको हातबाट खोसेर अञ्जनाको हातमा राखेको घटनाले राम, भरत, लक्ष्मण र सत्रुघ्नको जन्मको कारण नै हनुमानको जन्मसंग सम्बन्धित देखिन्छ । श्रीरामका चारभाईले अष्टसिद्धि साधना गर्नु भएको थिएन जुन साधना हनुमानले गरेका थिए । यस्ले अवतार पुरुष नै भएपनि देहशरीरलाई अष्टसिद्धि साधनाको अपरिहार्यताको संकेत गर्छ । रामायणका पात्रहरूको माया र छायाँ गरेर दुईरूप थिए ।
दृष्यको रामायणमा मायावती पात्रले मञ्चन गरेका छन् तर गुप्त सन्देश छायाँरूपले सम्प्रेषण गरेका छन् । लंकायुद्धको रामायण दशानन् रावणको अन्तसंगै सकिएको थियो । तर छायाँ रामायणको युद्ध अहिले पनि भैरहेको हुन्छ । साच्चै भन्ने हो भने यो समस्या पछिल्ला दिनमा झनझन विकराल भएको थियो । त्यसैले त द्वापरमा श्रीकृष्णले अवतार लिनु परेको थियो । अन्न प्रदुषित रहुञ्जेल शतानन् रावणको वीजकोषको अन्त हुदैन । यो सत्यको बोध गर्न योगवाशिष्ठ रामायणको धारण गर्न सक्नुपथ्र्यो । शरीरलाई अन्नमय, मनोमय, प्राणमय, विज्ञानमय र आनन्दमय कोषमा विभक्त गर्न सक्नुपथ्र्यो । त्यो भएन र श्रीकृष्णले अवतार लिनु पर्यो । अन्नको स्थुलभाग विष्टा भएर जान्छ, मध्यम भाग मासु बन्छ र शुक्ष्मभागले मनको निर्माण गर्छ भन्ने छान्दोग्यउपनिषत्को मन्त्र याहाँ भुल्न मिल्दैन । अन्नको गुणस्तर पानीको गुणस्तरले निर्धारण गर्छ । पानीको शुक्ष्मभाग नै प्राण बनेर घुमी रहन्छ भन्ने विज्ञान नवुझे सम्म आनन्दमय कोष जागृत हुने कल्पना गर्न सकिदैन । यही तथ्यलाई लोकार्पण गर्न पुष्करद्वीपको लिला रचिएको थियो । पुष्करद्वीपको युद्ध पछि श्रीरामले सीतामातालाई गर्नुभएको आराधना र सीता सहस्रनाम स्तुतीले त्यही सन्देश दिन्छ ।
दशैको चाड मनोरञ्जनको निमित्त भन्दा धेरै सीतायण साधनाको निमित्त हो । यो सन्देश नयाँपुस्तालाई सम्प्रेषण गर्न हामी चुकेका छौ । नवरात्र व्रतको निमित्त नयाँपुस्तालाई प्रेरित गर्न अभिवावक पुस्ताले घटस्थापनाको कलश, जमराको अन्न र जमरा उमार्ने वालुवाको शुद्धता बनाई राख्ने रहस्य सम्प्रेषण गर्न सकेमा मात्र पनि दशैंको अर्थ रहन्थ्यो । हामीले त्यै पनि गर्न सकेका छैनौ । घरघरमा उमार्ने जमराको शुद्धता कायम राख्न सकिदैन भने शक्तिपीठ व्यवस्थापन समितिले विधिवत जमरा उमारेर वितरण गर्ने व्यवस्था मिलाउदा पनि जनउत्प्रेरण गर्न सघाउ पुग्थ्यो । दुईचारवर्ष शक्तिपीठले यो कार्य गरेमा त्यसपछि घरघरमा दुर्गास्थापन गरेर शुद्ध जमरा उमार्ने सस्कृति पुनस्थापन हुन सघाउ पुग्थ्यो । सीतायण वहसमालाको चौथोे सन्देश अरु क्यै नसके पनि दशैको शुभ अशिर्वाद शुद्ध जमराले दिउँ भन्ने रहेको छ । जमरा सस्कृतिमा नेपालको मौलिकता छ । यस सन्दर्भमा हामी आगामी अंकमा वहस गर्ने छौ ।