आरसी टाइम्स ,पोखरा, पौष ४ .
पोखराको खेरा गइरहेको खेतियोग्य कृषि भूमिमा हुन सक्ने विकल्पका उपायहरु अपनाएर आर्जन बढाउने सरकारी नीतिलाई सम्मान गर्दै पोखराको बेगनास क्षेत्रका एक किसानले व्यवसायिक कागती खेति थालेर नमुना पहिचान निर्माण गर्दै छन् । दैनिक जसो भोजनालयमा खोजी हुने कागतीको दाना शहरी उपभोक्ताहरु जती मुल्य परेपनि किनीरहने ‘हरियो सुन’का रुपमा लिने गर्दछन् ।
बेगनास ताल जलाधार क्षेत्रको स्याङ्गखुदीमा २६ रोपनी जमिनमा ७०० कागतीका बेर्ना रोपेर पाँचौ वर्ष देखि उत्पादनको लाभ लिन थालेको किसान टुकाराम लामिछानेले व्युरोलाई जनाएका छन् । सोना १ र सोना २ जातका कागती खेति गरिरहेका कृषक लामिछानेले बगैचाको प्रारम्भीक समयमा १ वर्ष तरुल खेति र अर्को बर्ष अकबरे खुर्सानी खेति गरेर अन्तरबाली लाभ लिएको जनाएका छन् । उनले चौथो वर्षबाट तरुल र खुर्सानी हटाएर कागतीलाई नै मूख्य बालीका रुपमा मौका दिएको बताए ।
हिउँदे समयमा बगैचाको काँटछाँट, गोडमेल र माटो तथा बोटको उपचार कार्यको थालनी गरिहरेका लामिछानेले बगानको चौथो वर्षमा १०० किलो उत्पादन लिएकोमा पाँचौ वर्षमा ६०० किलो फसल टिप्न पाइएको र आगामी वर्ष तुलनात्मक रुपमा ६ गुणा बढी उत्पादन लिन सकिने अनुमान रहेको बताएका छन् ।
कोरोना कहर भन्दा अगिल्लो वर्ष पोखरामा भएको कन्दमुल प्रतियोगितामा पुरस्कृत समेत भएका किसान लामिछानेले कन्दमुल भन्दा कागतीबाट सदाबहार लाभ लिन सकिने देखेपछि कागती बगान विस्तार गर्दै तरुलका बगान कटौति गरेको बताए ।
पोखराको पर्यटकीय उपभोक्ता बजारमा दैनिक जसो खपत हुने कागती बजारमा कागती उपलब्ध गराएर स्थानीय कृषि रोजगार बढाउने र भारतीय बजारमा कागतीका लागि जाने मुद्रा रोक्ने जुक्ती सोचेर लामीछानेले लामिछाने अर्गानिक कृषि फार्मका रुपमा व्यवसायिक कृषि बगान सूरु गरेका हुन् । बगानमा पहिलो वर्ष धनकुटाको पाख्रीबास बाट ५०० वटा सोना १ जातको कागती रोपेका लामिछानेले दोश्रो वर्षमा २०० विरुवा थपेको बताए ।
उक्त २०० विरुवा सुन कागती नै भनेर रोपीएकोमा तेश्रो वर्षमा नै फल ठुला लागेर टिप्ने बेलामा सुन कागती नभइ अकै जातको देखिन आएको पनि बताए । यसैपालीको तिहारमा पोखरा बजारमा कागती भनेर किसानले किन्न नमाने पछि विमिरो भनेर तिहारमा केहि विक्रि भएको र कागती चाहने उपभोक्ताले नरुचाएकोले २०० विरुवामा धोका खाएको पनि किसान लामिछानेले बताए ।
किसानलाई मर्का परेको कुरा मिडियामा आएपछि प्रादेशिक कृषि निर्देशनालय गण्डकीले ‘घटनाबाट पाठ सिकेको ’ जनाउदै नर्सरी व्यवस्थापन निर्देशिका बनाएर फलफुल नर्सरीको गुणस्तर नियनत्रण तथा जातिय सुद्धताको सुनिश्चितता गर्न पहल गर्ने जनाएको छ । निर्देशनालयले हालै प्रदेशका ११ जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुखहरुको सहभागितामा नर्सरी व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार पार्दै प्रदेश सरकारको मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको पनि जनाएको छ ।
कृषक लामिछानेले बागती बगैचाबाट लाभ बढाउनका लागि हिउँदे मौसममा सिचाइको सुविधाका लागि थोपा सिंचाइको उपाय लगाउने सोच बनाएर सहयोगी निकाय खोजीरहेको पनि बताएका छन् । महानगरीय पहिचानको पोखरामा वडा स्तरीय कृषि प्राविधिकको पहुँच हुन नसकेको र किसानको फोन सूचनाका भरमा प्राविधिक आउने अभ्यास नभएकाले गर्जो परेको बेला सरकारी प्राविधिकहरुको पहुँच पाउन नसकेको जनाएका छन् । पोखराको थोक तरकारी बजारमा बजारियाले तोकेको मुल्यमा कागती दिनु पर्ने अभ्यास भइहेकोमा अबका दिनमा पर्यटन बजारका सेवा प्रदायकहरुसँगको समन्वयमा कागती बजार विस्तार गर्ने जुक्तिको खोजीमा रहेको पनि लामिछानेले जनाएका छन् ।